सत्यमोहनको परिकल्पनामा बनेको ‘एनिमेटेड’ फिल्म– जय लाखे

सत्यमोहन जोशीसँग संयुक्त श्रेष्ठको संयोगको भेटले जन्मिएको एनिमेटेड फिल्म हो जय लाखे। संयुक्तलाई फिल्म बनाउनै आठ वर्ष लाग्यो, उनै सत्यमोहनलाई फिल्म देखाउने धोको भने पूरा भएन।

संयुक्त श्रेष्ठ आफ्ना पात्रहरूसँग।

काठमाडौँ– “नेपालले विश्वमाझ दिलाउन (प्रतिनिधित्व गर्न) सक्ने युनिक (नौलो) र मौलिक संस्कृति हुन् कुमारी र लाखे।”

स्व. सत्यमोहन जोशीको त्यो वाणीले संयुक्त श्रेष्ठको मानसपटलमा गाढा छाप छाड्यो। जोशीसँग उनको भेट सन् २०११ मा बेलायतमा भएको थियो।

विश्वभर छरिएका नेवारहरूको छाता संगठन ‘वर्ल्ड नेवाः अर्गनाइनजेसन’ गठनको जमर्कोमा सत्यमोहनसँग भेट भएको थियो। त्यस बेला सत्यमोहन, पद्मरत्न तुलाधर र मानिकलाल श्रेष्ठ बेलायत पुगेका थिए।

सत्यमोहनले संयुक्तको घरमा दुई हप्ता बिताए। ती दिनमा संयुक्तले नेवाः संस्कृति र सभ्यताबारे सत्यमोहनसँग गहिरो मन्थन गरे। “त्यो दुई हप्ता मेरा लागि कुनै विद्यालयमा पढेको अध्ययनभन्दा कम रहेन,” उनी भन्छन्, “उहाँले ३०–३२ वटा किताब ल्याउनु भएको थियो। हामी राति २ बजेसम्म गफिन्थ्यौँ।”

संयुक्त उच्च शिक्षाका लागि सन् २००४ देखि नै बेलायतमा थिए। काठमाडौँमा नेवार समुदायमा जन्मिए पनि उनलाई नेवाः संस्कृतिको खासै ज्ञान थिएन। स्कुले जीवनदेखि अध्ययनमा बढी रुचि राख्ने उनी जात्रा र पर्वमा घुलमिल हुँदैन थिए।

विज्ञान र प्रविधिमा रूचि राख्थे। कम्प्युटर इन्जिनियरिङ उनको अध्ययनको विधा थियो। सन् २००३ मा, इमेज र कान्तिपुर टेलिभिजनको शुरूआती समयमा उनी ती टेलिभिजनको एनिमेसन टिममा आबद्ध थिए।

बेलायत गएको बेला सत्यमोहन जोशी इन्द्रजात्रामा कुमारीको रथअघि नाच्ने मजिपा लाखेबारे अध्ययन गरिरहेका थिए। सोही विषयमा नाटक पनि लेख्दै थिए। सत्यमोहनले त्यस बेला संयुक्तलाई भनेका थिए, “संसारभर मानिसले कुनै न कुनै हिसाबले धर्म मानिरहेका हुन्छन्। हरेक धर्ममा गुण, अवगुण (देवता र राक्षस) प्रवृत्तिबारे उल्लेख छ। तर राक्षस गण मानिने लाखेमा दैवीय गुण हुन्छ। यो युनिक (नौलो) अनि मौलिक परम्परा हो।”

यस क्रममा सत्यमोहनले संयुक्तलाई सुझाव दिए, संस्कृति र प्रविधिको समिश्रण गर्ने। नेपाली संस्कृतिलाई विश्वमाझ चिनाउन एनिमेसन राम्रो ‘प्लाटफर्म’ हुने सत्यमोहनको भनाइ थियो। उनले दिएको सुझाव संयुक्त यसरी सम्झन्छन्, “सबैले पुस्तक पढ्छन् भन्ने हुँदैन। त्यसमा पनि अहिले एउटै समुदाय विश्वभर छरिएका छन्। आफ्नो कलासंस्कृतिबारे किताबै पढेर सबैले बुझ्ने पनि हुँदैनन्। मनोरञ्जनको माध्यम फिल्म एनिमेसन आगामी पुस्ताले रूचाउने क्षेत्र हो।”

nullत्यो सुझावकै कारण जन्मियो ‘एनिमेटेड’ फिल्म जय लाखे। संयुक्तले आठ वर्ष लगाएर बनाएको यो फिल्म भदौ १४ गते प्रिमियर भएको छ। नेपालमा सोही दिन दुइटा शो भयो भने, अन्य केही देशका दर्शकले पनि फिल्म हेर्न पाएका छन्। 

फिल्मको मुख्य निर्माता गुठी अष्ट्रेलिया हो भने, सहनिर्मातामा शैलेन्द्र मानन्धर, समीर महर्जन, अन्जना श्रेष्ठ र लोचन मानन्धर हुन्। फिल्ममा मदनकृष्ण श्रेष्ठ, नगिना जोशी, मनीषकुमार श्रेष्ठ, सुनिता जुनुलगायत कलाकारले स्वर दिएका छन्।

null

लोककथामा ऐतिहासिक प्रसंग
अलौकिक कथा, किंवदन्ती अनि त्यसको जीवित अभ्यासको रूपमा नेवार समुदायका विभिन्न स्थानमा लाखे नाच हुन्छन्। लाखे एकै प्रकारका हुँदैनन्। लाखे कसरी भित्रिए भन्ने प्रमाणिक दस्ताबेज नभए पनि कथा र किंवदन्तीसँगै बाँचिरहेका छन्। 

इन्द्रजात्रामा प्रस्तुत हुने वसन्तपुरस्थित मजिपा लाखेलाई शक्तिशाली लाखेको रूपमा पूजिन्छ। सत्यमोहन जोशीले उनै मजिपा लाखेको किंवदन्ती नाटकमा ढाले। यसबाट फिल्म बनाउन थोरै ‘क्रिएटिभ लाइसेन्स’ (कलाकारको स्वतन्त्रता) लिएको निर्देशक रहेका संयुक्त बताउँछन्।

पटकथालाई रोचक बनाउन नाटकमा भएको ‘लिनियर’ (सरल रेखीय) कथन शैलीलाई ननलिनियर (गैररेखीय) बनाएका छन्। फिल्मको शुरूआतमा वर्तमान लाखेका अनुभवलाई समावेश गरेको उनी बताउँछन्।

अलौकिक कथामा उनले ऐतिहासिक प्रसंग समेत राखेका छन्। यसको श्रेय पनि उनी सत्यमोहन जोशीलाई नै दिन्छन्।

सत्यमोहनसँगको कुराकानीमा निस्किएको सो प्रसंग यस्ता थियो– तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको बेलायत भ्रमणलाई दक्षिण एशियाकै पहिलो कूटनीतिक भ्रमण मानिन्छ। समुन्द्र यात्राको क्रममा नेपालबाट बेलायत गइरहँदा उनी चढेको रूपण जहाज हुरीमा परेर डगमगाउँछ।

भ्रमण टोलीमा रहेका भाजुमान (भाजुमचा) चित्रकारले विघ्नहर्ता मानिने लाखेको आराधना गर्न जंगबहादुरलाई सुझाव दिन्छन्। जंगबहादुरले सो विपद्बाट पार लगाएमा लाखेको मुकुटमा चार वटा हिरा थप्ने भाकल राख्छन्। हुरी शान्त हुन्छ। नेपाल फर्किएर जंगबहादुरले मजिपा लाखेलाई चार वटा हिरा चढाएको कथा अझै प्रचलित छ।

सत्यमोहनको दुई हप्ताको बेलायत बसाइमा संयुक्तले उनीसँग मिलेर सो प्रसंगको खोजबिन गरे। तर समय पर्याप्त भएन। सत्यमोहन नेपालमा बसेर लाखेबारे लेख्न थाले, संयुक्त शोधकार्यका लागि बेलायतका संग्रहालय र पुराना पसल धाउन थाले। 

“अभिलेखमा बेलायत बलियो छ। जंगबहादुरले कहाँबाट, कसका लागि, केके किने सबै अभिलेख राखेको छ,” संयुक्त भन्छन्, “हामीले सक्ने जति प्रामाणिक अभिलेख फिल्ममा राखेका छौँ।”

nullजंगबहादुरको प्रसंगलाई आधिकारिकता दिन उनले बेलायत पुगेका पहिलो नेपाली मोहनलाल सिंह, हेनरी ओल्फिल्डका दुई पुस्तकमा जंगबहादुरबारे लेखिएका साना विषयमा मिहिन ढंगमा केलाएका छन्। फिल्ममा परिकल्पना भए पनि आधिकारिक प्रमाणबाट सूचनामूलक पनि बनाउनुपर्ने सुझाव उनलाई उनै सत्यमोहनले दिएका थिए।

कुनै कामअघि अध्ययन र अनुसन्धान गर्नुपर्ने सुझाव पनि सत्यमोहनकै थियो। संयुक्त भन्छन्, “उहाँले मलाई नयाँ प्रविधिमा काम गर्न सल्लाह मात्र दिनुभएन, सांस्कृतिक विषयमा गहन अध्ययन र शोध पश्चातमात्र काम अघि बढाउन पनि भन्नुभयो। यस्ता अध्ययनले आफ्नो मनोबल बढाउने रहेछ।”

ती आठ वर्ष
फिल्म निर्माण गर्दैगर्दा आठ वर्षसम्म संयुक्तलाई उनका भाइ नियुक्तले साथ दिए। यो अवधिमा शोधकार्यसँगै प्राविधिक काम पनि गर्नुपर्ने थियो। “एनिमेनसमा एक सेकेन्डको दृश्यको लागि सयौँ, हजारौँ चित्र कोरिनु पर्छ। कान्तिपुरमा दिनको एक हजार रूपैयाँमा एनिमेसनको काम गर्थें। यो फिल्म १ घण्टा १५ मिनेटको छ, अनुमान गर्नु न कति समय र चित्र हामीले को¥यौँ होला!” उनी भन्छन्।

null‘त्यसो भए किन सामान्य फिल्मको रूपमा नबनाएको हो?’ यो प्रश्न स्वभाविक हुन्छ। संयुक्त भन्छन्, “एनिमेनस गाह्रो भए पनि यसमा खेल्न प्रशस्त स्थान हुन्छ। पात्रलाई आममानिसबाट लाखे बनाउने, लौकिक अलौकिक शक्तिको अमूर्त संकेत जस्ता विषय समेट्न सहज हुन्छ।”

फिल्मकै लागि उनी बेलाबखत नेपाल आउँथे। नेपाल आउँदा सत्यमोहन जोशीसँग भेटेर फिल्ममा भइरहेको कामबारे सुनाउँथे र प्रतिक्रिया लिन्थे। यस क्रममा उनले तत्कालीन मजिपा लाखे नाच्ने समुदायलाई पनि भेटे।

नाटकको रूपमा पुस्तकमा भएका विषय फिल्ममा राख्दा भने मजिपा लाखे समुदायका कतिपयले प्रश्न उठाए। कारण, मजिपा लाखे समुदायले आफ्नो अस्तित्व कुनै प्रेम प्रसंगमिश्रित किंवदन्तीभन्दा तलेजु भवानीको राक्षसको रूपमा काठमाडौँ उपत्यकामा आएको किंवदन्तीलाई मान्छन्।

यो समुदायका लाखे बन्ने व्यक्तिले सहजकर्ताको भूमिका खेले। उनले फिल्मको नामबाट मजिपा शब्द हटाएर लाखे मात्र राख्न सुझाव दिए। यसले विरोध रोकिने भयो र उक्त समुदायको सहयोग पनि हुने भयो। अनि फिल्मको नाम लाखे हुने भयो।

त्यसपछि फिल्म दर्ताका लागि चलचित्र विकास बोर्ड धाउन थाले। कुनै पुस्तकमा आधारित फिल्म बनाउँदा लेखकको स्वीकृति चाहिन्छ। “अजा (सत्यमोहन) दूरदर्शी हुनुहुँदो रहेछ। उहाँले पहिल्यै मेरो नाममा पुस्तकलाई फिल्ममा उतार्न अधिकार दिनुभएको थियो,” उनी भन्छन्, “उहाँको दूरदर्शिता त्यो दिन थाहा पाएँ।”

nullतर फिल्मको दर्ता प्रक्रिया उनले सोचेजस्तो सजिलो भएन। पुस्तकको नाम फिल्ममा जस्ताको तस्तै हुनुपर्ने जानकारी बोर्डबाट आयो। एकातर्फ मजिपा लाखे नाम राख्न नमिल्ने लाखे समुदायको अडान, अर्कोतर्फ नाम परिवर्तन गर्न नपाइने नियम।

यसक्रममा लेखकबाटै फिल्मको नाम परिवर्तनको लागि स्वीकृति लिएर आउने विकल्प बोर्डले दियो। दिवंगत भएका व्यक्तिको हकमा परिवारका कोही सदस्यले स्वीकृति दिन मिल्ने रहेछ। परिवारबाट त्यस्तो स्वीकृति संयुक्तले पाए।

“अब फिल्मको नाम लाखे मात्रै राखिने भयो भन्ठानेको थिएँ,” उनी भन्छन्, “त्यो नाममा पहिले नै अर्को नेपाली फिल्म दर्ता भइसकेको रहेछ। हाम्रो फिल्ममा रहेको जय लाखे बोलको गीतलाई आधार मानेर अन्ततः जय लाखे नाम राख्यौँ।”

सत्यमोहनसँग संयुक्तको अन्तिम साक्षात्कार सन् २०२२ मा भएको थियो। त्यस बेला क्लासिक ग्यालरीमा सोही फिल्मसम्बन्धी प्रदर्शनी भएको थियो। त्यसलाई फिल्मको खाका मानिएको थियो।

“उहाँ (सत्यमोहन)को निधनको खबरले म केही समय स्तब्ध भएँ। उहाँकै सल्लाहमा थालनी भएको काम उहाँलाई देखाउने ठूलो रहर थियो,” संयुक्त भन्छन्, “तर यो अवधिभर उहाँको साथको अभाव कहिल्यै भएन। उहाँको खाँचो हुने हरेक स्थानमा उहाँले मेरो लागि पहिल्यै सहजता गरिदिई सक्नुभएको रहेछ। यो फिल्म उहाँकै नाममा सुम्पिएँ।”