कथाकारले घटनाक्रम यसरी अगाडि बढाएका छन् कि पाठकलाई १७ वर्ष अगाडि घरबाट अमेरिका गएका रेसमको नेपालमा रहेकी श्रीमतीसँग भेट होला कि नहोला भन्ने खुल्दुली भइरहन्छ।
नेपाली कथा लेखनको क्षेत्रमा मधुवन पौडेल निरन्तर कलम चलाइरहने स्रष्टाका रूपमा चिनिन्छन्। उनका कृतिमा बाँच्नुको विवशता, नलिनी भाउजू, म र मेरो परिवेश, चपाइएका दन्त्यकथा र अन्त्यहीन परिवेशलगायत थुप्रै पुस्तक पर्छन्। एक बसाइमा पढेर सकिने एउटै मूल भाव भएको र पाठकलाई बाँधिराख्ने आख्यानात्मक कथा उनको विशेषता हो। 'फाजिल जिन्दगी'भित्र २७ वटा छोटा आकारका कथा समावेश छन्। लगभग उस्तैउस्तै विषयवस्तु लिएर लेखिएका कथाजस्ता देखिए पनि घटना, चरित्र, परिवेश, वातावरण आदि विविध पक्षले कथालाई फरक स्वाद दिन सफल छन्। सरसर्ती हेर्दा यी कथालाई निम्न आधारमा वर्गीकरण गरेर हेर्न सकिन्छ।
कथा वस्तु र उद्देश्य
आफ्नो रुचिको प्रमुख विषयलाई जनमानसमा भाषाको माध्यमबाट पुर्याउन र प्रकट गर्न कथाकारहरू कथा लेख्छन्। यस्तै उद्देश्य वा विषयमा लेखिएका 'फाजिल जिन्दगी'भित्रका कथाहरूमा शिक्षा, जन चेतना, समाजको यथार्थ चित्रण, जीवनदर्शनका अभिव्यक्ति झल्कन्छन्। प्राय: कथामा धन कमाउने आशामा वैदेशिक रोजगारीमा गएर जीवन गुमाउने व्यक्तिको मर्म, विदेशमा संघर्षपूर्ण जीवन बिताइरहेका नेपालीको व्यथा, वैदेशिक रोजगारको नाउँमा भएको देह व्यापार आदि पर्छन्।
जबसम्म देशभित्रै कसैलाई आर्थिक र सामाजिक पहुँच र सम्मान मिल्दैन, तबसम्म विदेश जाने क्रम चलि नै रहन्छ भन्ने सन्देश सरकार र सम्बन्धित सबै पक्षसम्म पुर्याउनु उनका विभिन्न कथाका उद्देश्य देखिन्छन्। जस्तोकि, 'अमेरिका र मास्टर शिवप्रसाद'मा बाबुले खेत बेचेर छोरा शैलेशलाई अमेरिका पढ्न पठाए। बाबुको मन न हो, अमेरिका जाने जो कोहीलाई उनी छोराबारे सोधखबर गर्दै गर्थे। तर उता छोरा भने अमेरिकामै विवाह गरी नफर्कने गरी बस्यो र त्यही पिरले आमाको मृत्यु भयो। शिवप्रसाद वृद्धाश्रममा शैलेशको पर्खाइमा हुन्छन्। शिवप्रसादले आफ्ना ज्वाइँलाई पनि खर्च भरेर कामको लागि अरब पठाए। तर त्यही ज्वाइँले छोरीलाई धोका दिएर अर्कै केटी लिएर बसेको खबर पाए।
नेपालमा नै कामको अवसर सिर्जना भएको भए यस्तो स्थिति आउँदैनथ्यो होला। आफ्नै मामाको छोराले अरबको सुनौला सपना देखाई सानोतिनो काम गरेर गाउँमै रमाएको मुरलीधरलाई विदेश जान बाध्य बनाएको र विदेशमै उनको रहस्यमय मृत्यु भएको प्रसङ्ग अर्काले लेखिदिएको नियति कथामा छ। 'आजको यायावर'मा एजेन्टमार्फत १० लाख तिरेर अमेरिका छिरेको शिशिर, अनेक सपना बोकेर देश छोडेर विदेश जाने नेपालीहरूको प्रतिनिधि पात्रको रूपमा देखिन्छ।
'कुशबहादुरले फेरी स्टेयरिङ समात्यो'मा विदेशी भूमिमा सवारी चलाउने काममा संलग्न नेपाली, पाकिस्तानी, भारतीय र श्रीलंकाली सबैले सवारी चलाउने क्रममा मान्छे मर्न गई सजायमा जेल जेल परेका कुरा छन्। कसैले 'ब्लडमनि' तिरिदिएर कुशबहादुर जेलको जीवनबाट मुक्त हुन्छन्। तर पनि देशमा गरिखान काम नपाइने स्थिति नभएपछि र श्रीमती पोइल गएपछि फेरि पहिलेझैँ विदेशी भूमिमै स्टेयरिङ समात्न पुगेको कथा यसमा छ।
३० वर्षपछि क्यानडामा भेट भएको साथीको डिप्रेसन भई मेन्टल ट्रमामा पुगी पुरानो सबै कुरा बिर्सिएर हरदम बरबराइरहने दयनीय अवस्थाको चित्रण छ 'झरेको पातमा हराएको जिन्दगी'मा। शीर्षकथा 'फाजिल जिन्दगी'मा आफ्नो कुनै पहिचानबिनै १७ वर्षसम्म टुरिस्ट भिसामा अमेरिका बसेर डिपोर्ट भई घर फर्किएर आउने रेशमजस्ता कयौँ मानिसको कथा लुकेको छ।
पात्र र चरित्र
कथाको घटनाक्रम अगाडि बढाउने व्यक्ति नै कथाको पात्र र चरित्र हुन्छ। त्यसो हुँदा कथामा चरित्रको अत्यन्त महत्त्वपूर्ण स्थान हुन्छ। यस्ता पात्रहरू प्रमुख पात्र, सहायक पात्र र गौण पात्र भई कथामा देखा पर्छन्। पौडेलका कथामा माथि उल्लेखित तीन वटै पात्र देखा पर्छन्। ती पात्रले हामीजस्ता पाठकलाई भावनात्मक रूपमा कथासँग जोड्छन्। उनीहरूको दुःखमा हामी दुखी हुन्छौ र सुखमा सुखी। पात्रहरूमा भएको संवादले गर्दा हामी कथासँग बुनिन पुग्छौँ र यस अर्थमा कथाहरू जीवन्त बनेर आएका छन्। 'अमेरिका र मास्टर शिवप्रसाद'मा हामी शिवप्रसादसँगै हामी रुन्छौ भने रोहितजस्ता कुकर्मी र गुन्डासँग हामीलाई रिस पनि उठेर आउँछ। विभिन्न कथामा वर्णन भएको दुबई र कतारको गर्मी हामी पनि महसुस गर्छौ। उनका थुप्रै कथामा उनी स्वयं मुख्य पात्रको रूपमा देखा पर्छन्।
कलकत्ता, कुवेत, न्युयोर्कजस्ता वैदेशिक भूमिमा देशको प्रतिनिधित्व गर्दै नियोगमा काम गर्दाको आफ्नो अनुभव र भोगाइलाई पौडेलले विभिन्न कथामार्फत प्रकट गरेका छन्। 'गलत सोच र दिशाहीन गन्तव्य'मा घरेलु कामदार बनेर गएकी ललिता मालिकको अत्याचार सहन नसकी नेपाल फर्कने निर्णय गर्छे र कुवेत दूतावासको सहयोग लिन पुग्छे। त्यस्तै, 'ठुलेकी छोरी'मा बेचिएर आएकी १२ र १३ वर्षकी बालिकालाई भारतीय पुलिसले नियोगमा बुझाएर गएको र तिनलाई घर फर्काउने चाँजोपाँजो नियोगले मिलाई दिएको उल्लेख छ।
नियोगले गर्नुपर्ने काममा बालिकाको उद्धारसँगै रेल्वे स्टेसनबाट पाहुना ल्याउने र रेल चढाउने पनि पर्थे। 'धरोधर्म इराक जान्न'मा एजेन्टहरू र स्पोन्सरहरूमार्फत ल्याएका कामदारहरूको चर्को गर्मीले गर्दा मृत्यु हुने, तर एजेन्टहरू उम्कने र फुत्किन गर्दा त्यस्ता मृत्युपछिको व्यवस्थापन दूतावासले नै गर्नुपर्ने उल्लेख छ।
'मोनोटोनस दैनिकी'मा दूतावासको मातहत नै नपर्ने सम्बन्ध विच्छेदको मामिला झेल्नुका सन्दर्भ छन्। 'विकृति र विवशता'मा नेपालीको पहिचान शिरको टोपी लगाएको मान्छेलाई अलमलिएजस्तो अवस्थामा भेटेपछि एक जनाले कोलकाताको नियोगमा ल्याइदिन्छन्। तर कोठीमा आई आफ्नै चेलीबेटीबाट पैसा लिएर जानेसमेत पर्दा रहेछन् त्यस्ता टोपीधारी। कोलकाताको खिदिरपूरको गल्लीमा रोजीजस्ता कयौँ नेपाली युवती नारकीय जीवनबाट उम्किए, तर छरछिमेकको छि छि र दुरदुरले उनीहरू फेरि यतै फर्कन बाध्य भए। त्यो सन्दर्भ पनि पुस्तकमा छ। न्युयोर्कमा नियोगको प्रतिनिधिको रूपमा लेखकले देशबाट आएका पाहुनाहरूलाई विभिन्न नियोगकै कर्मचारीको घरमा राखेर सत्कार गर्ने चलनको पनि उल्लेख गरेका छन्। 
देश, काल र परिवेश
कथा भित्रका पात्रहरूलाई परिचालन गर्न र खेल्न परिवेश चाहिन्छ। यस संग्रहमा समावेश गरिएका प्राय: कथा विदेशी भूमिमा भएका घटनाक्रमलाई लिएर लेखिएका छन्। वास्तविक जीवनमा देखिने र घटित हुने विषयलाई आधार मानेर कथालाई अधि बढाउने प्रयास कथाकार पौडेलले गरेका छन्।
उनले आफ्ना कथामा विभिन्न समय र स्थानका रीतिस्थिति, चालचलन, रहनसहन, सोच विचार, राजनीति र जीवनशैली आदिको प्रयोग सुन्दर ढंगमा गरेका छन्। कथाकारले 'गर्मी अनि गर्मागर्मी'मा दिउसोको १२ बजेपछि काम लगाउन नपाइने नियम, 'आजको यायावर'मा सिटी बसको प्रसंग, रेलको भिडमा नेपाली टोपीले दिएको पहिचान, 'पलायनको पिडा'मा न्युयोर्कको इस्ट रिभरको प्राकृतिक वर्णन, म्यानहयाटनको झिलिमिली, अग्ला भवन अनि हिउँको वर्णन, अमेरिकाको कडा नियमको झलक दिएका छन्। 'निरर्थक वितृष्णा'मा राजनीतिक परिवर्तन र कलाकारिताको कुरा गरेका छन्। उनी स्वयं कतिपय घटना र परिवेशका पात्र भएकाले पनि उनका कथा यथार्थपरक हुन पुगेका छन्।
भाषाशैली
कथालाई अघि बढाउन भाषा चाहिन्छ र त्यो भाषा कथावस्तुअनुरूप भयो भने प्रस्तुत गर्ने शैली कलात्मक बन्छ। पौडेलको भाषाशैली सरल छ र कथा सलल बगेका छन्। पात्रसँग अब के हुन्छ भन्ने सोचमा पाठकलाई बाँधिराख्न उनी सफल छन् कथा। कथाहरूमा उपमा र अलंकारको बोझ नभएकोले पाठकले सजिलै बुझ्न सक्छन्। सबै कथाका शीर्षकले न्याय पाएका छन् र कथा शीर्षक वरपर घुमिरहन्छन्। 'फाजिल जिन्दगी'मा कथाकारले घटनाक्रम यसरी अगाडि बढाएका छन् कि पाठकलाई १७ वर्ष अगाडि घरबाट अमेरिका गएका रेसमको नेपालमा रहेकी श्रीमतीसँग भेट होला कि नहोला भन्ने खुल्दुली भइरहन्छ। 'मेरो अधुरोपन'मा माओवादी द्वन्द्व कारण विदेश हिँड्नु परेको कुनै नेपालीको कथाले पाठक भावुक बन्न पुग्छ। कलात्मक भाषा र आकर्षक आवरणले पनि फाजिल जिन्दगीलाई न्याय गरेको देखिन्छ ।
समग्रमा विदेशलाई कर्मभूमि बनाउनु बाहिरबाट देखिएजस्तो आकर्षक र सजिलो छैन भन्ने कुराको सन्देश मधुवन पौडेलका कथाले दिएका छन्। कथामा वैदेशिक रोजगारका लागि गएका नेपालीले खप्नु परेको दुःख, वेदना र मेहनतका सन्दर्भ पढ्दा मनै छियाछिया हुन्छ। त्यसमाथि पनि अनेक उत्पीडन र विवशतामा देहव्यापारमा संलग्न नेपाली महिलाको देहव्यापारजस्ता संवेदनशील घटना वर्णनले कसको मन नकाटिएला? यी कथा पढेपछि रोजगारीको लागि विदेश जान खोज्ने व्यक्ति पक्कै एकपल्ट सोच्न बाध्य हुनेछन्।
दूतावासको कर्मचारीको हैसियतले सक्ने सहयोगमा कथाकार पौडेल स्वयं सधैँ जुट्ने व्यक्ति हुन्। उनको नम्र स्वभाव र सरल व्यक्तित्व न्युयोर्कको बसाइमा हामी न्युयोर्कवासी नेपालीले महसुस गर्ने अवसर पाएका थियौँ। 'पहुँचको पद'मा रहँदासमेत सबैलाई एकनास व्यवहार गर्ने, हँसमुख र आँखामा राखे पनि नबिझाउने कथाकारको गुणको हामी प्रत्यक्षदर्शी हौँ। कथा पनि सरल र सलल बगेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
