फोहोर दिएर भरपेट खाना पाइने 'गार्बेज क्याफे'

एक किलो प्लास्टिकको फोहोर बुझाउँदा पेटभरि खाना पाइन्छ, जसमा भात, तरकारी, दाल, रोटी, सलाद र अचार समावेश हुन्छ।

भारतको छत्तीसगढ राज्यको अम्बिकापुर शहरका गार्बेज क्याफेमा हरेक दिन मानिसहरू आफ्नो भोक मेटाउन पुग्छन्।

आफूले संकलन गरेको फोहोरजन्य वस्तु (प्लास्टिकको झोला, जंकफुडका खोस्टा र पानीका बोतल आदि) त्यहाँ बुझाएर त्यसको साटो तातो खाना खान्छन्। त्यति बुझाए खानाको पैसा तिर्नु पर्दैन।

अम्बिकापुर नगर निगम (एएमसी)को तर्फबाट क्याफे चलाउने विनोदकुमार पटेल भन्छन्, “एक किलो प्लास्टिकको फोहोरको बदलामा उनीहरूले पेटभरि खाना पाउँछन्, जसमा भात, दुई तरकारी, दाल, रोटी, सलाद र अचार समावेश हुन्छ। आधा किलो प्लास्टिकको लागि, उनीहरूले समोसा वा वडा पाव जस्ता खाजा पाउँछन्।”

अम्बिकापुर शहरले प्लास्टिक प्रदूषणको समस्यालाई भोकमरी मेटाउने माध्यममा परिणत गर्ने प्रयास गरेको छ। सन् २०१९ मा यहाँ 'गार्बेज क्याफे' शुरू भएको थियो, जसको नारा थियो –जति धेरै फोहोर, त्यति नै स्वादिष्ट खाना।

यो पहल अम्बिकापुर महानगरपालिकाको सरसफाइ बजेटबाट सञ्चालित छ। यो क्याफे शहरको मुख्य बसपार्क नजिकै अवस्थित छ।

पटेल भन्छन्, “अम्बिकापुरका दुई विद्यमान समस्याहरू, प्लास्टिकको फोहोर र भोकमरीलाई सम्बोधन गर्न यो विचार आएको हो।”

यस योजनाको उद्देश्य गरिब मानिस, विशेष गरी घरबारविहीन र फोहोर टिप्नेहरूले सडक र फोहोरको थुप्रोबाट प्लास्टिक संकलन गरून् र बदलामा उनीहरूले तातो खाना पाउन् भन्ने थियो।

null

सन् २०१४ मा, भारत सरकारले स्वच्छता पहल– स्वच्छ भारत मिसन अर्बन शुरू गरेको थियो। यसअन्तर्गत ​​​​​​​‍शहरमा सरसफाइ र फोहोर व्यवस्थापन कार्य हेरिरहेका रितेश सैनीका अनुसार यी क्याफेले ल्यान्डफिलमा जाने प्लास्टिक फोहोरको मात्रामा पनि असर पारेको छ।

उनका अनुसार २०१९ देखि त्यहाँ करिब २३ टन प्लास्टिक संकलन गरिएको छ। यसका कारण, २०१९ मा अम्बिकापुरको ल्यान्डफिलमा प्लास्टिक पुग्ने मात्रा वार्षिक ५.४ टन थियो, जबकि २०२४ सम्ममा यो घटेर वार्षिक २ टनमा झरेको छ।

तर क्याफेको उद्देश्य महानगरको मुख्य संकलन सञ्जालले छुटाएको प्लास्टिक संकलन गर्नुका साथै मानिसहरूलाई यसमा सहभागी हुन प्रोत्साहित गर्नु हो। यो पहल शहरमा प्लास्टिक घटाउने र पुनर्चक्रण बढाउने व्यापक प्रयासको एक हिस्सा हो, जसमा प्लास्टिकको प्रयोगमा कडा नियमहरू र राम्रो फोहोर पृथकीकरण र व्यवस्थापन प्रणालीहरू पनि समावेश छन्।

यस पहलले अम्बिकापुरलाई भारतको सबैभन्दा सफा शहरहरूमध्ये एकको मान्यता दिएको छ।

सैनीका अनुसार शहरमा हरेक दिन ४५ टन ठोस फोहोर उत्पादन हुन्छ र यसलाई शहरबाट साढे तीन किलोमिटर टाढा १६ एकडमा फैलिएको डम्पिङ ग्राउन्डमा लगिन्छ।

तर २०१६ मा, एएमसीले डम्पिङ ग्राउन्डलाई पार्कमा रूपान्तरण गर्‍यो र शून्य फोहोर विकेन्द्रीकृत प्रणाली लागू गर्‍यो, त्यसैले शहरलाई अब ठूलो डम्पिङ ग्राउन्डको आवश्यकता पर्दैन।

यहाँ संकलन गरिएको प्लास्टिकलाई दानामा परिणत गरिन्छ र सडक निर्माणमा प्रयोग गरिन्छ वा रिसाइकलरहरूलाई बेचिन्छ। यसरी स्थानीय निकायको लागि आम्दानीको स्रोत पनि बनेको छ।

कुहिने फोहोरलाई कम्पोस्टमा परिणत गरिन्छ र पुन: प्रयोग गर्न नसकिने फोहोरको थोरै मात्रा मात्र सिमेन्ट कारखानाहरूमा इन्धनको रूपमा पठाइन्छ। यी प्रयासहरूका कारण, अम्बिकापुर शून्य ल्याण्डफिल शहरको रूपमा परिचित भएको छ। 

अम्बिकापुरमा २० वटा यस्ता केन्द्रहरू छन्, जहाँ फोहोरलाई अधिकतम पुनर्चक्रण सुनिश्चित गर्न ६० भन्दा बढी वर्गहरूमा विभाजन गरिन्छ।

यी केन्द्रहरूमा ४८० महिला काम गर्छन्, जसलाई 'स्वच्छता दिदी' भनिन्छ। फोहोर छुट्याउनुका साथै यी महिलाहरूले हरेक दिन घर-घरमा गएर फोहोर पनि संकलन गर्छन्। यसरी उनीहरू महिनामा ८,००० देखि १०,००० रुपैयाँसम्म कमाउँछन्।

–बीबीसी हिन्दीबाट