सेनाका उपरथी प्रेम शाही सैनिक हिरासतमा

नेपाली सेनाका उपरथी प्रेम शाही सर्वोच्चको पत्र लिएर मंगलबार सैनिक मुख्यालय जंगी अड्डा पुगेका थिए। त्यहीक्रममा उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको छ। 

फाइल तस्वीर

काठमाडौँ– नेपाली सेनाका उपरथी  (मेजर जनरल) प्रेम शाहीलाई सैनिक मुख्यालयले सोधपुछका लागि भन्दै हिरासतमा लिएको छ। उमेर सम्बन्धी विवादमा सर्वोच्च अदालतले सोमबार शाहीको पक्षमा अन्तरिम आदेश दिएको थियो। शाही सर्वोच्चको पत्र लिएर मंगलबार सैनिक मुख्यालय जंगी अड्डा पुगेका थिए। त्यहीक्रममा उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको हो। 

शाहीलाई नेपाली सेनाले २०७९ पुस २० गते उमेरका आधारमा अवकाश दिन लागेको थियो। त्यसविरुद्ध उनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। तर, उन्नाइसौँ पटकको पेशीमा बल्ल सुनुवाइ भएपछि शाहीलाई ‘नागरिकता प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको आधारभन्दा पहिला नै अवकाश दिँदा सुविधा सन्तुलनको दृष्टि र निज निवेदकलाई हुनसक्ने अपूरणीय क्षतिसमेतलाई मध्यनजर गरी उल्लिखित यस अदालतमा विचाराधीन रहेको निवेदनको अन्तिम निर्णय नहुञ्जेलसम्म निवृत्तिभरणमा अवकाश दिने निर्णय कार्यान्वयन नगराउनु र निवेदकलाई यथाअवस्थामा काम गर्न दिनू’ भनेर सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो।

रक्षा मन्त्रालयले कायम गरेको जन्ममितिअनुसार पुस २० गते अवकाश पाउने भएकाले अदालतको आदेश आउनुअघि नै शाही बिदामा बसिसकेका थिए। आदेश आएपछि मात्र उनी पत्र बुझाउन मंगलबार सैनिक मुख्यालय गएका थिए।

प्रचलित कानूनअनुसार कुनै व्यक्तिको जन्ममिति कायम गर्दा नागरिकताको प्रमाण–पत्र र प्रवेशिका (एसएलसी)को प्रमाणपत्र अनुसार हुनुपर्नेमा शाहीको हकमा रक्षा मन्त्रालयले विद्यालयले दिएको चारित्रिक प्रमाण–पत्रमा भएको गल्तीका आधारमा उमेर निर्धारण गरेको थियो।

सेवा प्रवेश गर्नुअघि लिएको नागरिकता र प्रवेशिका परीक्षाको प्रोभिजनल प्रमाण–पत्रबाट उनको जन्ममिति २०२३ पुस २२ रहेको देखिन्छ। 

यो घटनाक्रमबारे जानकार नेपाली सेनाका एक अधिकृतले शाहीले आफ्नो जन्ममिति सच्याउन नेपाली सेनामा पटक–पटक कोशिश गरेको तर, सेना र रक्षा मन्त्रालयभित्रको राजनीतिक खिचातानीका कारण उनको सुनुवाइ हुन नसकेको बताए।

“शाहीको निवेदनउपर कानून विभागका सहायकरथी रत्नप्रकाश थापा सदस्य रहेको बोर्डले जन्ममिति सच्याउन सिफारिस समेत गरेको थियो तर, तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले राखेको पूर्वाग्रह र बदनियतका कारण सैनिक अभिलेखालयले मानेन। उल्टै रक्षामन्त्री ईश्वर पोखरेल र रक्षासचिवले क्षत्रीकै कुरा माने”, ती अधिकृत भन्छन्।

जंगी अड्डास्रोतका अनुसार शाही पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापासँग नजिक रहेका कारण उनको सम्बन्ध वर्तमान सेनापति प्रभुराम शर्मासँग त्यति सुमधुर छैन।

सैनिक प्रवक्ता, सहायकरथी कृष्णप्रसाद भण्डारीले यसलाई हिरासत भन्न नमिल्ने र शाहीसँग केही कुरा बुझ्नुपर्ने भएकाले ब्यारेकभित्र बस्न निर्देशन दिइएको बताए।

“विगतमा आर्थिक अनुशासनसँग सम्बन्धित विषयमा छानबिन भएको रहेछ, त्यो कम्प्लिट हुन बाँकी थियो। त्यसकै लागि उहाँलाई ब्यारेकभित्र बस्न निर्देशन जारी भएको हो”, भण्डारीले भने। उनले अदालतको आदेशसँग यो छानबिनको सम्बन्ध नरहेको दाबी गरे।