विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित, ३ दलको फरक मत

समितिको बिहीबारको बैठकबाट विधेयक पारित भए पनि प्रतिपक्षी दलहरू माओवादी केन्द्र, रास्वपा र राप्रपाले भने फरक मत राखेका छन्।

काठमाडौँ – लामो समयदेखि छलफलमा रहेको विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पारित भएको छ। यो विधेयक अब संसद्को पूर्ण बैठकमा पेश गरिनेछ।

समितिको बिहीबारको बैठकबाट विधेयक पारित भए पनि प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने फरक मत राखेका छन्।

माओवादी केन्द्रले विधेयकका सम्बन्धमा पाँच‍बुँदे फरक मत दर्ता गराएको छ। सांसदहरू देवेन्द्र पौडेल, महिन्द्रराय यादव, रेखा शर्मा र ज्ञानु बस्नेत सुवेदीले विद्यालय शिक्षा सुधारका लागि आफूहरूले उठाएका विषयहरू विधेयकमा सम्बोधन नभएकाले फरक मत राखिएको जनाएका छन्।

त्यसैगरी, रास्वपाकी सुमना श्रेष्ठ र राप्रपाकी विना जयसवालले पनि विधेयकमा फरक मत दर्ता गराएका छन्। यो विधेयक विद्यालय शिक्षासम्बन्धी कानूनलाई एकीकृत र संशोधन गर्न ल्याइएको हो।