मौसमअनुसार परिवर्तन हुने ताप्लेजुङको ‘छ्यो थांगी छ्यो पोखरी’

ताप्लेजुङ सदरमुकाम फुङलिङबाट एक दिन गाडी र दुई दिनको पैदल यात्रामा पोखरीमा पुग्न सकिन्छ। पर्यटकको सहजताका लागि पदमार्ग र पाटीपौवा निर्माण भइरहेको छ।

फुङलिङ– मिक्वाखोला गाउँपालिका–५ यासा (लोदेन) स्थित छ्यो थांगी छ्यो पोखरी भ्रमण गर्नेहरूको चहलपहल बढ्न थालेको छ। प्रचारप्रसार हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका हुन्। 

पोखरी समुद्र सतहबाट चार हजार ४०० मिटर उचाइमा रहेको छ। स्थानीयका अनुसार पोखरीले मौसमअनुसार रङ बदल्ने गर्छ। कहिले आकाशजस्तै नीलो हुन्छ भने कहिले रातो हुने गरेको स्थानीय पान्दे शेर्पा बताउँछन्। यस क्षेत्रमा पर्यटकलाई राम्रो सेवा सुविधा दिन सके धरै पर्यटक प्राकृतिक सुन्दरतामा घुम्न आउने संख्या बढ्दै गएको उनले बताए। तर अहिले यहाँ आउने पर्यटकले सेवा सुविधा नभए पनि घुम्न आउने क्रम बढ्दै गएको छ। 

स्थानीय वांगे शेर्पा (थोक्प्याका अनुसार स्थानीय थोक्प्या समुदायको स्थानी भाषाअनुसार छ्यो (पोखरी) थांगीको अर्थ (टार) छ्यो (पोखरी) यसको पूरा अर्थ पोखरी भएको टार हुन्छ। तर पछिल्लो समय यहाँका धेरै पोखरीको मौलिक नामभन्दा अन्य नामबाट प्रचार हुँदै गएको भन्दै यहाँका पोखरीको आफ्नै मौलिक नामबाट प्रचारप्रसार गर्न आवश्यक रहेको स्थानीय थोक्प्याहरूको भनाइ छ।

 यस पोखरी क्षेत्रमा घुम्न आउने पर्यटक पोखरीको अवलोकनसँगै प्राकृतिक सुन्दरताको आनन्द लिनसक्ने लोदेन क्षेत्रमा विगतदेखि जडीबुटी संकलन गर्दै आएका व्यवसायी मिक्वाखोला–४ साँवा गाउँका मिलन लिम्बूले बताए। 

एक दिनमा सदरमुकाम फुङ्लिङबाट यातायातका साधन प्रयोग गरेर सिम्बुक पुग्न सकिन्छ। त्यसपछि पदमार्ग प्रयोग गरेर छिटो हिँड्नेहरू एक दिन र अलि विस्तारै हिँड्ने पर्यटक दुई दिनमा लोदेन क्षेत्र पुग्न सक्छन्। पर्यटक लोदेनमा रहेका पोखरीको अवलोकन गरेर तोक्पेगोला हुँदै फर्कन चाहने लिम्बूले बताए। तर लोदेन हुँदै तोक्पेगोला जान त्यति सहज बाटो नभएको लिम्बूले बताए। पाँच हजार ५०० मिटर उचाइ अवस्थित डाँडा पास गरेर जानुपर्ने भएकाले लेक लाग्ने साथै बाटो निर्माण नभएकाले स्थानीयको सहायता चाहिने गरेको लिम्बूले बताए। उच्च हिमाली क्षेत्रमा भएकाले बाह्रै महिना हिउँ जमेर रहेकाले बाटो चिप्लो हुने जोखिम रहेको लिम्बूले बताए। 

विगतमा यहाँका तस्वीर, सामान्य भिडिओ सामाजिक सञ्जालमार्फत केही प्रचारको काम भएको मिक्वाखोला गाउँपालिका–५ का वडाध्यक्ष ग्यान्जे शेर्पाले बताए। शेर्पाका अनुसार यस क्षेत्रमा १०० हाराहारीमा पोखरी छन्। तर यस पोखरीको वैज्ञानिक अनुसन्धान हुन बाँकी रहेको शेर्पाले बताए। शेर्पाका अनुसार वडाको समन्वयमा यहाँका पोखरी तथा तालको वैज्ञानिक अध्ययन गर्ने योजना छ। पोखरी तथा तालसम्बन्धी विज्ञको टोलीमार्फत पोखरीको गहिराइ, लम्बाइ तथा चौडाइ र जीपीएस मापनजस्ता काम गर्ने योजना छ।

 यस क्षेत्रमा रहेका पोखरीको संरक्षणका काम खासै केही नभएको साथै यस विषयमा गाउँपालिकाको नजर नपुगेको मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु शेर्पाले जानकारी दिए। मानवले क्षति नपुर्‍याएसम्म यहाँका पोखरी आफैमा संरक्षित रहने उनले बताए। उपाध्यक्ष शेर्पाका अनुसार पोखरी क्षेत्रको प्रचारप्रसारका काम भइरहेको छ। पदमार्ग निर्माण तथा पर्यटकका लागि पाटीपौवा निर्माण भइरहेको छ। 

यस क्षेत्रमा रहेका पोखरीको प्रचारप्रसार गर्न चालु आर्थिक वर्षमा लोदेन क्षेत्रमा भिडिओ सम्मेलन गर्नका लागि पालिकाले आवश्यक बजेट विनियोजन गरेको उपाध्यक्ष शेर्पाले जानकारी दिए। आवश्यक होमस्टे सञ्चालनका लागि पनि पहल भइरहेको उनको भनाइ छ।