अनलाइन जुवा खेलाएको आरोपमा १ जना पक्राउ

उनको कोठाबाट नेपाली रुपैयाँ ९१ लाख पचास हजार, ११ वटा मोबाइल सेट, पैसा गन्ने मेसिनलगायत वस्तु बरामद गरिएको छ।

काठमाडाैँ– अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–२ का २६ वर्षीय गाैरव स्याङताङ रहेको काठमाडाैँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

कोठा भाडामा लिई अनलाइन जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा उनलाई ललितपुर महानगरपालिका–४ शान्तिकुना मार्गबाट सोमबार पक्राउ गरिएको हो। खानतलासीका क्रममा उनको कोठाबाट नेपाली रुपैयाँ ९१ लाख पचास हजार, ११ वटा मोबाइल सेट, आईप्याड, ल्यापटप, पैसा गन्ने मेसिन, तौल गर्ने तराजु  र गाँजा जस्तो देखिने १ केजीबराबरको वस्तु बरामद गरिएको प्रहरीले जनाएको छ।

अहिले उनीमाथि थप अनुसन्धान भइरहेको छ।