उत्तरी डेनमार्कको आर्हस खाडीको पानीमुनि पुरातत्त्वविद्हरूले ८ हजार ५०० वर्षअघि बढ्दो समुद्री सतहले डुबाएको तटीय बस्तीको प्रमाण पत्ता लगाएका छन्।
उत्तरी डेनमार्कको आर्हस खाडीको नीलो गहिरो पानीमुनि पुरातत्त्वविद्हरूले ८ हजार ५०० वर्षअघि बढ्दो समुद्री सतहले डुबाएको तटीय बस्तीको प्रमाण पत्ता लगाएका छन्।
गोताखोरहरूले डेनमार्कको दोस्रो ठूलो शहर आर्हस नजिकैको समुद्री सतहबाट करिब ८ मिटर (२६ फिट) तल पाषाण युगको बस्तीका अवशेष संकलन गरेका थिए। छ वर्ष लामो अन्तर्राष्ट्रिय परियोजनाको हिस्साका रूपमा रहेको यो उत्खनन करिब एक करोड ५५ लाख डलर लागतको हो।
यस परियोजनामा युरोपेली संघ (ईयू)को आर्थिक सहयोग रहेको छ। परियोजनामा आर्हसका साथै बेलायतको ब्राडफोर्ड विश्वविद्यालय र जर्मनीको लोअर स्याक्सनी इन्स्टिच्युट फर हिस्टोरिकल कोस्टल रिसर्चका विज्ञहरू समेत सहभागी छन्।
परियोजनाको मुख्य उद्देश्य डुबेका उत्तरी युरोपेली भू–दृश्यहरूको खोजी गर्नुका साथै समुद्री पूर्वाधार विस्तारसँगै हराएका मेसोलिथिक बस्तीहरू उजागर गर्नु हो।

अन्तिम हिमयुगपछि समुद्री सतह क्रमशः बढ्दै गएको थियो। पुरातत्त्वविद् पिटर मो एस्ट्रपका अनुसार अहिलेसम्म पाषाण युगका बस्तीहरूको अधिकांश प्रमाण तटदेखि भित्री क्षेत्रमा फेला परे पनि यो बस्ती भने पुरानो तट रेखामै अवस्थित थियो।
उनी भन्छन्, “यहाँ हामीले वास्तविक पुरानो तटरेखा पाएका छौँ। हामीसँग सिधै समुद्र किनारामा बसोबास गरेको बस्तीको प्रमाण छ। हाम्रो उद्देश्य त्यतिबेलाको तटीय जीवन कस्तो थियो भन्ने बुझ्नु हो।”
हिमयुगपछि बरफका पत्रहरू पग्लिँदा समुद्रको सतह तीव्र गतिमा बढेको थियो। करिब आठ हजार पाँच सय वर्षअघि समुद्री सतह प्रति शताब्दी करिब दुई मिटरले बढेको थियो।

बढ्दो समुद्री सतहले त्यसबेलाको जीवनशैलीलाई ‘टाइम क्याप्सुल’ जस्तै संरक्षित गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ।
प्रारम्भिक उत्खननमा जनावरको हड्डी, ढुंगाका औजार, तीरका टाउका, सिलका दाँत र काम गरिएको काठका टुक्रा फेला परेका छन्। सम्भावित भविष्य विश्लेषणका लागि उनीहरूले पानीमुनि प्रयोग हुने विशेष भ्याकुम उपकरणमार्फत मिटर–मिटरको हिसाबले सामग्री संकलन गरिरहेका छन्।
शोधकर्ताहरूलाई आगामी उत्खननमा हर्पुन, माछा मार्ने काँटी तथा माछा मार्ने संरचनाका निशान भेटिने आशा छ।
“यो वास्तवमै टाइम क्याप्सुल हो। जब समुद्री सतह बढ्यो, अक्सिजनविहीन वातावरणमा सबै सामग्री सुरक्षित रहे,” मो एस्ट्रप भन्छन्, “हामीले राम्ररी संरक्षित काठ पाएका छौँ। हामीले हेजेलनटजस्ता बीउ पाएका छौँ। सबै कुरा उत्कृष्ट अवस्थामा छन्।”
हाल आर्हसको तुलनात्मक शान्त र सुरक्षित खाडीमा उत्खनन भइरहेका छन्। आगामी चरणमा जर्मनीको तट र उत्तर सागरका दुर्गम दुई स्थानमा थप उत्खनन गर्ने योजना छ।
हजारौँ वर्षअघि समुद्री सतह बढ्दा, ‘डोगरल्यान्ड’ भनिने विशाल भू–भाग समुद्रले डुबायो। यो भू–भागले बेलायतलाई महाद्वीपीय युरोपसँग जोड्थ्यो, तर अहिले दक्षिणी उत्तर सागरमुनि डुबेको छ।
समुद्री सतह वृद्धिको इतिहास बुझ्न अनुसन्धानकर्ताहरूले डेन्ड्रोक्रोनोलोजी अर्थात् रूखका रिङहरूको अध्ययन गरिरहेका छन्। माटो र समुद्री पिँधका थिग्रेनीका रूपमा सुरक्षित डुबेका रूखका स्टम्पहरूले तटीय जंगल कहिले डुबायो भन्ने ठ्याक्कै बताउँछ।
मोस्गार्ड संग्रहालयका डेन्ड्रोक्रोनोलोजिस्ट जोनास ओग्डल जेन्सेन भन्छन्, “यी रूखहरू तटरेखामा कहिले मरे भन्ने कुरा हामी ठ्याक्कै भन्न सक्छौँ। यसले समयसँगै समुद्री सतह कसरी परिवर्तन भयो भन्ने स्पष्ट पार्छ।”
आज विश्वले जलवायु परिवर्तनका कारण समुद्री सतह वृद्धिको चुनौती सामना गरिरहेको अवस्थामा, यी पाषाण युगीन उत्खननहरूले त्यतिबेलाका समाजहरूले बदलिँदो तटरेखासँग कसरी जुझिरहेका थिए भन्ने विषयमा प्रकाश पार्ने अपेक्षा गरिएको छ।
संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार सन् २०१३ देखि सन् २०२३ को अवधिमा समुद्रको सतह विश्वव्यापी औसत ४.३ सेन्टिमिटर (१.७ इन्च) ले बढिसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
