२३ जिल्लामा इलाका प्रशासन कार्यालय खाेल्ने गृहको तयारी

सेवा प्रवाहलाई थप सहज र सरल बनाउन एकै पटक ठूलाे संख्यामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको जनाइएको छ।

काठमाडौँ– सरकारले सेवा प्रवाह सहज बनाउन २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ।

साेमबार बसेको मन्त्रिपरिषद् बैठकले २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापनासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् प्रशासन समितिमा पठाएको छ।

प्रशासन समितिले आवश्यक छलफल गरी कार्यान्वयनका लागि अगाडि बढाउने छ। गृह मन्त्रालय मातहतका जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट हुने सेवा प्रवाहलाई थप सहज र सरल बनाउनका लागि एकै पटक ठूलाे संख्यामा इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो। 

सेवा प्रवाह गर्नुपर्ने क्षेत्रकाे जनसंख्या, भौगोलिक विकटता र पहुँचबीच देखिएको असमानतालाई समाधान गर्न २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्न लागिएको मन्त्रालयले  जनाएको छ।

सेवा प्रवाह गर्नुपर्ने क्षेत्रकाे जनसंख्या, भौगोलिक विकटता र पहुँचबीच असमानता देखिएका ठाउँमा आगामी दिनमा पनि थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने गृह मन्त्रालयको योजना छ।