हीरा उत्पादक देश बोत्सवानामा स्वास्थ्य आपतकाल

राष्ट्रपति डुमा बोकोले सरकारी कोषको अभाव र संयुक्त राज्य अमेरिकाबाट आएको सहायतामा भारी कटौतीका कारण राष्ट्रिय चिकित्सा आपूर्ति शृंखला भत्किएको बताएका छन्।

राष्ट्रपति डुमा बोको

काठमाडाैँ– दक्षिण अफ्रिकी देश बोत्सवानाले सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

स्वास्थ्य तथा कल्याण मन्त्रालयले यस महिनाको शुरूमा निजी स्वास्थ्य सुविधा र आपूर्तिकर्ताहरूलाई ७५ मिलियन डलर तिर्न बाँकी रहेकोले प्रणाली 'गम्भीर तनावपूर्ण' रहेको चेतावनी दिएपछि त्यहाँका राष्ट्रपतिद्वारा सोमबार यस्तो घोषणा भएको हो।

राष्ट्रपति डुमा बोकोले सरकारी कोषको अभाव र संयुक्त राज्य अमेरिकाबाट आएको सहायतामा भारी कटौतीका कारण राष्ट्रिय चिकित्सा आपूर्ति शृंखला भत्किएको बताएका छन्।

"केन्द्रीय मेडिकल स्टोरहरूद्वारा सञ्चालित चिकित्सा आपूर्ति शृंखला असफल भएको छ," राष्ट्रपति बोकोले सोमबार टेलिभिजन सम्बोधनमा भने, "यो असफलताले देशभरि स्वास्थ्य आपूर्तिमा गम्भीर अवरोध पुर्‍याएको छ।"

उच्च रक्तचाप, क्यान्सर, मधुमेह, क्षयरोग, दम, मानसिक र यौन स्वास्थ्य लगायत विभिन्न रोगहरूको लागि औषधिको अभाव भएको छ। वैकल्पिक शल्यक्रियाहरू स्थगित गरिएका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयले अत्यावश्यक साधान जस्तै ड्रेसिङ, मल्हम, शल्यक्रिया गर्ने धागा आदिको समेत अभाव रहेको जनाएको छ।

अर्थ मन्त्रालयले पहिले नै खरिदका लागि आपतकालीन कोषमा १८.७ मिलियन डलर अनुमोदन गरिसकेको बोकोले बताए। साथै, उनले सेनाले आपतकालीन औषधि वितरणको निरीक्षण गर्ने र पहिलो ढुवानी राजधानी गाबोरोनबाट तुरुन्तै पठाइने र प्राथमिकतामा रहेका ग्रामीण क्षेत्रहरूलाई प्राथमिकता दिइने बताए।

विश्वको सबैभन्दा ठूलो हीरा उत्पादक देशहरूमध्ये एक भए पनि अन्तर्राष्ट्रिय हीरा बजारमा आएको गिरावटले देशको अर्थतन्त्रमा नराम्रो असर परेको बताइएको छ।

२५ लाख जनसंख्या भएको बोत्सवाना विश्वको सबैभन्दा ठूलो हीरा उत्पादक देशहरू मध्ये एक हो। तर अन्तर्राष्ट्रिय हीरा बजारमा आएको गिरावटले देशको अर्थतन्त्रमा नराम्रो असर परेको छ।

सन् १९६६ मा बेलायतबाट स्वतन्त्रता पाएलगत्तै पत्ता लागेको यसको विशाल हीरा भण्डारले देशको विदेशी आम्दानीको लगभग ८० प्रतिशत हिस्सा ओगटेको छ। तर हालैका वर्षहरूमा बिक्री कमजोर भएसँगै त्यहाँको सरकार नगद अभावमा परेको छ।