नेप्से परिसूचक १८ अंकले घट्यो

आइतबार शेयरबजार परिसूचक नेप्से १८.०२ अंकले घटेर २,७३९.९५ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८.०२ अंकले घटेर २,७३९.९५ को विन्दुमा कायम भएको छ। परिसूचक ०.६५ प्रतिशतले घटेको हो।

आइतबार ३२३ कम्पनीको एक करोड ४० लाख ९ हजार ७०८ कित्ता शेयर ५८ हजार १०५ पटक खरिदबिक्री हुँदा छ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५.९२ रुपैयाँको कारोबार भएको छ।

उत्पादन तथा प्रशोधन समूह ०.१५ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। बैंकिङ ०.८८, विकास बैंक १.६९, वित्त ०.५३, होटल तथा पर्यटन ०.६८ र जलविद्युत् १.१९ प्रतिशतले घटेको छ।

त्यस्तै, लगानी ०.७८, जीवन बिमा ०.४४, लघुवित्त ०.१५, म्युचुअल फन्ड ०.१६, निर्जीवन बिमा ०.५०, व्यापार ०.१९ र अन्य समूह ०.१० प्रतिशतले घटेको छ।

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य ७.२९ प्रतिशतले घटेको छ।

कारोबार रकम र शेयर संख्याका आधारमा आज सबैभन्दा बढी हिमालयन डिस्टिलरी लिमिटेडको एक अर्ब ७५ करोड ७९ लाख ३० हजार ३८६ रुपैयाँ बराबरको १२ लाख ७४ हजार २२५ कित्ता शेयर किनबेच भएको छ।