मस्तिष्क मृत्यु भएका १ व्यक्तिबाट ३ बिरामीको ज्यान जोगियो

मस्तिष्क मृत्यु भएको एक व्यक्तिबाट प्राप्त मिर्गाैला र कलेजो एक साथ तीन जनामा सफल प्रत्यारोपण भएको केन्द्रले जनाएको छ।

काठमाडौँ– मस्तिष्क मृत्यु भएका एक जनाबाट तीन जना बिरामीको ज्यान जोगिएको छ। मानव अंग प्रत्यारोपण सेवाले गर्दा यो सम्भव भएको हो।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले मस्तिष्क मृत्यु भएको एक व्यक्तिबाट प्राप्त दुई वटा मिर्गाैला र एउटा कलेजोलाई तीन फरक-फरक व्यक्तिमा प्रत्यारोपण गरेर उनीहरूको ज्यान जोगिएको जनाएको छ। ललितपुरको सुमेरु सिटी अस्पतालमा मस्तिष्क मृत्यु भएको व्यक्तिबाट गत साउन ३० गते प्राप्त मिर्गाैला र कलेजो एक साथ तीन जनामा सफल प्रत्यारोपण भएको केन्द्रले जनाएको हो।

प्रत्यारोपण केन्द्रका अनुसार कलेजो प्रत्यारोपित काठमाडाैँका ३८ वर्षीय पुरुष आज ९औँ दिनमा सकुशल डिस्चार्ज भएका र मिर्गाैला प्रत्यारोपितहरू स्वास्थ्य लाभ गरी केही दिनमा डिस्चार्ज हुने तयारीमा रहेका छन्।

यस्तै, ३ महिनाअघि पनि एक मस्तिष्क मृत्यु भएको व्यक्तिबाट प्राप्त मिर्गाैला र कलेजो एक जना पुरुषलाई तथा एक अर्को मिर्गाैला एक जना महिलालाई प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ।

मिति २०७४ वैशाख २८ गते पहिलो पटक मस्तिष्क मृत व्यक्तिको अंगबाट प्रत्यारोपण शुरू भएपश्चात हालसम्म ७ जना व्यक्तिबाट अंग प्राप्त गरी १३ जनामा मिर्गौला र ५ जनामा कलेजो गरी १८ जनामा अंग प्रत्यारोपण भएको केन्द्रले जनाएको छ।

मस्तिष्क मृत्युपश्चात हुने अंग प्रत्यारोपणले थप गति लिँदै गएको केन्द्रका कार्यकारी निर्देशक तथा मिर्गाैला–कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा पुकार चन्द्र श्रेष्ठले बताए।