जारी २ को प्रदर्शनसँगै रैथाने घुमफिर

गायिका झुमा लिम्बूका अनुसार यस अभियानको मुख्य लक्ष्य अल्पसंख्यक समुदायहरूमा पुगेर लोपोन्मुख गीत, संगीत र वाद्यवादनको संरक्षण र प्रवर्द्धन गर्नु हो।

काठमाडौँ— लेखक एवं निर्देशक उपेन्द्र सुब्बाको नयाँ चलचित्र ‘जारी २’ को प्रदर्शनसँगै रैथाने गीत-संगीत, बाजा र स्थानीय पहिचान झल्काउने संस्कृतिमा आधारित कन्सर्ट आयोजना हुने भएको छ।

चलचित्रमा संगीतकार तथा गायिका झुमा लिम्बूको संयोजन रहेको रैथाने ब्यान्डले यही भदौ २१ गते काठमाडौँको एलओडीबाट ‘रैथाने कन्सर्ट’ शुरू गर्दै देशव्यापी अभियान थाल्नेछ। 

गायिका लिम्बूका अनुसार, आगामी असोज ३ मा प्रदर्शनमा आउन लागेको ‘जारी २’को प्रवर्द्धन र रैथाने गीतसंगीत तथा पहिचानको कन्सर्ट काठमाडौँपछि पोखरा, धरान, बुटवल, नेपालगन्ज लगायतका स्थानमा हुने भएको छ। 

“विशेषगरी अल्पसंख्यक समुदायमा पुगेर लोपोन्मुख गीत, संगीत, वाद्यवादन र भाकाहरूको संकलन तथा प्रवर्द्धन गर्ने अभियानमा रैथाने घुमफिर केन्द्रित हुनेछ,” लिम्बूले भनिन्, “मधेशमा मुसहर, उराउदेखि पूर्वी पहाडका पालम, हाक्पारेसम्म र कोरा, टप्पा, देउडादेखि तामाङ सेलोसम्मको स्थानीय पहिचानलाई हामीले रैथाने घुमफिरमा समेट्नेछौँ।”

‘जारी २’ चलचित्रको मुख्य सार ‘च्याब्रुङको गीत’ राखिएको र यसले पनि स्थानीय पहिचानको रैथाने आवाजलाई मुखर गर्ने संगीतकार लिम्बूले बताइन्। कवि उपेन्द्र सुब्बा पछिल्ला वर्षमा चलचित्र कथा लेखन हुँदै निर्देशन क्षेत्रमा प्रवेश गरेका हुन्।