नेप्से परिसूचकमा सामान्य अंकको सुधार

आज परिसूचक ४.८३ अंकले बढेर २,७६६.०९ बिन्दुमा कायम भएको हो।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। मंगलबार परिसूचक ४.८३ अंकले बढेर २,७६६.०९ बिन्दुमा कायम भएको हो।

आज ३२२ कम्पनीको ९२ लाख ४३ हजार २३२ कित्ता शेयर ४५ हजार ११६ पटक खरिदबिक्री हुँदा ४ अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा लगानी समूह ०.१०, उत्पादन तथा प्रशोधन ०.६८, लघुवित्त ०.४८ र निर्जीवन बीमा समूह ०.१० प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। बैंकिङ ०.१४, विकास बैंक ०.९६, वित्त ०.१२, होटल तथा पर्यटन ०.१७, जलविद्युत् ०.०७ र जीवन बीमा समूह ०.०६ प्रतिशतले बढेको छ। त्यस्तै, म्युचुअल फन्ड ०.१३, व्यापार ०.११ र अन्य समूह १.४२ प्रतिशतले बढेको छ।

विकास हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने कुमारी सबल योजनाको शेयर मूल्य ३.६६ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ४८ करोड ९५ लाख ७८ हजार २२४ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन ८०–२० को छ लाख ५२ हजार ८२ कित्ता शेयर किनबेच भएको छ।