बाढीपहिरोले देशभरका नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

बाढीले बेलिब्रिज बगाएपछि साउन ६ यता तमोर करिडोरको चतुरा–मुलघाट–माझीटार–अमरापुर डाँडा–गणेशचोक सडकखण्ड पनि अवरुद्ध छ।

बाढीपहिरोले देशभरका नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
फाइल तस्वीर

काठमाडौँ– अविरल वर्षापछिको बाढीपहिरोका कारण देशभरका विभिन्न नौ सडकमा आवतजावत पूर्ण अवरुद्ध भएका छन्। विभिन्न १५१ सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको सडक विभागले जनाएको छ। 

मुलुकभरका ३७१ सडकखण्डमध्ये २११ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा रहेको सडक विभागका सूचना अधिकारी अमितकुमार शर्माले जानकारी दिए। बाढी, पहिरो, डुबानले सडकमा क्षति पुग्नु, सवारी साधन आवतजावतमा समस्या हुनु, पुल बगाउनु, पुल तथा सडक निर्माण, अन्य मर्मतलगायत कारण सडक अवरुद्ध भएको उनको भनाइ छ। 

“कतिपय स्थानमा अझै पनि बाढी, पहिरोका कारण मर्मत हुन सकेको छैन। कतिपय स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ,” उनले भने।

विभागका अनुसार यही असार २४ गते हिमताल फुटेर चीनबाट आएको बाढीका कारण गल्छी,त्रिशुली–मैलुङ–स्यापुबेशी–रसुवागढी सडकखण्ड अझैसम्म पूर्ण रूपमा अवरुद्ध छ। हुम्लाको पैमा नदीमा पानीको बहाव बढिरहेको कारण कर्णाली करिडोर दक्षिण खण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ।

पानीको बहाव बढिरहेको र पुल निर्माण भइरहेको कारण उत्तर–दक्षिण कोशी राजमार्ग पनि अवरुद्ध छ। साउन ६ गते बेलिब्रिज बाढीले बगाएका कारण तमोर करिडोरको चतुरा–मुलघाट–माझीटार–अमरापुर डाँडा–गणेशचोक सडकखण्ड पनि अवरुद्ध रहेको विभागले जनाएको छ।

तातोपानी–टिमुरेस्थित ठोरी–रसुवागढी सडक पनि अवरुद्ध भएको र हाल पहिरो पन्छाउने काम भइरहेको छ। विभागका अनुसार पश्चिम रुकुमको भेरी करिडोर अन्तर्गत छिन्चु–मरिम सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको र लेदो पहिरो पन्छाउने काम भइरहेको छ।

“रोल्पाको शहिद राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ। वर्षा रोकिएपछि मात्रै पहिरो पन्छाउने काम हुनेछ,” विभागले भनेको छ, “दैलेखको सुर्खेत–तल्लो डुगेश्वर–जुम्ला सडकखण्ड समेत लगातार सुक्खा पहिरो खसिरहेकाले राति बाटो बन्द हुने र दिउँसो सुचारु हुने काम भइरहेको छ। अरनिको राजमार्गको सिन्धुपालचोकस्थित सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।”