बालबालिकालाई स्वर्णभस्म खुवाउने अभियान रोक्न पेडियाट्रिक सोसाइटीकोआग्रह

बालबालिकामा यसको प्रभावकारिता प्रमाणित नभएको, गुणस्तरबारे स्पष्टता नपाइएको र स्वास्थ्यमा जोखिम ल्याउन सक्ने भन्दै अभियान अघि नबढाउन सोसाइटीले आग्रह गरेको छ।

बालबालिकालाई स्वर्णभस्म खुवाउने अभियान रोक्न पेडियाट्रिक सोसाइटीकोआग्रह
रासस
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, रत्ननगर चितवनमा गत बिहीबार बालबालिकालाई स्वर्ण बिन्दु प्राशन खुवाइँदै।

काठमाडौँ– नेपाल पेडियाट्रिक सोसाइटीले बालबालिकालाई स्वर्णभस्म ‘इम्युन बुस्टर’का रूपमा वितरण गर्ने सरकारी योजनाप्रति आपत्ति जनाएको छ।

आइतबार विज्ञप्ति जारी गर्दै सोसाइटीले बालबालिकामा यसको प्रभावकारिता प्रमाणित नभएको, गुणस्तरबारे स्पष्टता नपाइएको र यसले स्वास्थ्यमा जोखिम ल्याउन सक्ने भन्दै अभियान अघि नबढाउन आग्रह गरेको हो।

स्वर्णभस्मले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ भन्ने वैज्ञानिक आधार नभएको र यसमा भारी धातु (सिसा, पारो, आर्सेनिक) जस्ता हानिकारक तत्व हुनसक्ने चेतावनी दिइएको छ। नेपालमा गरिएका सर्वेक्षणमा यस्ता विषालु पदार्थ केही आयुर्वेदिक उत्पादनमा भेटिएको उदाहरण पनि सोसाइटीले प्रस्तुत गरेको छ।

सोसाइटीले औषधि व्यवस्था विभागलाई बालबालिकामाथि हुने असरबारे प्रष्ट धारणा सार्वजनिक गर्न आग्रह गरेको छ। साथै, यदि शिशु समेट्ने कार्यक्रम ल्याइने हो भने उमेरअनुसार सुरक्षित/असुरक्षित पदार्थबारे प्रष्ट चेतावनी दिनुपर्ने सुझाव दिएको छ।

विज्ञप्तिमा सरकारले प्रमाणित स्वास्थ्य कार्यक्रमजस्तै विशेष स्तनपान, समयमै खोप, भिटामिन-ए, पखालामा जिंक, पोषण र स्वच्छतामा प्राथमिकता दिनुपर्ने उल्लेख छ।  पेडियाट्रिक सोसाइटी बालरोग विशेषज्ञहरूको छाता संस्था हो।

बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै बौद्धिक र शारीरिक विकासलाई प्रवर्द्धन गर्न भन्दै सरकारले गत बिहीबार धनगढीबाट ‘राष्ट्रिय स्वर्णविन्दु प्राशन’ कार्यक्रम शुरू गरेको थियो।