शारीरिक व्यायामका लागि धेरैले दौडलाई सजिलो उपाय मान्छन्, तर अव्यवस्थित कुदाइले घुँडा, गोलीगाँठो र मांशपेशीमा समस्या ल्याउँछ। दौडने स्थान पनि सहज र व्यवस्थित हुनु आवश्यक छ।
काठमाडौँ— लाजिम्पाटका राजु सुनाम (२३) स्वस्थ रहन बिहान दौडने गर्थे। वजन घट्ने र शरीर फुर्तिलो हुने आशामा उनी झिसमिसेमै लाजिम्पाटको मुख्य सडकको किनारैकिनार दौडिन शुरू गर्थे। करिब एक वर्षअघि दौडन शुरू गरेको एक हप्तामै उनको घुँडामा दुखाइ शुरू भयो।
दुखाइले गर्दा सामान्य हिँडडुलमा पनि समस्या भयो। सिँढी ओहोरदोहोर गर्दा झनै दुख्थ्यो। उनले केही दिन आराम गरे र फेरि दौडन थाले। उनलाई आफ्नो वजन घटाउनु थियो।
तर दौडन थालेपछि फेरि दुखाइ भयो र घुँडा सुनिन थाल्यो। उनी शिक्षण अस्पताल गए। उनको घुँडाको 'लिगामेन्ट' च्यातिएको पाइयो। तर पूर्णरूपमा नच्यातिएको हुँदा तीन हप्तामै दुखाइ कम भयो।
चिकित्सकले ६ महिनासम्म घुँडालाई भार पर्ने गतिविधि नगर्न सुझाए। “फिटनेस सेन्टर जानुभन्दा आफै सामान्य कसरत गर्छु भनेर थालेको थिएँ। सामान्य जुत्ता लगाएर पिच रोडमा धेरै कुद्थेँ। मेरो वजन पनि धेरै भएकाले भार सबै घुँडामा परेको रैछ,” उनी भन्छन्, “अहिले चिकित्सकको सुझावअनुसार दौडने वा अन्य व्यायाम गर्छु।”
अनामनगर बस्ने अस्मिता पौडेल पनि दौडन रुचाउँछिन्। उनी बिहान ५ बजे उठेर रुद्रमती करिडोरतिर आधा घण्टा दौडिन्छिन्। बेलुका पनि कहिलेकाहीँ घरधन्दा सकेर निस्किन्थिन्।
उनले एक वर्षअघि मात्र दोस्रो बच्चा जन्माएकी थिइन्। सुत्केरी भएपछि वजन बढेकाले दौडन थालिन्। “फिटनेस जान समय नभएर दौडन थालेको थिएँ। प्रायः दौडिरहन्थेँ, तर निरन्तरता थिएन,” उनी भन्छिन्, “दौडनु त सामान्य हो, जसरी दौडे पनि हुन्छ भन्ने लागेको थियो। चप्पलमै पनि गइदिन्थेँ। तर धेरै कुरामा ध्यान दिनुपर्दाे रहेछ।”
करिब एक महिनापछि उनलाई हिँड्न असहज हुन थाल्यो। उनको तिघ्रा र मेरुदण्ड दुख्न थाले। वीर अस्पतालमा जाँच गराउँदा थाहा भयो, तिघ्रा र मेरुदण्ड वरपरको मांसपेशी तन्किएको रहेछ। चिकित्सकले केही दिन आराम गर्न, दौडअघि शरीर तन्काउने खाले सामान्य व्यायाम गर्न र सुरक्षित क्षेत्र वा सतहमा मात्र दौडन सल्लाह दिए।
दुई हप्तापछि दुखाइ कम हुन थाल्यो। तीन हप्तापछि सजिलै दौडन सक्ने अवस्थामा पुगिन्। “अहिले दुखाइ छैन। डाक्टरले भने अनुसार वार्मअपबाट ज्यानलाई तयार गरेर मात्र दौडन्छु। तर अझै दौडन डर लाग्छ। किनभने दौडँदा घाँसेमैदानमा ठिक हुने रहेछ। काठमाडौँमा नजिकै घाँसेमैदान नै छैन,” उनी भन्छिन्।
स्वस्थ रहन शहरी क्षेत्रमा बिहान र बेलुका दौडनेको संख्या धेरै छ। क्यालोरी कम गर्ने, मुटु स्वस्थ बनाउने र मानसिक स्वास्थ्यमा सकारात्मक असर गर्ने सबैभन्दा सजिलो व्यायाम दौडलाई नै मानिन्छ। तर व्यवस्थित दौड अनिवार्य हुन्छ।
सन् २०२२ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको ‘असंक्रमणीय रोग जोखिम कारक सर्वेक्षण’ले व्यायाम नगर्दा र गलत तरिकाले व्यायाम गर्दा २५ देखि ६४ वर्ष उमेर समूहमा घुँडाको समस्या, मोटोपना र हृदय रोगको जोखिम धेरै हुने देखाएको छ। फिजियोथेरापिस्ट साजन मानन्धरका अनुसार, गलत तरिकाले दौडँदा अन्य विभिन्न शारीरिक समस्या देखिन्छन्।
अव्यवस्थित दौडले सबैभन्दा धेरै घुँडामा समस्या हुन्छ। मांसपेशी दुख्ने, च्यातिने वा च्यापिने हुन्छ। यी समस्यालाई चिकित्सकहरू ‘ओभरयुज इन्जुरी’ भन्छन्, जसको मुख्य कारण शरीरलाई तयार नबनाई निरन्तर दौडनु नै हो।
सामान्य तयारीबिना दौडँदा पाखुरा र गोलीगाँठामा समस्या, कम्मर र मेरुदण्डमा असर गर्ने, श्वासप्रश्वास सम्बन्धी समस्या निम्तिन सक्ने पनि मानन्धर बताउँछन्। “दौड व्यायाम मात्र नभएर विधि पनि हो। कस्तो उमेरका मानिसलाई कस्तो गति, कति समय, कस्तो ठाँउमा दौड उपयुक्त हुन्छ भनेर सिकाउनुपर्छ। नेपालमा यो अभ्यास छैन,” उनी भन्छन्।
मानन्धरका अनुसार नेपालमा दौड प्रशिक्षणको कमी छ। अधिकांश मानिस आफैले जाने अनुसार दौडने गर्छन्। तर त्यसले धेरैलाई समस्या निम्ताइरहेको छ।
धेरैले व्यायाममा पर्याप्त समय दिन सक्दैनन्, जति दिन्छन् त्यो पर्याप्त र व्यवस्थित हुँदैन। “थोरै ज्ञान अज्ञानभन्दा खतरनाक हुन्छ। व्यायाम गर्नुपर्छ भन्ने थाहा छ, तर कसरी गर्ने भन्ने थाहा छैन। जसले गर्दा स्वस्थ हुनुभन्दा समस्यातिर धकेल्ने धेरै हुन्छ,” मानन्धर भन्छन्।
बिनाशारीरिक तयारी एक्कासि दौडने, सहज जुत्ता र लुगा नलगाउने, जथाभावी दौडने गर्दा समस्या हुने अर्थाेपेडिक डा. शैलाज रञ्जितकार बताउँछन्। बिनातयारी दौडँदा घुँडा, मेरुदण्ड र तिघ्राका मांशपेशीहरू च्यातिने सम्भावना धेरै हुन्छ। दौड्नुअघि केही समय सामान्य कसरत गर्दा मांसपेशी खुल्छन् र समस्या हुँदैन।
यस्तै, खाल्डाखुल्डी वा पक्की सडकमा दौडँदा गोलीगाँठो भएको भाग दोब्रिने वा घुँडा खिइने समस्या हुनसक्छ। “सम्भव भएसम्म समूहमा वा प्रशिक्षकको मार्गदर्शनमा दौडनुपर्छ। दौडअघि हल्का कसरत गर्नुपर्छ। सहज हुने कपडा लगाउनुपर्छ र जुत्ता पनि दौडकै लागी बनेका लगाउनुपर्छ,” डा. रञ्जितकार भन्छन्।
दौडनका लागि काठमाडौँ उपत्यकामा उचित स्थानको अभाव भएको उनी बताउँछन्। शहरमा केही मात्र रंगशाला, ट्र्याक वा पार्क छन्। तर सबैको पहुँचमा छैनन्। त्यसैले असुरक्षित स्थानमा दौडनु बाध्यता भएको छ। धेरै ठाउँमा सडक कङ्क्रिट वा असामान्य छन्।
सुरक्षित दौड गर्दा क्रमशः दूरी र गति बढाउन सकिन्छ। दौडने व्यक्तिले पानी र पोषणमा पनि ध्यान दिनुपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
