सिरहामा करेन्ट लागेर २ जनाको मृत्यु, १ घाइते

सिटी रिक्सा चार्ज गर्ने र मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो।

सिरहा– सिरहामा दुई छुट्टाछुट्टै घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार दुई जनाको मृत्यु भएको हो भने आज एक महिला घाइते भएकी हुन्। यहाँको सिरहा नगरपालिका–४ रमौलमा बसोबास गर्ने इद महमदका १५ वर्षीय छोरा मो अम्माद र लहान नगरपालिका–१९ कटहाका ४० वर्षीय कमकलाल सदायको शनिबार करेन्ट लागेर मृत्यु भएको हो।

इनारबाट पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेपछि गम्भीर घाइते भएका अम्मादको उपचारका क्रममा प्रादेशिक अस्पताल सिरहामा निधन भएको हो।

यस्तै, सिरहा–४ रमौलमा आज ३० वर्षीया अफ्रोजा खातुन पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी छन्। हाल उनको प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

यस्तै, सदाय पनि आफ्नो घरमा सिटी रिक्सा ‘चार्ज’ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। उनको स्थानीय अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार, हाल सबै घटनाबारे अनुसन्धान भइरहेको छ। विद्युत् प्रयोगमा सावधानी नअपनाउँदा यस्ता घटनाको संख्या बढ्दै गइरहेकाले सतर्कता अपनाउन उनले आग्रह गरे।