पाकिस्तान साहिन्ससँग नेपाल १ रनले पराजित

अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपाल पाकिस्तान साहिन्ससँग १ रनले पराजित भएको छ।

काठमाडाैँ– अस्ट्रेलियाको नर्दन टेरिटोरीमा भएको टप एन्ड टी–२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपाल पाकिस्तान साहिन्ससँग १ रनले पराजित भएको छ।

पाकिस्तानले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो। नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन तथा दिपेन्द्रसिंह ऐरीले अविजित ४१ रन बनाएका थिए।

त्यसअघि डार्बिनको मरारा क्रिकेट ग्राउन्ड २ मा टस जितेर ब्याटिङ रोजेको साहिन्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४४ रन बनाएको थियो। पाकिस्तानी टोलीका लागि कप्तान इरफान खानले सर्वाधिक ४२ रन बनाए। अब्दुल समादले २६ र मोहमद बसिमले २३ रन जोडे।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए। यस्तै, नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले समान २/२ र कुशल भुर्तेलले १ विकेट लिए।

नेपालले यस लिग अवधिभर जम्मा ६ खेलमा ४ मा हार र २ मा जितको नतिजा निकाल्न सफल रह्यो। यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग नेपाल ३१ रनले पराजित भएको थियो भने ​​​​​​​होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जित निकालेको थियो।

यो हारसँगै नेपालको अस्ट्रेलिया यात्रा लिग चरणमै समाप्त भएको छ।