नेपालसँग अस्ट्रेलियन क्यापिटल टेरिटोरी ४१ रनले पराजित

नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा १३६ रन बनाउँदै अलआउट भयो।

काठमाडौँ– नेपालले पहिलो अभ्यास टी२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई ४१ रनले पराजित गरेको छ।

नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा १३६ रन बनाउँदै अलआउट भयो। उसका लागि जेक स्मिथले ५० तथा जाक के‌घले २५ रन बनाए। काइ ब्रंकर २६ रनमा अविजित रहे।

नेपालका लागि सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए। करण केसीले २ तथा कुशल भुर्तेल र रुपेश सिंहले समान १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १७७ रन बनाएको थियो।

नेपालका आसिफ शेखले सर्वाधिक ६९ रन बनाए। उनले ३८ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। कप्तान रोहित पौडेलले ३६ तथा आरिफ शेखले २४ रनको योगदान दिए।