पुटिनसँगको भेटअघि सुरक्षा प्रत्याभूति सुनिश्चित हुनुपर्छः जेलेन्स्की

रुसीसमकक्षी भ्लादिमिर पुटिनसँग शिखर सम्मेलनमा भेट गर्नुभन्दा पहिला युक्रेनको सुरक्षा सुनिश्चितता हुनुपर्ने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भनाइ छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भविष्यमा हुन सक्ने रुसी आक्रमण रोक्नका लागि सुरक्षा प्रत्याभूति आफ्नो पहिलो शर्त भएको बताएका छन्। रुसीसमकक्षी भ्लादिमिर पुटिनसँग शिखर सम्मेलनमा भेट गर्नुभन्दा पहिला युक्रेनको सुरक्षा सुनिश्चितता हुनुपर्ने उनको भनाइ छ।

बिहीबार जारी गरिएको एक टिप्पणीमा जेलेन्स्कीले दुवै पक्ष थप लडाइँको तयारीमा रहेको चेतावनीसमेत दिएका छन्। उनका अनुसार, रुसले दक्षिणी सीमामा सैनिक तैनाथ गरिरहेको छ भने युक्रेनले पनि लामो दूरीका नयाँ क्रुज क्षेप्यास्त्रको परीक्षण गरिरहेको छ।

जेलेन्स्कीले शान्ति सम्झौताका लागि ठोस प्रगति नभएको भन्दै सुरक्षा सुनिश्चितताको योजनाबारे सातदेखि १० दिनभित्र जानकारी पाउन चाहेको बताए। “कुन देश प्रत्येक विशिष्ट क्षणमा के गर्न तयार छ? हामीले यो बुझ्न आवश्यक छ,” उनले भने।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा रुसको साढे तीन वर्षदेखिको आक्रमण अन्त्य गर्न जेलेन्स्की र पुटिन दुवैसँग वार्ता गर्ने प्रयास गरिरहेका छन्।

अहिले बेलायत र फ्रान्सको नेतृत्वमा मित्र राष्ट्रहरूको एक समूहले सुरक्षा सुनिश्चिततालाई सहयोग गर्न एक सैन्य गठबन्धन खडा गर्दैछ। रुसले भने युक्रेनले ‘दीर्घकालीन’ शान्तिका लागि चासो नदेखाएको आरोप लगाएको छ, किनकि किभले मस्कोको मागसँग नमिल्ने खालका सुरक्षा प्रत्याभूति खोजेको छ।