गाजामा जारी नरसंहार अन्त्य र अपहरित नागरिकको रिहाइको माग

इजरायली सरकारको नीतिअनुसार राहत सामग्री लिएर गाजा प्रवेश गर्न आएका सवारी साधनलाई रोकिएको र यसै कारण संयुक्त राष्ट्रसंघले गाजालाई अनिकालग्रस्त क्षेत्र घोषणा गरेको जनाइएको छ।

काठमाडौँ– गाजामा भइरहेको इजरायली आक्रमण र बढ्दो मानवीय संकटको अन्त्य गर्न नागरिक समाजका सदस्यले माग गरेका छन्।

इजरायली सरकारले गाजामा थालेको सैनिक आक्रमणबाट अहिलेसम्म ७० हजारभन्दा बढी प्यालेस्टिनी मारिएको सदस्यहरूले जारी गरेको संयुक्त वक्तव्यमा दाबी गरिएको छ। वक्तव्यमा समाचार स्रोतलाई उदृत गर्दै मृत्यु भएका ८० प्रतिशत सामान्य नागरिक भएको, जसमा करिब ६० प्रतिशत महिला, बालबालिका र ज्येष्ठ नागरिक रहेको उल्लेख गरिएको छ। 

“मृत्युबाट बच्न सफल भएका बालबालिकासहित हजारौँ नागरिक भोकमरी र कुपोषणका कारण अकालमा ज्यान गुमाउन बाध्य भइरहेका छन्,” वक्तव्यमा भनिएको छ। इजरायली सरकारको नीतिअनुसार राहत सामग्री लिएर गाजा प्रवेश गर्न आएका सवारी साधनलाई रोकिएको र यसै कारण संयुक्त राष्ट्रसंघले गाजालाई अनिकालग्रस्त क्षेत्र घोषणा गरेको जनाइएको छ।

राहत सामग्रीलाई तत्काल गाजा प्रवेश गराउन, हिंसात्मक द्वन्द्वलाई शान्तिपूर्ण तरिकाले अन्त्य गर्न र हमासले अपहरणमा पारेका सबै निर्दोष नागरिकलाई अविलम्ब रिहाइ गर्न माग गरिएको छ।