५० बर्से साइनो  

‘वेदना’ बन्दै बनेन, ‘वासुदेव’ले चिनाउनु चिनायो [भिडियोसहित]

ध्रुवचन्द्रले लेखेको फिल्म बनाइछाड्ने प्रतिज्ञा लिएका नीरले ‘वेदना’मा पाएको तोडपछि हात पारेका थिए, ‘कट्टेल सरको चोटपटक’। उनले यसमाथि पटकथाको काम पनि थालेका थिए, जुन पछि गएर बन्यो– ‘वासुदेव’।

‘वेदना’ बन्दै बनेन, ‘वासुदेव’ले चिनाउनु चिनायो [भिडियोसहित]
तस्वीर: मनीष पौडेल/उकालो

काठमाडौँ– करिब आधा शताब्दीभन्दा अघिको कुरा हो जुनबेला आजका ख्यातनामा ध्रुवचन्द्र गौतम र नीर शाह लेखक वा कलाकार बनिछाड्ने धुनमा कुदाकुद गर्नैमा व्यस्त थिए। दुवैबीच चिनजान त थियो, तर हाई–हेल्लोमा सीमित।

उबेला नेपालभित्रै मौलिक लेखन, अभिनय तथा निर्देशनमा सिनेमा बन्नुपर्छ भन्ने सपनामा स्थापित चलचित्र संस्थानका हर्ताकर्ता थिए– नीर शाह। गौतम भने त्रिचन्द्र क्याम्पसमा नेपाली विषयका प्राध्यापक थिए र केही उपन्यास तथा नाटक कृति निकालिसकेका अभ्यासरत लेखक पनि। त्यही मौलिक सिनेमा बनाउने धुनमा पहिलो चरणमा छानिएका तीन लेखकमध्ये एक थिए– ध्रुवचन्द्र गौतम र सिनेमा बनाउन लेखाइएको कथा थियो– वेदना!

“वेदनामा सामाजिक चेतसहितका गम्भीर विषय थिए, लागू पदार्थ र अपराध, तस्करी र बिचौलियाको कथा त्यहाँ छ,” कलाकार नीर शाह उकालो संवादमा भन्छन्, “तर, मेरो एकाएक चलचित्र संस्थानबाट सूचना विभागमा सरुवा भयो। अनि ध्रुवचन्द्रको वेदना पनि रोकियो।”     

‘ध्रुवचन्द्रले लेखेको फिल्म बनाइछाड्छु’ भन्ने हुटहुटी र प्रतिज्ञा लिएर हिँडेका नीरले वेदनाको तोडपछि केही अन्तरमा हात पारेका थिए, ‘कट्टेल सरको चोटपटक (२०३७)’। नीरले आफू सूचना विभागमा छँदै यसमाथि केही परिचयात्मक टिपोट र पटकथाको काम पनि थालेका थिए। अनि, लेखक ध्रुवचन्द्रलाई भेटेर सिनेमा बनाउने अठोट सुनाउँदै कथा/पटकथाका लागि अग्रिम १ हजार रुपैयाँ पनि दिएका थिए।

null

“हो नि, नीर शाहजीले मेरो उपन्यासमाथि फिल्म बनाउने भनेर साइनिङ–अमाउन्ट नै हातमा थमाउनुभयो, म छक्कै परेँ, खुशी पनि भएँ,” २०३७ सालको क्षण सम्झँदै ध्रुवचन्द्रले उकालो संवादमा सुनाए, “कस्तो खुशीको क्षण थियो भने हातमा १ हजार रुपैयाँ परेपछि म, नारायण गोपाल, शम्भुजित बाँस्कोटा, विनोद दीक्षितसहित साथीभाइ जमलको मेवा रेस्टुरेन्टमा गएर खानु खाएका थियौँ। त्यति पैसाले पनि नपुगेर उधारोमा पनि खाएका थियौँ।”

⁎ ⁎ ⁎
दशा लाग्नुको पनि शृंखला हुन्छ कि?

२०३७ सालमा शुरू भएको ‘वासुदेव’ सिनेमा निर्माणको योजना २०४१ सालमा पूरा भयो, अनेक तारतम्य मिलाउँदै गर्दा। त्यसमा पनि निर्देशक नीरकै एउटा गीत थियो, विश्वकर्मा पूजामा मजदुरले नाचगान गरेको भाका मिलाउने गीत। गीतमा शब्द थियो, ‘पसिनाको जलैले, मेहनतको मलैले, हामी आफ्नो भाग्य लेख्छौँ, आफ्नै पाखुराको बलैले...’

“अब भयो त? यो गीतको सेन्सरै पास भएन, क्रान्तिकारी गीत भएको आरोप लाग्यो,” निर्देशक नीर आफ्नो जीवन्त लवजमा सुनाइरहेका छन्, “जेजसो गरे पनि गीत त रोकिने नै भयो। अनि मैले राजा वीरेन्द्रलाई बिन्ती बिसाएँ। राजाले भनेपछि (शायद गीत हेरेपछि) मात्रै सेन्सर पास भएको थियो।” त्यसपछि अचम्म मान्दै नीरले साथीभाइमाझ भन्ने गरेका रहेछन्, “यदि गीत पास हुन नपर्ने थियो भन्देखिन राजाले भन्दैमा किन पास गरेको? यदि पास हुने हुने थियो भने राजाले नै किन भन्नुपरेको हो?” 

गोजीमा ४ लाख रुपैयाँ राखेर बनाउन थालेको वासुदेवमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘कुन मन्दिरमा जान्छौ यात्री’ गीत पनि समेटिएको थियो। जसको रेकर्डिङ गर्न त्यसबेलै १ लाख रुपैयाँ खर्च भएथ्यो। यो सिनेमा बनाइसक्दा १४ लाख रुपैयाँ जति खर्च भएको रहेछ। “कुमारी हलमा यो सिनेमा रिलिज भएपछि पाएको वाहवाहीले मात्रै हामीलाई शीतल बनायो,” निर्देशक शाह सम्झिन्छन्, “मलाई के लाग्छ भने, म र ध्रुवचन्द्र सरको आयु बराबर वासुदेव सिनेमा बाँच्ला भन्ने लाग्छ। यो भने जीवनमा निकै सन्तोष लाग्ने काम गरिएको रहेछ। तर, वासुदेवभन्दा पनि ध्रुवचन्द्र गौतमको ‘निमित्त नायक’ टेलिसिरियल मलाई अझै बेजोड लाग्छ।”

⁎ ⁎ ⁎
आफूले सिनेमा बनाउँदै गर्दा आवश्यकता र जोगाड (खर्च जोगाउने)कै हिसाबमा पनि पटकथा/संवादको प्लट हेरफेर गर्ने वा गीत थप्ने (लेख्ने) काम जोडिँदै जान्छ नै। तर, नीर शाहका निम्ति भने सधैँको स्वान्त सुखाय रहेछ गीतलेखन। त्यसमध्ये छानिएका ६० वटा गीतको संग्रह ‘मेरो मिरमिरेको उषा (२०६०)’ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित पनि छ।

null

“तर त्यसको हिसाब भएन। यदि चार हरफ केही लेखेर मेरो मन आनन्दित हुन्छ र सुखद अनुभूति बटुल्न सकिन्छ भने म किन नलेख्ने?,” नीर भन्छन्, “अहिले पनि मसँग ५ हजार जति गीत/कविता थन्किएर बसेका होलान्। यदि कसैले आएर हेरेर, चित्त बुझाएर म गाउँछु भन्छ भने किन नदिने र?”

त्यही गीति प्रभाव र तालमेलमा नीरका गीत अम्बर गुरुङ (क्षितिजलाई जसरी आकाशले पनि), नारायण गोपाल (कहिलेकाहीँ हाँस्छु, धेरैबेर हाँस्छु), प्रकाश श्रेष्ठ (गहिराइमा डुब्दै नडुब), दीपक खरेल (बादल बनाइदेऊ, आकार बदल्न सकूँ) र ड्यानी डेङ्जोक्पा (हिउँभन्दा चीसो) लगायतले रेकर्डमा ल्याइसकेका छन्।  

आधा शताब्दीदेखिको साथ–संगतका कारण मात्रै होइन, नीरको लेखन र सिनेमा बनाउँदा छान्ने विषय (बसन्ती, राजमती, मसान, सेतो बाघ आदि)का कारणसमेत ध्रुवचन्द्रले नीर कर्मलाई विशेष रूपमा लिने गरेका रहेछन्। “उहाँ उदारमना साहित्यकार पनि हो, कट्टेल सरको चोटपटक (वासुदेव) फिल्म बनाउँदा कथा, पटकथा र संवादका निम्ति मलाई त्यहीबेला ९ हजार रुपैयाँ दिनुभएको थियो,” गौतम भन्छन्, “मैले उहाँका अधिकांश फिल्म हेरेको छु, ‘सेतोबाघ’ भने हेर्न पाएको छैन (जुन इच्छा छ)।”

नीरलाई आफ्नै लागि भने सबैभन्दा बढी दुई गीतको सम्झना हुने गर्छ, शब्द र गायकीका कारण पनि। “प्रकाश श्रेष्ठले गाएको ‘गहिराइमा डुब्दै नडुब, डुबिसकेका छौ भने मोती नटिपी नफर्क’ भने मेरो जीवन दर्शनसँग धेरै नजिकको गीत झैँ लाग्छ, यसका शब्दमा म आफैलाई पाउँछु,” नीरले आफूलाई लागेको अनुभूति सुनाए, “अनि अर्को भने नारायण गोपालले गाउनुभएको ‘कहिलेकाहीँ म हाँस्छु, धेरैबेर हाँस्छु’ पनि खुबै स्मरणमा आउँछ जसलाई नारायण दाइले भन्नुभएको छ, क्यानभासमा लतपतिएको पहेँलो रंङजस्तो!”

भिडियो:

यस्तै सुन्दर कार्यक्रमका लागि पटकपटक जाँगर चलिरहोस् : हार्दिक बधाई एवम् शुभकामना, देवेन्द्र सर!

Ishwor Pokharel

2 months, 2 weeks ago