संरक्षणको पर्खाइमा ऐतिहासिक टक्सार बजार

राणाकालमा यहाँ टकमारीमार्फत बनाइएका एक तोला र दुई तोलाका डोली पैसा चलनमा आएका थिए। टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयको भनाइ छ।

भोजपुर– औद्योगिक, व्यापारिक तथा सांस्कृतिक पहिचान बोकेको भोजपुरको ऐतिहासिक टक्सार बजार अहिले संरक्षणको पर्खाइमा छ। ‘सानो पाटन’को नामले चिनिएको यो बजार बसाइँसराइका कारण सुनसान बनेको छ।

दर्जनौँ धार्मिक एवं सांस्कृतिकस्थल समेटिएको यो बजार क्रमशः जीर्ण हुँदै गएको स्थानीय अम्रिका तामाकार बताउँछन्। “ऐतिहासिक टक्सार बजार नेपालकै गौरव बोकेको स्थल हो,” उनले भनिन्, “तर वर्षैपिच्छे खण्डहर बन्दै गएको छ। यो ऐतिहासिक क्षेत्रको संरक्षणको खाँचो छ।” 

१८७२ देखि १८८७ सालसम्म टक्सारमा डोली पैसा बन्ने गर्थ्यो भन्ने ऐतिहासिक तथ्य छ। तत्कालीन सरकारले १८७० सालदेखि पूर्वीपहाडका जिल्लामा खनिज पदार्थ उत्खनन थालेपछि टक्सारमा अड्डासमेत स्थापना भएको थियो। 

१९९३ सालमा स्थापना भएको शाक्यमुनि विहार, सरस्वती गुफा, अजिमा थान, महेन्द्र पार्क, राधाकृष्ण मन्दिर, गणेश मन्दिर, भीमसेन थान, तीन धारा लगायतका धार्मिकस्थल रहेका छन्। बस्ती घट्दै गएसँगै यी सम्पदा पनि ओझेलमा पर्न थालेको स्थानीय राजकुमार श्रेष्ठ बताउँछन्। 

“टक्सारमा दजनौँ धार्मिक स्थल छन्,” उनले भने, “जुन स्थान पर्यटकको आकर्षणको केन्द्र पनि हुन्। बजार नै जीर्ण बनेकाले यी क्षेत्र ओझेलमा परेका छन्।”

राणाकालमा यहाँ टकमारीमार्फत बनाइएका एक तोला र दुई तोलाका डोली पैसा चलनमा आएका थिए। टक काट्ने पहिलो कालीगढ देवदत्त शाक्य रहेको स्थानीयको भनाइ छ।

२०१३ सालमा तत्कालीन राजा महेन्द्र शाहले टक्सारलाई औद्योगिक क्षेत्रको रूपमा घोषणा गरेका थिए। सो समयमा करिब २००/३०० परिवारको बसोबास रहेको यो बजारमा अहिले बस्ती घट्दै गएको टक्सार बजारको पहिचान जोगाउन संरक्षणसँगै नयाँ बस्ती विस्तारको अवधारणा आवश्यक रहेको श्रेष्ठले बताए।