देउवालाई 'गलाउने' रणनीति तय गर्न शेखर–गगन समूहको छुट्टै भेला

कांग्रेस सभापति देउवाविरुद्ध रणनीति तय गर्न शेखर–गगन समूहले बिहीबार बानेश्वरमा आफ्नो समूहको बैठक बोलाएको छ।

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका कारण हातैमा आएको केन्द्रदेखि प्रदेश सरकारको नेतृत्व गर्ने अवसर गुमेको निष्कर्ष निकालेको शेखर–गगन समूहले देउवाविरुद्ध आगामी दिनमा कसरी उभिने भन्ने रणनीति तय गर्न केन्द्रीय समिति अघि छुट्टै भेला गर्ने भएको छ।

यो समूहले बिहीबार बानेश्वरको अनुपम फुडल्यान्डमा आफ्नो समूहको बैठक बोलाएको हो। समूहका नेता अर्जुननरसिंह केसीले आफ्ना समूहका शीर्ष नेतादेखि केन्द्र, प्रदेश तहका नेताहरू सहभागी हुने यो बैठकमा देउवाको कार्यशैली सच्याउने उद्देश्यसहित रणनीति निर्माण गरिने बताए। “हामीले चुनावसँगै पार्टीले सत्ताको नेतृत्व गर्ने अवसर किन गुमायो भन्नेमा केन्द्रित भएर छलफल गर्दै छौँ। सभापति देउवाले कार्यशैली सच्याउन माग गर्ने निर्णय गर्ने छौँ”, सिंहले भने।

कांग्रेसको आगामी पुस २२ गतेदेखि केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ। उक्त बैठकमा देउवालाई कम्तीमा माफी माग्न लगाउने रणनीतिसहित यो समूह छलफलमा जुट्ने भएको हो। शेखर–गगन समूहका नेता एवं कांग्रेस उपसभापति धनराज गुरुङले पार्टी नेतृत्वले पटक–पटक त्रुटि गरेकाले यसलाई सच्याउन र आगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउने प्रतिबद्धता गर्नुपर्ने बताए। देउवालाई त्यसो गर्न बाध्य पार्ने हिसाबमा आफूहरूको एकै ठाउँमा भेला हुन लागेको गुरुङले बताए।