चेपाङको भूमिमा बिचाैलिया, प्रलोभनमा पारेर जग्गा खरिदबिक्री

चेपाङको बाहुल्यता भएका क्षेत्रमा खानी, प्राकृतिक सुन्दरतालगायत कारणले जमिनको महत्त्व बढ्दै जाँदा बिचौलियाहरू जमिन खरिदबिक्री गर्न थालेका हुन्।

चितवनका चेपाङ महिला।

चितवन– चितवनको पहाडी क्षेत्रमा जमिनको मूल्य बढ्दै गएपछि चेपाङ समुदायको बाहुल्यता भएका सो क्षेत्रमा बिचौलियाहरूले प्रलोभनमा पारी जमिन खरिद गर्न थालेका छन्। खानी, प्राकृतिक सुन्दरतालगायत कारणले जमिनको महत्त्व बढ्दै गएका कारण बिचौलियाहरूले जमिन खरिदबिक्री गर्न थालेका हुन्।

चेपाङ समुदायसँग आफ्नो नाममा थोरै जमिन मात्रै हुने नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्षसमेत रहेका संविधानसभा सदस्य गोविन्दराम चेपाङले बताए। उनले २० प्रतिशत चेपाङसँग मात्रै आफ्नो नाममा जमिन भएको जनाउँदै बाँकी ८० प्रतिशत ऐलानी र अरुको जमिनमा खेती गरी जीविकोपार्जन गर्ने गरिएको उल्लेख गरे।

पछिल्लो समय जिल्लाको पहाडी क्षेत्रमा घडेरी किन्ने लहर चलेको छ। खानी, प्राकृतिक सुन्दरता, अनुकूल मौसमलगायत कारणले ग्रामीण क्षेत्रका जमिनको मूल्य बढ्दै गएको संघका केन्द्रीय अध्यक्ष चेपाङले बताए। तराईमा बढ्दो गर्मी र नजिकै पहाडमा शीतलताले पाइने भएकाले पनि पहाडी क्षेत्रमा जमिनको मूल्य बढेको उनको भनाइ छ।

उनका अनुसार पछिल्लो समय दुई जनाको जमिन प्रलोभनमा पारेर ठगी गरिएको भन्दै संघमा निवेदन परेको छ। यसका अतिरिक्त ‘तिम्रो जमिनमा आफैँ बस्न र खेती गर्न पाउँछौँ’ भन्दै प्रलोभनमा पारेर जग्गा पास गर्ने प्रचलन बढ्दो रहेको उनले बताए।

“चेपाङ समुदायको बाहुल्यता रहेको चितवन, मकवानपुर र धादिङमा मात्रै ४४ ठाउँमा खानी दर्ता भएको तथ्यांक छ। कालिका नगरपालिका–९ मा मात्रै नौ वटा चुनढुंगा खानी दर्ता भएका छन्,” संघका अध्यक्ष चेपाङले भने।

संघका महासचिव शन्तबहादुर चेपाङले बिचौलियाले यहाँ जमिनको प्रचलित मूल्यभन्दा धेरै सस्तोमा किनबेच गर्ने गरेका पाइएको बताए। उनले भने, “एक वर्षमा फिर्ता हुन्छ भन्दै पास गर्नेहरू पनि भेटिएका छन्। तर ती जमिन तीन–चार तहमा बिक्री भएर गइसकेको फेला परेका छौँ।”

संघका चेपाङका अनुसार चितवनमा ३५ हजार ६३७ जनसंख्या यो समुदायको छ भने देशभर ८४ हजार ३६४ छ। चितवनको कालिका नगरपालिका–८, ९, १० र ११, राप्ती नगरपालिका–१०, ११, १२ र १३, इच्छाकामना गाउँपालिकाका–१, २ र ६ वडामा चेपाङ जातिको बाहुल्यता छ।

गोरखाको गण्डकी र सहिद लखन गाउँपालिका, मकवानपुरको राक्सिराङ, मनहरी र कैलाश गाउँपालिकामा चेपाङको बाहुल्यता छ। यस्तै धादिङको बेनिघाट रोराङ, थाक्रे र गजुरीमा चेपाङ बसोबास रहेको उनले जानकारी दिए।

संघ चितवनका अध्यक्ष भीमबहादुर चेपाङले खानी क्षेत्रमा चेपाङको जमिन भएको भन्दै बिचौलिया र ठेकेदार बसेर जमिनको मूल्य तोक्ने, चेपाङ समुदायसँग सस्तो मूल्यमा किनबेच गर्ने गरेका बताए। उनले भने, “यो यो ठाउँमा खानी छ भनेर पत्ता लगाउँछन्, बाहिरै बसेर जग्गाको कारोबार गर्दछन्।”

यो समस्या बढ्दै गएमा चेपाङ भूमिहीन बन्नेक्रम अझै थपिने उनको भनाइ छ। राज्यले भूमिहीन हुनेगरी जग्गा बेच्दै गर्दा यस कार्यलाई विपन्न समुदायलाई ठगिनबाट बचाउनुपर्ने उनको माग छ।