जसपाले शक्ति बाँडफाँटलाई हेरेर सरकारमा जाने, नजानेबारे निर्णय लिने

जसपाले सरकारको नीति तथा कार्यक्रमलाई अध्ययन गरेर सरकारमा जानेबारे निर्णय लिने भएको छ।

काठमाडौँ– जनता समाजवादी पार्टी, नेपालले शक्ति बाँडफाँटको विषयलाई हेरेर मात्रै सरकारमा जाने, नजाने सम्बन्धमा निर्णय गर्ने भएको छ। जनता समाजवादी पार्टीको मंगलबार बसेको राजनीतिक समितिको बैठकले सरकारमा जाने, नजाने सम्बन्धमा शक्ति बाँडफाँटको विषयलाई केन्द्रमा राख्ने निर्णय गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता मनिष सुमनले शक्ति बाँडफाँटको विषयलाई केन्द्रमा राखेर सरकारमा सामेल हुने अन्यथा बाहिरबाट सरकारको समर्थन गर्ने भन्ने निर्णय हुने बताए। उनले सरकारको नीति तथा कार्यक्रमलाई अध्ययन गरेर मात्र सो निर्णय लिइने पनि स्पष्ट पारे।

त्यसैगरी, बैठकले अन्य राजनीतिक दलसँग पार्टी एकताका लागि वार्ता गर्न पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको छ। जसको सदस्यमा रकम जेमजोङ र गोविन्द चौधरी रहेको प्रवक्ता सुमनले जानकारी दिए।

बैठकले माघ मसान्तभित्र पार्टीमा निष्क्रिय भएका सबै संगठनलाई क्रियाशील बनाउने निर्णय पनि गरेको छ। गत निर्वाचनमा अन्तर्घात गर्नेलाई सम्बन्धित पार्टी समितिले कारबाही गर्ने र संघीय परिषद् र केन्द्रीय समिति सदस्यले अन्तर्घात गरेको सम्बन्धमा छानबिन गर्न शिवलाल थापामगरेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ। जसको सदस्यमा देवबहादुर गुरा, बालकिशोर यादव, अशोक लगरबाग र प्रमिला यादव रहेका छन्।

जसपाले पार्टीको विधान अधिवेशन गर्नका लागि केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा विधान मस्यौदा समिति पनि गठन गरेको छ। जसको सदस्यमा राजेन्द्र श्रेष्ठ, रकम जेमजोङ, सुशीला श्रेष्ठ, शिवलाल थापा मगर, लालबाबु राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर र भगवती सुवेदी रहेको प्रवक्ता सुमनले जानकारी दिए।