नेपालीलाई भारतमा लगेर मिर्गौला झिकिएको प्रकरण बाहिर आएपछि थप चनाखो बनेको ब्युरोले ‘अपरेसन लाइभ सिल्ड’ चलाएर अनुसन्धान अघि बढाएको थियो।
काठमाडौँ– प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले एक दिनअघि सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका– ७ का ३८ वर्षीय श्याम कृष्ण भण्डारीलाई पक्राउ गर्यो। ब्युरोले भारतबाट नेपाल आउँदै गरेको सूचनाका आधारमा कञ्चनपुर प्रहरीको सहयोगमा गड्डाचौकी नाकाबाट पक्राउ गरेको जनाएको छ। उनीसँगै उनका सहयोगी सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिका २ का २९ वर्षीय सुजन भारतीसमेत पक्राउ परे।
भारतीलाई पर्सा प्रहरीको सहयोगमा वीरगन्ज सीमानाकाबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ। तर, यी दुवैलाई ब्युरोले भारतको दिल्लीबाट पक्राउ गरेर फरक बाटोबाट नेपाल ल्याइएको ब्युरोकै अधिकारीहरू बताउँछन्।
नेपालीलाई भारतमा लगेर मिर्गौला झिकिएको प्रकरण बाहिर आएपछि थप चनाखो बनेको ब्युरोले ‘अपरेसन लाइभ सिल्ड’ चलाएर अनुसन्धान अघि बढाएको थियो। सोही अनुसन्धानका क्रममा यसअघि पक्राउ परेका र पीडितले दिएको जाहेरीका अनुसन्धानका आधारमा सिन्धुपाल्चोकका भण्डारी र भारती नै मुख्य योजनाकारका रूपमा देखिए। थप अनुसन्धानका लागि ब्युरोले एसपी रुगम कुँवरको कमान्डमा टोली अपरेसनका लागि भारत नै पठाएको थियो।
पीडितको जाहेरी र पक्राउ परेका व्यक्तिको बयानका आधारमा भण्डारी मिर्गौला तस्करी प्रकरणका मुख्य योजनाकार र उनको सहयोगीका रूपमा भारती रहेको अनुसन्धानका क्रममा देखिएपछि उनीहरूलाई पक्रिन टोली भारत नै पुगेको थियो। उनीहरूलाई पक्राउ गरेर नेपाल ल्याइसकेपछि आइतबार ब्युरोले पत्रकार सम्मेलन गरेर पक्राउ परेका भण्डारी र भारतीका बारेमा जानकारी दिएको छ।
ब्युरो प्रमुख एसएसपी कृष्णप्रसाद पगेनीले भण्डारी नै नेपालबाट सोझासाझा व्यक्तिलाई प्रलोभनमा पारेर भारतमा मिर्गौला तस्करीको काम गर्दै आइरहेको अनुसन्धानबाट खुलेको बताउँछन्। भण्डारी दिल्लीको लाजपत नगरमा बसेर सम्पूर्ण चाजोपाजो मिलाउने काम गर्दै आएको अनुसन्धानका क्रममा खुलेको छ।
“दिल्लीमा सबै चाजोपाजो मिलाउने व्यक्ति नै उनै हुन्। भारतीय आधारकार्ड बनाएर नै उनी बसेको देखिन्छ,” उनले भने, “प्रारम्भिक बयानका क्रममा उनले २५ जनाको मिर्गौला झिकिसकेको बयान दिएका छन्। तर, पीडितको उजुरी र अनुसन्धानका क्रममा यो समूहले एक सयभन्दा बढीको झिकिसकेको हाम्रो अनुसन्धानले देखाएको छ।”
पक्राउ परेका भण्डारीले ६ लाख भारतीयमा बेच्ने गरेको भनेका छन्। तर, ब्युरोका अधिकारीहरू भने कतिपय मानिसले आवश्यकता अनुसार ५० लाख पनि तिरेको खुल्न आएको छ। गिरोहले नेपालको सिन्धुपाल्चोक, नुवाकोट र काभ्रेका मानिसहरूलाई जागिर लगायतको प्रलोभन दिएर भारत लगेर मिर्गौला बेच्ने गरेको अनुसन्धान अधिकारीहरू बताउँछन्। त्यसमा भारतीय अस्पतालको पनि भूमिका रहेको दिल्ली पुगेको अनुसन्धान टोलीका एक सदस्य बताउँछन्।
“हामीले दिल्लीमै पुगेर पनि अनुसन्धान गर्याैँ। त्यो हेर्दा त्यहाँ गिरोहका मानिस मात्र होइनन्, त्यहाँका अस्पतालका मानिसको पनि भूमिका देखिन्छ,” ती सदस्य भन्छन्, “अनुसन्धान गर्दै जाँदा भोलिका दिनमा धेरै कुरा थाहा होला।”
ब्युरोका एसएसपी पगेनी पनि भारतमा बसेर र्याकेट चलाएको गिरोहलाई सहयोग पुर्याउन नेपालमा पनि कसैको भूमिका छ वा छैन भन्ने विषय अनुसन्धान भइरहेको बताउँछन्।
“नेपालबाट कसैले सहयोग गर्यो की गरेन भन्ने त हामीले अनुसन्धान गरिरहेका छौं। नेपालमा बसेर मान्छे खोज्ने ५ जनाको हामीलाई सूचना छ हामी हेर्दैछौं। र्याकेट चलाउन पैसा लगानी गर्नसक्नेदेखि मानिस खोज्ने, लगेर गइदिने पनि होलान्, त्यसमा हामी अनुसन्धान गर्दैछौं। भारतीय प्रहरीसँग पनि हामीले समन्वय गर्दैछौं,” उनले भने।
उनका अनुसार ब्युरोले अनुसन्धान शुरू गरेपछि ९ जनालाई दिल्ली लैजानबाट रोकिएको छ। पक्राउ परेका भण्डारी पनि शुरूमा आफैं मिर्गाैला बेच्ने भनेर भारत पुगेका थिए। तर, उनको मिर्गाैला प्रत्यारोपणका लागि गर्नुपर्ने पूर्वतयारी अनुरूप परीक्षण रिपोर्ट नमिलेपछि उनले बेच्न पाएनन्। तर, उनीसँगै पक्राउ परेका भारतीको भने एउटा मिर्गौला छैन। उनले भारतमै मिर्गौला बेचिसकेको अनुसन्धानबाट देखिएको छ।
ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरका अनुसार अहिलेसम्म ५ जनाको जाहेरी परेको छ भने, ५ जना पक्राउ परिसकेका छन्। थप २ जना पनि पक्राउ परेको र उनीहरूको बारेमा थप बुझ्ने काम भइरहेकाले प्रहरीले नाम सार्वजनिक गरेको छैन। यसअघि प्रहरीले गत साउन २० मा ब्युरोले राकेश नेपाली, समीर नेपाली र कुमार भन्ने राजकुमार नेपालीलाई पक्राउ गरेको थियो।
यो पनि: पहिले आफ्नो मिर्गौला बेचे, पछि आफू नै त्यो गिरोहमा जोडिए
पीडितहरूले दिएको सूचना र पक्राउ परेकाहरूले दिएको बयानअनुसार भारतको राजधानी नयाँ दिल्लीको लाजपत नगरमा बसेर गिरोहले मानव अंग (मिर्गौला) कारोबारको अवैध सञ्जाल खडा गरेको देखिन्छ।
“एउटा मिर्गाैला दिँदैमा मानिस नमर्ने तथा स्वास्थ्यमा कुनै असर नपर्ने भन्दै ६ लाख पाउँछ भनेर संगठित रूपमा टिम परिचालन गरी मानिसहरूलाई प्रलोभन दिन लगाउने र मिर्गाैला दिने मानिस खोजेबापत प्रतिव्यक्ति ५० हजार रुपैयाँ दिने गरेको अनुसन्धानबाट देखिन्छ,” प्रवक्ता कुँवर भन्छन्, “मिर्गाैला दिन तयार हुने मानिसहरूलाई गाडीको व्यवस्थापन गरी नेपालबाट भारतको राजधानी नयाँ दिल्लीसम्म लिने र मिर्गाैला दिएपश्चात नेपाल पुर्याउने काम पनि उनीहरूले नै गरेको देखिन्छ।”
भण्डारीको समूहले नेपालबाट लगेका मानिसहरूलाई दिल्लीको लाजपत नगरस्थित कस्तुरवा निकेतनस्थित एउटा होटेलमा लिएर राख्ने र खाने-बस्ने सम्पूर्ण व्यवस्थापन गर्दै आएको देखिन्छ।
“दिल्लीस्थित विभिन्न अस्पताल, क्लिनिकमा कार्यरत एजेन्ट, अस्पतालका कर्मचारी र डाक्टरहरूसँग समन्वयको मुख्य भूमिका उनीहरूले निर्वाह गरेको देखिन्छ,” अनुसन्धान गर्न दिल्ली पुगेका एक अधिकारी भन्छन्, “मिर्गौला दिन तयार भएका मानिसहरूलाई अलग–अलग स्थानमा राखेर होटेलमा बसेकै स्थानमा अस्पतालका कर्मचारी आएर ब्लड स्याम्पल लिने गरेको देखिएको छ।”
गिरोहले मिर्गाैला दिन तयार रहेका व्यक्तिलाई आँखामा पट्टी लगाएर गाडीमा राखेर अज्ञात स्थलमा लग्ने र त्यहाँ इन्जेक्सनबाट बेहोस बनाएर मिर्गाैला झिक्ने काम गर्दै आएको खुलेको छ। ३/४ दिन अस्पतालमा राखेपछि पुनः गाडीमा राखेर नेपाल फर्काइदिने गरेको देखिन्छ।
प्रारम्भिक अनुसन्धानको क्रममा सुजन भारतीले भारतको नयाँ दिल्लीमा श्याम भण्डारीसँग बसेर उनको सहयोगीको रूपमा काम गर्ने गरेको र आफूले समेत मिर्गाैला बेचेको बयान दिएका छन्।
उनले एक जनाको मिर्गौलाको कारोबार गरेबापत नेपाली रुपैयाँ ४० हजार पाउने गरेको बताएका छन्। ब्युरोका अधिकारीहरूले मिर्गौला दिने थप मानिसहरूको खोजी भइरहेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
