नेपाल टी-२० लिगबारे छानबिन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

नेपाल टी-२० लिगमा स्पट फिक्सिङ, खेलाडीको पारिश्रमिकमा अनियमितताबारे छानबिन गर्न गृहमन्त्री लामिछानेले नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

काठमाडौँ– गृह मन्त्रालयले जारी नेपाल टी-२० लिग क्रिकेट प्रतियोगितामाथि विभिन्न गुनासो बढेपछि छानबिन गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरीलाई नेपाल टी-२० लिगबारे छानबिन गर्न आग्रह गरिएको हो। गृह मन्त्रालयका शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका शाखा अधिकृत सम्राट थापा मगरले प्रहरी प्रधान कार्यालय, नक्साललाई पत्र लेखेर लिगमा 'के-कसो भएको हो, आवश्यक छानबिन गरी जो-जे गर्नुपर्ने हो यथाशीघ्र गर्न/गराउन' आग्रह गरेका छन्।

"जारी टी-२० लिगबारे सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आयोजक सम्पर्कबाहिर गएको, खेलाडीको पारिश्रमिकमा अनियमितता भएको र स्पट फिक्सिङ भएको जस्ता समाचारहरू निरन्तर रूपमा आइरहेकोले सो विषयमा के-कसो भएको हो, आवश्यक छानबिन गरी जो-जे गर्नुपर्ने हो यथाशीघ्र गर्नु/पराउनु हुन माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीज्यूको निर्देशानुसार अनुरोध गरिन्छ", पत्रमा भनिएको छ।

त्यस्तै, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले नेपाल टी-२० लिगमा स्पट फिक्सिङको खबरले स्तब्ध बनाएको बताएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी सार्वजनिक गर्दै उनले भनेका छन्, "नेपाल क्रिकेटले विभिन्न अध्याय, संघर्ष र खुड्किलाहरू पार गर्दै राम्रो स्वरूप लिने क्रम जारी थ्यो। यो अनवरत यात्रा र उतारचढावकै बीच नेपाल टी-२० लिगमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराध भएको खबरले स्तब्ध बनाएको छ।"

उनले यो घटनाले खेलसँग सम्बन्धित सबैलाई चोट पुर्‍याएको उल्लेख गरेका छन्। उनले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। "खेलाडीहरूको वर्षौँदेखिको लगाव, खेलप्रेमीहरूको नि:स्वार्थ प्रेम र यस खेलमा समर्पित सरोकारवालाहरूको विश्वासलाई यस घटनाले यो खेलसँग सम्बन्धित सबैलाई चोट पुर्‍याएको छ। यो अपराधको निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गरियोस्", उनले लेखेका छन्। 


गृह मन्त्रालयको पत्र