मधेशमा 'धराप': तीन वर्षमा डुबेर ५८६ जनाको मृत्यु, अधिकांश बालबालिका

मधेशका प्राकृतिक र कृत्रिम पोखरी मात्र होइन, माटो तथा बालुवा झिक्न खनिएका खाडलमा जमेको पानी पनि मृत्युको कारण बनिरहेका छन्। यी पोखरी र खाडल सुरक्षित बनाउने योजना सरकारसँग छैन।

काठमाडौँ– बारा गंगापुरका सञ्जित साह (७) साउन २२ गते घर नजिकैको पोखरीमा पौडिँदै थिए। पोखरीको छठघाट नजिक किनारैकिनार डुबुल्की लगाइरहेको छिमेकीले पनि देखिरहेका थिए। केही समयपछि उनी एकाएक पोखरीको सतहमा देखापरे।

दुईतीन जना स्थानीयले पोखरीबाट निकालेर सञ्जितलाई तत्कालै कलैयास्थित आशीर्वाद अस्पताल लगे, तर चिकित्सकले मृत घोषणा गरे। स्थानीय हरिनारायण साहका अनुसार उक्त पोखरीमा पहिला पनि डुबेर बालबालिकाको मृत्यु हुन्थ्यो।

“बालबालिका उत्सुकता साथ पानीमा फाल हानिहाल्छन्, तर पौडिन जान्दैनन्,” उनी भन्छन्, “मान्छेहरू भएको बेला त सुरक्षित नै हुन्छन्, तर मान्छेहरू कम हुँदा घटना हुने खतरा बढिहाल्छ।”

साउन २६ गते छिमेकी जिल्ला पर्साको ठोरी गाउँपालिका–२ हनुमाननगरमा अर्को दुःखद् घटना भयो। स्थानीय मनोज कठायतका दुई छोरा ८ वर्षीय अंश र ४ वर्षीय आयंश डोजरले बालुवा झिकेर बनेको खाडलमा मृत भेटिए।

खाडलको पानीमा नुहाउन पसेका उनीहरू केहीबेरमै तैरिरहेको अवस्थामा भेटिएका थिए। स्थानीयले दुवैलाई ठोरीस्थित अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरे।

यसअघि, असार २९ गते सर्लाहीको कविलासी नगरपालिका–५, घरदौली टोलका २ वर्षीय सुरज पासवान साँझ घरमा देखा परेनन्। खेल्दाखेल्दै कतै पुगेको हुनसक्ने अनुमानमा बुबा देवनारायणले केही समय वास्ता गरेनन्।

आधा घन्टा बित्दा पनि नआएपछि उनी र उनककी श्रीमती आत्तिन थाले। तुरून्तै छिमेकीलाई गुहारे। अस्थायी प्रहरी पोस्ट हेमपुर पचगछियामा पनि जानकारी दिए। तर पनि सुरज भेटिएनन्।

इलाका प्रहरी कार्यालय हरिपुरबाट प्रहरी निरीक्षक रोमनराज अर्यालको कमाण्डमा टोली परिचालित भयो। राति ९ बजेतिर घरभन्दा करिब १०० मिटर पश्चिममा रहेको विन्देश्वर रायको पोखरीमा शव फेला पर्‍यो।

स्थानीय विन्देश्वर पासवानका अनुसार सुरज खेल्दै पोखरीसम्म पुगेका थिए। उनी घरमा कोही नभएको बेला घरबाट फुत्किएका थिए। “बच्चालाई हेर्ने कोही नभएर घटना भयो,” उनी भन्छन्, “नजिकै माछापालन हुने पोखरी थियो। पोखरी वरिपरि पनि कोही मान्छे भएन।”

वैशाख १३ गते महोत्तरीको मनरा शिसवा नगरपालिका–१ मनरा ब्रह्मस्थानमा पनि पोखरीमा डुबेर १० वर्षीय शुभमकुमार र ९ वर्षीय आयुषकुमार सिंहको ज्यान गयो। पोखरीमा पौडी खेल्ने क्रममा डुबेका दुवैलाई उपचारका लागि मनरास्थित नगर अस्पताल पुर्‍याइएको थियो। तर ज्यान जोगिएन।

तीन वर्षमा झन्डै ६०० को मृत्यु
मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार, २०८१/८२ मा मात्रै पोखरी वा खाडलमा डुबेर २५६ जनाको मृत्यु भएको छ। तीमध्ये वयष्क पुरूष ८२, वयष्क महिला २४ र बालबालिका १५० जना छन्।

यो आँकडा पछिल्लो आर्थिक वर्षको भन्दा झन्डै दोब्बर हो। मधेश प्रहरीकै तथ्यांक अनुसार, आर्थिक वर्ष २०८०/८१ मा डुबेर मृत्यु हुनेको संख्या १७५ थियो। जसमा वयष्क पुरुष ५०, वयष्क पुरुष १३ र बालबालिका ११२ जना थिए।

आर्थिक वर्ष २०७९/८० मा डुबेर मृत्यु हुनेको संख्या १५५ रहेको मधेश प्रहरीको तथ्यांकले देखाउँछ। जसमा पुरूष ६२, महिला १२ र बालबालिका ८१ जना थिए।

प्रहरीको तथ्यांकअनुसार, मधेशमा पछिल्लो तीन वर्षमा डुबेर ५८६ जनाको मृत्यु भएको छ। तीमध्ये, ३४६ जना बालबालिका छन्।

जथाभावी खाल्डा र बग्रेल्ती पोखरी
मधेशमा सरकारी र गैरसरकारी पोखरीहरूको यकिन तथ्यांक छैन। तर प्रत्येक जिल्लामा उल्लेख्य संख्यामा पोखरी छन्। पछिल्लो समय माछापालनका लागि कृत्रिम पोखरी खन्ने लहर पनि छ।

यी पोखरी आवासीय क्षेत्रको पहुँचमा भएकै कारण डुबेर मृत्यु हुनेको संख्या पनि बढ्दो क्रममा रहेको सर्लाहीस्थित इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक रोमनराज अर्याल बताउँछन्। उनका अनुसार, घरै नजिक पोखरी हुँदा अबोध बालबालिका सजिलै त्यहाँ पुग्छन्।

“बच्चाहरूलाई हेर्ने मान्छे हुँदैनन्। यसलाई लापरबाही भन्ने कि बाध्यता? हप्तैपिच्छे यस्ता घटना भइरहन्छन्,” अर्याल भन्छन्, “अलिअलि जनचेतनाको कमी पनि हो। तर माछा पाल्न पोखरी खन्नेहरूले पनि सुरक्षित तरिकाले तारबार गरेर राख्दा घटनामा कमी आउनसक्छ।”

डुबेर बालबालिकाको मृत्यु हुने क्रम बढ्नुमा विकास निर्माणका लागि खनिएका र निजी जग्गामा माटो–ग्राभेल बेचेर छाडिएका खाडल पनि जिम्मेवार भएको मधेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमाप्रसाद चतुर्वेदी बताउँछन्। उनका अनुसार जथाभावी छाडिएका खाडलले जोखिम बढाएको छ।

“गाउँघरमा सरकारी वा निजी जग्गाबाट माटो खनिन्छ। तर त्यसको व्यवस्थापन र संरक्षण गरिँदैन। वर्षौंसम्म खाल्डाकै रूपमा हुन्छन्,” डीआईजी चतुर्वेदी भन्छन्, “त्यही खाल्डाहरूमा वर्षाको पानी जमेपछि बालबालिका डुब्ने गर्छन्।”

जथाभावी छाडिने खाडल पुर्न लगाउन मधेश प्रदेश सरकार र स्थानीय तहहरूले कुनै कानून वा नियम बनाएका छैनन्। सञ्चारमाध्यमबाट समस्या बुझिरहे पनि यो विषयमा हालसम्म खासै केही गर्न नसकेको मधेश प्रदेश गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखी बताउँछन्। 

मधेशको यो समस्याका पछाडि मुख्य कारण जनचेतना नै भएको लेखीको भनाइ छ। उनले स्थानीय सरकार जिम्मेवार हुनुपर्ने पनि बताए।

“स्थानीय सरकारले यो विषयमा केही गर्न नसकेर पनि मृत्युको संख्या बढ्दै गएको हो। अभिभावकको पनि बालबच्चातिर ध्यान दिएको देखिँदैन,” लेखी भन्छन्, “कानून नभएर पनि हो कि। अहिलेसम्म कानून बनाउनतिर लागेनौँ, अब लाग्नुपर्ला।”