न्यूजलेटर

साप्ताहिक ब्रिफिङः चौधरी ग्रुपको खानी दोहन रोक्न खोज्ने महानिर्देशकको सरुवा, खाँणलाई प्रहरी हिरासतमा थियो मोबाइल सुविधा

यो साता उकालोमा अनलाइनमार्फत १६ तरिकाले ठगिँदै सर्वसाधारण, लिपुलेककै विषयले रोकिएको थियो प्रधानमन्त्री कोइरालाको भारत भ्रमण, अनौपचारिक क्षेत्रका मजदुर सधैँ जोखिममालगायत शीर्षकका समाचार चर्चामा रहे।

न्यूजलेटर शुरू गरौँ चौधरी ग्रुपले गरिरहेको दोहन रोक्न खोज्दा महानिर्देशकको सरुवा भएको समाचारबाट। कानून मिचेर खानी दोहन गर्ने चौधरी ग्रुपको लगानी रहेका दुई सिमेन्ट उद्योगमाथि ‘एक्सन’ लिँदा खानी तथा भू–गर्भ विभागकी महानिर्देशक मोनिका झालाई सरुवा गरिएको छ।

विभागको महानिर्देशक बनेको तीन महिनामै, साउन २६ गते मोनिका झाको हातमा अप्रत्याशित रूपमा सरुवा–पत्र आइपुग्यो। सरकारी कर्मचारीको सरुवा सामान्य प्रक्रिया भए पनि यो सरुवा भने सामान्य रूपमै भएको थिएन। सरुवा–पत्र बुझेर विभागको कुर्सी छाड्नेबेला उनको आँखा वरिपरि दुई परिदृश्य घुमिरहे। एउटा, आफूलाई सरुवा गरिदिने धम्की दिएका चौधरी ग्रुपका प्रतिनिधिहरूको। अर्को, त्यसमै बोली मिलाएका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको।

दुई हप्ताअघि मात्र उनले चौधरी ग्रुपका प्रतिनिधि र उद्योगमन्त्री भण्डारीको धम्की र खप्की खाएकी थिइन्। त्यो पनि विभागको महानिर्देशकका रूपमा गर्नुपर्ने काम गरेका कारण। चौधरी ग्रुपका प्रतिनिधिले कार्यकक्षमै आएर ‘भुईंचालो ल्याइदिने’ र ‘सरुवा गराइदिने’ र धम्की दिएका थिए। मन्त्री भण्डारीले मन्त्रालय बोलाएर र टेलिफोनमा समेत उनले गर्न खोजेको काम नरोके सरुवा गरिदिने चेतावनी दिएका थिए। कारण, चौधरी ग्रुपको लगानी रहेका दुई सिमेन्ट उद्योगले कानून मिचेर गरिरहेका कामकारबाहीमा लगाम लगाउन उनले अग्रसरता लिएकी थिइन्। यसबाट चौधरी ग्रुपका प्रतिनिधि चिढिनु अस्वाभाविक थिएन। तर मन्त्री भण्डारी नै चिढिनु चाहिँ अलि अनौठो थियो।

जस्तो, साउन १२ गते मन्त्री भण्डारीले उनलाई मन्त्रालय बोलाएर चौधरी ग्रुपको लगानी रहेको सिमेन्ट उद्योगमाथि गरिएको कारबाही सच्याउन भनेका थिए। झाका अनुसार त्यसक्रममा मन्त्रीले आफूले भनेअनुसार नगरे विभागबाट सरुवाका लागि तयार रहन चेतावनी दिएका थिए। 

त्यसपछि मन्त्रीले टेलिफोनमा समेत दबाब दिइरहेको, सिमेन्ट उद्योग हेर्ने चौधरी ग्रुपका प्रतिनिधिहरू पनि दिनैपिच्छे विभाग आएर धम्क्याउन थालेको झा बताउँछिन्। उनीहरूले भनेअनुसार नगरेपछि यो सिलसिला चलेको १४ दिनपछि उनलाई खानी विभागको महानिर्देशकबाट हटाएर शिक्षा मन्त्रालय सरुवा गरिएको पत्र आइपुग्यो।

यसबारे थप बुझ्न उकालोमा लोकेन्द्र विश्वकर्माको रिपोर्ट पढ्नुहोस् :चौधरी ग्रुपले गरिरहेको दोहन रोक्न खोज्दा महानिर्देशकको सरुवा 

अब बालकृष्ण खाँणलाई प्रहरी हिरासतमा २४ घण्टासम्म  मोबाइल चलाउने ‘सुविधा’ दिएको खबरबारे कुरा गरौँ। पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री र पूर्वगृहसचिवसहितका थुप्रै ‘हाइप्रोफाइल’हरू मुछिएको नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा काठमाडौँ जिल्ला अदालतले अन्तिम सुनुवाइका लागि प्रक्रिया अघि बढाएको छ। 

जिल्ला अदालतले यो मुद्दामा अन्तिम सुनुवाइ प्रक्रिया अघि बढाइरहँदा यही मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री खाँणले प्रहरी हिरासतमा रहँदा २४ घण्टासम्म मोबाइल फोन प्रयोग गर्ने सुविधा पाएको तथ्य खुलेको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा सामेल भेटिएपछि खाँणलाई २०८० वैशाख २७ गते बिहान ८ बजे काठमाडौँस्थित घरबाटै प्रहरीले पक्राउ गरेको थियो।

उनलाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोली संयुक्त रूपमा परिचालित थियो। त्यसबेला उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखमा एसएसपी मनोज केसी र जिल्ला प्रहरी परिसर प्रमुखमा एसएसपी दानबहादुर कार्की थिए। खाँणलाई पक्राउ गरेपछि टेकुमा रहेको तत्कालीन जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो। त्यहीक्रममा खाँणले हिरासत पुगेको २४ घण्टा पछिसम्म आफ्नो मोबाइल फोन प्रयोग गरेको तथ्य फेला परेको छ।

प्रहरीले कुनै पनि कसुरमा अनुसन्धानका लागि पक्राउ गर्ने व्यक्तिहरूलाई हिरासतमा लिनुअघि नै उनीहरूसँग भएका मोबाइल फोनलगायत सामान नियन्त्रणमा लिइसकेको हुन्छ। त्यसमाथि संगठित अपराध गरेको कसुरमा पक्राउ परेका खाँणले हिरासतमा गइसकेपछि पनि कसरी मोबाइल फोन प्रयोग गर्न पाए त? यसबारे थप बुझ्न देवेन्द्र भट्टराई र बीपी अनमोलको रिपोर्ट पढ्नुहोस् :  बालकृष्ण खाँणलाई प्रहरी हिरासतमा २४ घण्टासम्म थियो मोबाइल चलाउने ‘सुविधा’

साताका प्रमुख हेडलाइन:

देश-समाज
लिपुलेककै विषयले रोकिएको थियो प्रधानमन्त्री कोइरालाको भारत भ्रमण
२०७२ जेठ अन्तिममा हुन लागेको तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको भारत भ्रमण सी चिनफिङ र नरेन्द्र मोदीबीच भएको ‘लिपुलेक सम्झौता’कै कारण रोकिएको थियो। के होला प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमण?

१८ वर्षअघिको गौर हत्याकाण्ड: सर्वोच्चको परमादेशसँगै कसरी अघि बढ्छ अनुसन्धान?
रौतहटको गौर हत्याकाण्डमा अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले १८ वर्षपछि परमादेश जारी गरेसँगै घटनामा नाम जोडिएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान गर्ने बाटो खुलेको छ।

मन्त्रिपरिषद्को निर्णयमै छलछाम: प्राडाको ठाउँमा अर्कै कृष्णप्रसादलाई भाषा आयोग सदस्य बनाउन जे गरियो
प्राडा कृष्णप्रसादको ठाउँमा अर्का कृष्णप्रसादलाई भाषा आयोग सदस्यको नियुक्ति दिन मन्त्री–कर्मचारीले मन्त्रिपरिषद्को निर्णयमै छेडखानी गरेका थिए। कसरी भएको थियो नियुक्ति, को–को थिए संलग्न?

अनलाइनमार्फत १६ तरिकाले ठगिँदै सर्वसाधारण, करोडसम्म गुमेपछि बल्ल उजुरी
सबैभन्दा धेरै ठगी सामाजिक सञ्जालमा विज्ञापन गरी सामान पार्सल गरिदिने र साथी बनेर नजिकिँदै महँगा उपहार पठाउने बहानामा भइरहेको छ। प्रायः प्रलोभनमा फस्नेहरू नै ठगिने गरेका छन्।

भारतीय विदेशसचिव मिश्रीले लगाएको उपरखुट्टीको अर्थ के हो?
प्रधानमन्त्री ओलीसँगको भेटका क्रममा मिश्रीले उपरखुट्टी लगाएर बसेको तस्वीर बाहिरिएपछि सामाजिक सञ्जाल तरंगित बन्यो। भेटघाटका अजेन्डाभन्दा पनि सो तस्वीर नै चर्चा र टीकाटिप्पणीको केन्द्रमा रह्यो।

अनौपचारिक क्षेत्रका मजदुर सधैँ जोखिममा, कानून लागू गराउन बेवास्ता
विभिन्न कार्यस्थलमा हुने दुर्घटनामा श्रमिकको ज्यान गएको समाचार आइरहन्छन्। यद्यपि, श्रमिकलाई सुरक्षित स्थल उपलब्ध गराउनुपर्ने कानूनी व्यवस्था छ। तर सरकार र रोजगारदाताको बेवास्ता मृत्युको कारण बनिरहेछ।

पाथीभरा केबलकारले सांस्कृतिक विभाजनः पक्षधर र विपक्षीका बेग्लाबेग्लै धाननाच
पाथीभरामा केबलकार बनाउने र बनाउन नहुने पक्षबीच सांस्कृतिक रूपमै विभाजन शुरू भएको छ। हरेक वर्ष लाखेनाचको दिन हुने धाननाच यो वर्ष अलगअलग ठाउँमा आयोजना गरिएको छ।

गणपूरकमै प्रश्न: सांसदलाई विधायिकी काममा छैन रूची
संसद्को मुख्य काम विधि निर्माण भएकाले सांसदहरू सभा र समितिका बैठकमा नियमित उपस्थित हुनुपर्छ। तर सांसदहरू बैठकमा नबस्दा गणपूरक संख्या नपुगेर सभा र समितिका बैठक बारम्बार स्थगित हुन्छन्।

विचार-टिप्पणी
ब्रह्मकमल फूलको अफवाह र बाह्य वनस्पतिको मिच्याइँ
आयातित बाह्य वनस्पतिमार्फत रोगसमेत भित्रिन सक्ने सम्भावना रहने भएकाले आफ्नै देशमा पाइने बोटबिरुवाको प्रयोग गर्नु अझ राम्रो विकल्प हुन्छ।

डा. रामेशको ‘पलायन’मा बहकिएका मिडिया
एकथरीले डा. रामेशलाई नियुक्त नगर्ने सरकारको आलोचना गरे, परराष्ट्रमन्त्री श्रीमती देउवालाई गाली गरे, छिःछिः दूरदूर नै गरे। अनि, मन नपराउनेहरू रमाए, खुच्चिङ त काखीले मात्रै नपुगेर घुँडा मर्काएर गरे।

कांग्रेसका अनवरत बफादार
सीडीओलाई हानेको गोली सुरक्षागार्डलाई लागेर मृत्यु भयो। त्यहीताका बासुजीले बमसहित पठाएका चार युवक अशोक खनाल, धिरेन्द्र श्रेष्ठ, भिखारी मन्सुर र रामचन्द्र राय बमसहित समातिएका थिए।

अर्थ बजार
बाफिया विधेयकः बैंकर र व्यवसायी छुट्याउन पर्याप्त समय दिने तयारी
बाफिया विधेयकमा बैंकर र व्यवसायी छुट्याउने भनिए पनि यो व्यवस्था कार्यान्वयन गर्न कति समय दिने उल्लेख छैन। व्यवसायीलाई बैंकबाट निस्कन १० वर्षसम्मको समयावधि दिन सहमति खोजिँदैछ।


खेल
एनपीएल दोस्रो संस्करण मंसिरमा
एनपीएल क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ गतेसम्म सञ्चालन हुने क्यानले जनाएको छ।

कीर्तिपुर मैदानमा प्यारापेट निर्माण अन्तिम चरणमा 
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापेट निर्माण तथा सिट राख्ने काम अन्तिम चरणमा पुगेको छ। ६ वटा फ्लडलाइट जडान गर्न पोल ल्याइसकिएको छ। केही दिनमा जडान शुरू गर्ने तयारी छ।

विश्व
युक्रेनले ९० अर्ब डलरको अमेरिकी हतियार खरिद गर्ने, त्रिपक्षीय बैठकको मिति अझै अनिश्चित

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले आफ्नो सुरक्षा ग्यारेन्टीका लागि युरोपेली कोषमार्फत ९० अर्ब डलर बराबरको अमेरिकी हतियार खरिद गर्ने योजनाको पुष्टि गरेका छन्। यद्यपि, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको प्रस्तावित त्रिपक्षीय बैठकको मिति भने अझै निश्चित छैन।