कथा

आँधीको संघारमा

साँझ पर्‍यो। मिराले आफ्नो ‘उत्कृष्ट’ सेल्फी सामाजिक सञ्जालमा पोस्ट गरिन्, जसमा उनले ‘आजको सुन्दर मुड’ भनेर क्याप्सन लेखेकी थिइन्। केही मिनेटमै लाइक र कमेन्टको ओइरो लाग्यो।

मिठो मुस्कान, सधैँ नयाँ सारी र चुस्त बोलीवचनले शोभायमान हुन्थिन् मिरा। उनी जहाँ जान्थिन्, केन्द्रविन्दुमा हुन्थिन्। आत्मप्रशंसा गर्दै अरूलाई वशीभूत गर्ने उनमा अदम्य क्षमता थियो।

उनको घर ललितपुरको एउटा आधुनिक अपार्टमेन्ट। उनी अपार्टमेन्टको सोफामा खुट्टामाथि खुट्टा राखेर बसेकी थिइन्। नजर मोबाइलको स्क्रिनमा होइन, मोबाइलको अगाडिपट्टि रहेको क्यामेरामा टक्क अडिएको थियो। उनी आफ्नै सेल्फी हेर्दै मुसुक्क मुस्कुराइरहेकी थिइन्, मानौँ उनी संसारकै आठौँ आश्चर्य हुन्। उनको मुहारमा भगवानले स्वयं हातले चित्र कोरेका हुन्।

उनका श्रीमान् खगेन्द्र एउटा बाक्लो किताबमा आँखा गाडेर बसेका थिए। निधारमा गहिरा रेखा प्रष्टै देखिन्थे। 

मिराले लामो श्वास फेरिन् र क्यामेराको फिल्टर परिवर्तन गरिन्। “खगेन्द्र, हेर्नुहोस् त! यो फिल्टरले मेरो अनुहारलाई अझै चम्किलो बनाइदियो, हैन?” उनले उत्साहित हुँदै सोधिन्।

खगेन्द्रले किताबबाट आँखा नउठाइ गम्भीर स्वरमा भने, “मिरा, सौन्दर्य बाह्य आवरणमा होइन, बरु आत्माको गहिराइमा निहित हुन्छ। प्लेटोका अनुसार, वास्तविक सुन्दरता अमूर्त र अपरिवर्तनीय हुन्छ, जुन इन्द्रियले बुझ्ने भौतिक स्वरूपभन्दा पर हुन्छ।”

मिराले आँखा घुमाइन्। “अहो, फेरि शुरू भयो तपाईंको दर्शनशास्त्र! म यहाँ मेरो सेल्फीको कुरा गरिरहेकी छु, तपाईंलाई प्लेटोको आत्मा दर्शनको चिन्ता छ। यो फोटो राम्रो लाग्यो कि लागेन? मात्र यति भन्नु न!”

खगेन्द्रले चश्मा अलिकति तल सारेर मिरालाई हेरे। “राम्रो हुनु र नहुनु भनेको सापेक्षित अवधारणा हो, मिरा। कान्ट भन्छन्– सुन्दरताको अनुभव व्यक्तिगत हुन्छ, तर यसको नैतिक अनिवार्यता सार्वभौमिक हुनसक्छ।”

“ओहो, खगेन्द्र! तपाईं कहिल्यै सीधा कुरा गर्न सक्नुहुन्न, हैन? मलाई त लाग्छ, तपाईंले आफ्नो पीएचडी थेसिस नै मेरो नाममा लेख्नुपथ्र्यो “मिरा एक नार्सिससको आधुनिक प्रतिरूप!” मिराको जवाफ सुनेर राजनीतिशास्त्रका प्राध्यापक खगेन्द्र मुसुक्क हाँसे। “त्यो पनि एउटा राम्रो अध्ययनको विषय हुन सक्छ मिरा। आत्मप्रेम वा नार्सिजम फ्रायडियन मनोविज्ञानको एउटा महत्त्वपूर्ण पाटो हो, जहाँ व्यक्ति आफ्नो अहंलाई अत्यधिक महत्त्व दिन्छ।”

मिरा रिसले मुर्मुरिँदै भनिन्, “तपाईंलाई सधैँ मलाई डाइसेक्ट गर्नु छ, हैन? मलाई त लाग्छ, तपाईंले ऐना हेर्दा पनि दर्शनशास्त्रको सूत्र सम्झनुहुन्छ।”

खगेन्द्रले फेरि किताबमा ध्यान केन्द्रित गर्दै भने, “हो, मिरा। ऐना हेर्दा पनि मैले लाकानको मिरर स्टेजको अवधारणा सम्झन्छु, जहाँ बच्चाले ऐनामा आफ्नो प्रतिबिम्ब देख्दा आफ्नो ‘म’को विकास गर्छ।”

मिराले टाउको समाइन् र भनिन्, “हे भगवान! मलाई बचाउनुस्।”

साँझ पर्‍यो। मिराले आफ्नो ‘उत्कृष्ट’ सेल्फी सामाजिक सञ्जालमा पोस्ट गरिन्, जसमा उनले ‘आजको सुन्दर मुड’ भनेर क्याप्सन लेखेकी थिइन्। केही मिनेटमै लाइक र कमेन्टको ओइरो लाग्यो। अधिकांश कमेन्टमा ‘ब्युटीफुल’, ‘गर्जियस’, ‘लुकिङ स्टनिङ’ जस्ता शब्दहरू थिए।

मिराले प्रत्येक कमेन्टलाई ध्यानपूर्वक पढिन् र मनमनै मुस्कुराइन्। एउटा कमेन्टमा कसैले लेखेको थियो, “मिराजी, तपाईंको सुन्दरताले त पूरै ब्रह्माण्डलाई चकित पार्छ।”

मिराको अनुहारमा एउटा ठूलो मुस्कान छायो। उनले खगेन्द्रलाई बोलाइन्। मोबाइल उनकै अगाडि राखिदिन् र भनिन्, “हेर्नुस् त, मान्छेहरूले के भनिरहेका छन्!” 

लेखिरहेका खगेन्द्रले ल्यापटपबाट टाउको उठाएर एक नजर हेरे। “हो, प्रशंसा राम्रो हो, मिरा। तर सुकरातले भनेका छन्– अज्ञानीको प्रशंसाभन्दा ज्ञानीको आलोचना बढी मूल्यवान हुन्छ।” 

“तपाईं त सधैँ यस्तै कुरा गर्नुहुन्छ,” मिराले मुख बिगार्दै भनिन्।

खगेन्द्रले गम्भीर हुँदै भने, “मिरा, यो डिजिटल युगको प्रशंसा क्षणिक हुन्छ। यो यस्तो भ्रम हो, जसले हामीलाई वास्तविक आत्ममूल्यबाट टाढा राख्छ। हामीलाई लोकप्रियताको पछाडि दौडाउँछ, जुन एउटा अनन्त दौड हो।”

मिराले उनको कुरामा ध्यान दिइनन्। उनले एउटा लाइभ भिडियो शुरू गरिन्। “हेल्लो एभ्रिवन, थ्यांक यू सो मच फर योर लभ एन्ड सपोर्ट। मलाई थाहा छ, म सुन्दर छु। तर तपाईंहरूको मायाले मलाई अझै सुन्दर बनाउँछ।”

खगेन्द्रले टाउको समाए। उनलाई लाग्यो– उनी कुनै अज्ञात गुफामा दर्शनशास्त्रको व्याख्या दिइरहेका छन्, जहाँ कोही सुन्नेवाला छैन। उनले आफ्नो ल्यापटपमा ‘उत्तरआधुनिक समाजमा आत्ममुग्धताको विमर्श’ शीर्षकको लेख लेख्न थाले।

मिराले भिडियोमा आफ्ना प्रशंसकहरूलाई धन्यवाद दिँदै थिइन्, “तपाईंहरू सबै मेरो जीवनका ताराहरू हुनुहुन्छ।”

खगेन्द्रले ल्यापटपमा लेखे, “बास्तवमा, हामी सबै आफ्नै अस्तित्वका कैदी हौँ, जहाँ एकथरी आफ्नो प्रतिबिम्बको पूजा गर्छन्, अर्काथरी त्यस प्रतिबिम्बको दार्शनिक व्याख्यामा अल्झिन्छन्। तर दुवैको नियति एउटै हुन्छ एक्लोपन।”

मिराले भिडियो बन्द गरिन् र खुशी हुँदै सोधिन्, “खगेन्द्र, तपाईंलाई लाग्छ कि म कुनै अभिनेत्रीभन्दा कम छु?”

खगेन्द्रले ल्यापटप बन्द गरेर आकाशतिर हेरे। उनको दर्शनशास्त्रको ज्ञान यो आधुनिक संसारमा केवल हास्यास्पद लाग्ने एउटा पुरानो कथा मात्र हो। उनले एउटा लामो श्वास फेर्दै बिस्तारै भने, “एरिस्टोटलले भनेका थिए– जीवनको उद्देश्य सुख हो। शायद मिराको सुख उनको सुन्दरता र त्यसको प्रशंसामा छ। र मेरो सुख, यसैको विश्लेषणमा।”

त्यो रात  मिरा र खगेन्द्र छिमेकीको पार्टीमा बोलाइएका थिए। हलमा छिर्नेबित्तिकै मिराको आँखाले चारैतिर स्क्यान गर्‍यो। “खगेन्द्र, हेर्नुस् त कसैले पनि राम्रो लुगा लगाएका रहेनछन्। यस्तो लाग्छ, उनीहरू सिधै बजारबाट आएका हुन्,” उनले फुस्फुसाइन्।

खगेन्द्रले मुसुक्क हाँस्दै टाउको मात्र हल्लाए। जम्काभेट भएकी साथीले मिरालाई भनिहालिन्, “मिरा, तपाईंको सारी त कति राम्रो! नयाँ हो?” मिराको अनुहारमा एउटा सन्तुष्टिको मुस्कान छायो।

“अहँ, यो त मैले १० वर्षअघि किनेको हो। तर म यति वेल–मेन्टेन्डु छु नि, जे लगाए पनि नयाँ जस्तै देखिन्छ। के गर्ने, भगवानले यस्तै बनाइदिएपछि,” उनले आफ्नो सारीको पट्टी मिलाउँदै भनिन्। 

खगेन्द्र कोठाको अर्को कुनामा गएर एकजना आफन्तसँग कुरा गर्न थाले। “खगेन्द्र, यता आउनुस्। तपाईं मसँग नभएको बेला सबैले मलाई हेरिरहेका छन्। उनीहरूलाई लाग्ला कि म एक्लै आएकी हुँ,” मिराले हातै समाएर तान्न खोजिन्।

खगेन्द्र चुपचाप उठे। मिराको छेउमा गएर उभिए। हर ऐनमौकामा मिरा खगेन्द्रलाई भन्ने गर्थिन्– यो पैसा सबै मेरो भाग्यले गर्दा तपाईंले कमाउनुभएको हो। म नभएको भए तपाईं को हुनुहुन्थ्यो? शून्य! तपाईंको सारा सफलताको पछाडि मेरो प्रेरणा र मेरो सुन्दरता छ। मैले तपाईंलाई समाजमा प्रेजेन्टेबल बनाएकी छु। नत्र को हेर्थ्यो तपाईंलाई? 

खगेन्द्रले हार खाए। उनलाई थाहा थियो, यो बहसमा उनको जित असम्भव छ। मिराको तर्कशास्त्र आफ्नै ब्रह्माण्डमा चल्थ्यो, जहाँ उनी नै केन्द्र थिइन् र अरू सबै ग्रह, उपग्रह मात्र।

मिरा जुनसुकै ठाउँमा पुग्दा आफ्नो लागि रेड कार्पेट देख्थिन्। चोकको चिया पसल होस् या मामा घरको भोज— उनी नहुन्, त्यो जमघट अधुरो। उनको बाल्यकालको सपना थियो– सारा संसारले मलाई नियालिरहेको होस्। त्यो सपना उनले फोनमा कुरा गर्दा अनि, कसैको कुरा काट्दा पनि पूरा गर्छिन्, मेसेन्जर लाइभ खोलेर!

खगेन्द्रलाई बानी परेको छ, हरेक दिन एउटा दर्शनको पाठ पढाउने अनि बेलुका मिराको ‘नयाँ सन्देश’ सुन्ने। त्यो सन्देश ‘म आज कति राम्री देखिएको छु, होइन?’ बाट शुरू भएर, ‘मानिसहरू मलाई नहेरी कहाँ जान सक्छन् र?’ सम्म जान्छ। उनलाई छिमेकीले ‘एपिसोड आन्टी’ नाम नै राखेका थिए। आज माया महोत्सव, भोलि बर्थडे डान्स, पर्सि गाडीको बोनटमा फोटोसुट। 

खगेन्द्रले हार माने, उनको पुस्तक ‘लोकतन्त्र र अहंकारबीचको द्वन्द्व’मा नयाँ अध्याय थपे– मीरातन्त्र।

मीराले ‘किटी पार्टी’ समूह बनाएकी थिइन्। उनले आफूलाई समूह नेता साबित गरिसकेकी थिइन्। एकदिन उनको घमण्डका कारण समूह विखण्डित भयो। उनी अरूको आवाज सुन्न सक्दिनथिन्। अरूको दृष्टिकोण अव्यवस्थित लाग्थ्यो। तर उनको जीवन बाहिर देखिएजस्तो थिएन।

उनका हाँसोहरू बनावटी थिए। फेसबुक पोस्टहरू खुशीका अनुहार थिए, तर मनभित्र भयावह एकान्त थियो। आफ्नै बनाएको सीमाभित्र थुनिएकी थिइन्, जहाँ अरूका भावना, माया र मित्रता पुग्नै सक्दैन थिए।

“खगेन्द्र, फेरि त्यही थोत्रो कुर्ता लगाएर जानुभयो? लाज लाग्दैन? अरू प्राध्यापकहरू कति चिटिक्क परेर हिँड्छन्,” बिहान कलेज जाने बेला मिराले टोकसिहाल्थिन्। 

खगेन्द्रले आफ्नो कालो चस्मा मिलाउँदै भन्थे, “मिरा, एउटा प्राध्यापकको पहिचान उसको ज्ञानले हुन्छ, कपडाले होइन। महात्मा गान्धीले पनि साधारण जीवनशैली अपनाएका थिए।”

“अहो, फेरि शुरू भयो तपाईंको गान्धी पुराण! तपाईंलाई म एउटा सुझाव दिन्छु, राजनीतिशास्त्र छोडेर फेसन डिजाइनिङ पढ्नुस्। कम्तीमा मेरो स्तरको त हुनुहुन्थ्यो,” मिरा व्यंग्य गर्थिन्। खगेन्द्र चुपचाप हुन्थे।

उनीहरूका दुई सन्तान थिए, आशुतोष र आद्या। आशुतोष कक्षा १० मा पढ्थे, आद्या ८ मा। खगेन्द्र उनीहरूको पढाइमा गम्भीर थिए। मिरालाई आफ्नो सामाजिक प्रतिष्ठाको बढी चिन्ता थियो।

एकपटक आशुतोषले विज्ञानमा कम अंक ल्याए। खगेन्द्रले उनलाई सम्झाउँदै भने, “बाबु, जीवनमा सफलता पाउन ज्ञान महत्त्वपूर्ण हुन्छ। यो कार्ल माक्र्सको वर्ग संघर्ष जस्तै हो, जहाँ तिमीले आफ्ना कमजोरीहरूसँग लड्नुपर्छ।”

तर मिराको प्रतिक्रिया बिल्कुलै फरक थियो। “के पढ्छस् तँ? यस्तो नम्बर ल्याएर तेरो भविष्य के हुन्छ? यस्तो पाराले त तँ चियापसल खोल्न पनि लायक छैनस्। अरूका छोरो विदेश जाने तयारी गर्दै छन्, तैँले के गरिरहेको छस्?”

मिराको वचनले आशुतोषको मन कुँडियो।

आद्या चित्रकलामा राम्रो थिइन्। तर मिरा उनलाई सधैँ डाक्टर बन्न दबाब दिन्थिन्। “चित्रकलाले पेट पाल्दैन, आद्या! डाक्टर बन्। नाम कमा, इज्जत कमा।

अनि म साथीभाइलाई भन्न सक्छु– मेरी छोरी डाक्टर  हो,” मिरा भन्थिन्।

खगेन्द्रले आद्यालाई सम्झाउँदै भने, “छोरी, तिमीलाई जेमा रुचि छ, त्यही गर। कला पनि एउटा महत्त्वपूर्ण विषय हो। मानिसको आत्मअभिव्यक्तिको स्वतन्त्रता नै लोकतन्त्रको आधार हो।”

तर मिराले उनको कुरा काट्दै भनिन्, “तपाईंको लोकतन्त्रले कसैको पेट भर्दैन। यहाँ व्यवहारिक हुनुपर्छ, व्यवहारिक! तपाईंले गर्दा नै मेरा छोराछोरी बिग्रिए।”

खगेन्द्र निरीह देखिए। जतिसुकै लोकतन्त्र र स्वतन्त्रताका कुरा गरे पनि, आफ्नै घरमा भने उनी एउटा सानोतिनो तानाशाही शासन अन्तर्गत बाँचिरहेका थिए।

मिराको लगातारको हस्तक्षेपले आशुतोष र आद्याको पढाइमा प्रत्यक्ष असर पर्न थाल्यो। आशुतोषलाई विज्ञानमा रुचि थिएन, तर मिराको दबाबले रातभर किताब घोक्न बाध्य थिए। परिणामस्वरूप उनी झन् कमजोर हुँदै गए।

आद्याले चित्रकला छोडेर विज्ञान पढ्न थालिन्। तर उनको मन नै लागेन। दुवैको पढाइमा रुचि घट्दै गयो। उनीहरू निराशातर्फ धकेलिन थाले।

एक दिन खगेन्द्रले मिरालाई सम्झाउने प्रयास गरे, “मिरा, तिम्रो यस्तो व्यवहारले छोराछोरीको भविष्य बर्बाद हुँदै छ। उनीहरूलाई आफ्नै रुचिअनुसार पढ्न दिनुपर्छ।”

मिराले हाँस्दै भनिन्, “तपाईंको रुचिअनुसार चलेको भए त हामी अहिलेसम्म सडकमा हुन्थ्यौँ। मेरा छोराछोरीलाई कसरी हुर्काउने भन्ने कुरा मलाई थाहा छ। तपाईं आफ्नो लोकतन्त्रको भाषण बिश्व बिद्यालयमा  मात्र दिनुस्।”

मिराले आफ्नो सामाजिक सञ्जालमा छोराछोरीबारे पनि पोस्ट गर्न थालिन्। “मेरो छोरा भविष्यमा इन्जिनियर र, छोरी डाक्टर बन्नेछ।”

आशुतोष र आद्यालाई यी कुराहरूले झनै तनाव दिन्थ्यो। उनीहरू आफ्नो आमासँग कुरा गर्न पनि डराउन थाले। खगेन्द्रले उनीहरूको निराशा महसुस गर्थे, तर उनी पनि मिराको अगाडि लाचार थिए।

एक साँझ, खाना खाने बेलामा खगेन्द्रले आशुतोषलाई सोधे, “बाबु, तिमीलाई भविष्यमा के बन्ने इच्छा छ?”

आशुतोषले डराउँदै मिरातिर हेरे र बिस्तारै भने, “बुवा, मलाई त कम्प्युटर इन्जिनियर बन्न मन छ।”

मिराले तुरुन्तै कुरा काटिन्, “चुप लाग। मैले तिमीलाई इन्जिनियर बन्न भनेको छु, इन्जिनियर!”

आद्याले पनि आफूलाई चित्रकलामा रुचि भएको बताइन्, मिराले उनलाई पनि हप्काइन्।

खगेन्द्रले देखे, उनका छोराछोरीका सपनाहरू आमाको अहंको भट्टीमा जल्दै थिए। उनले धेरै वर्षसम्म राजनीतिशास्त्रका सिद्धान्तहरू पढाएका थिए– स्वतन्त्रता, समानता, न्याय। तर आफ्नै घरमा यी सबै सिद्धान्त अर्थहीन थिए।

अन्त्यमा, आशुतोषले पढाइ छोडे र घरबाट भागे। आद्याले पनि पढाइमा ध्यान दिन सकिनन् र शैक्षिक करियरमा पूर्णविराम लाग्यो। मिरा भने सामाजिक सञ्जालमा आफ्ना झूटा सपनाबारे लेख्दै थिइन् र उनका फलोअर्सहरूले अझै प्रशंसा गरिरहेका थिए।