राष्ट्रियसभामा रिक्त उपाध्यक्ष र सदस्यको चुनावबारे प्रधानमन्त्री दाहाल र अध्यक्ष तिमिल्सिनाबीच छलफल

राष्ट्रियसभामा रिक्त उपाध्यक्ष र एक सदस्यको चुनावबारे प्रधानमन्त्री दाहाल र अध्यक्ष तिमिल्सिनाबीच छलफल भएको छ।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटमा राष्ट्रियसभामा रिक्त उपाध्यक्ष र एक सदस्यको चुनावबारे प्रधानमन्त्री दाहाल र अध्यक्ष तिमिल्सिनाबीच छलफल भएको हो। राष्ट्रियसभामा गत फागुनदेखि उपाध्यक्ष पद खाली रहेको छ भने एमालेका तर्फबाट सदस्य रहेका खिमलाल भट्टराईले राजीनामा दिएपछि लुम्बिनी प्रदेशबाट एक पद रिक्त रहेको छ।

भेटका क्रममा राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा पेस भई निष्क्रिय भएका पाँच वटा विधेयकलाई पुनः राष्ट्रियसभामै दर्ता गरी अगाडि बढाउन अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीलाई आग्रह गरेको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ।

राष्ट्रियसभामा उत्पत्ति भई लामो छलफलपछि पारित भएर प्रतिनिधिसभामा गएका विभिन्न पाँच विधेयक प्रतिनिधिसभाको कार्यकाल सकिएपछि निष्क्रिय भएका थिए। निष्क्रिय भएका नेपाल मिडिया काउन्सिल विधेयक, नीति अनुसन्धान विधेयक, नेपाल विशेष सेवा विधेयक, नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, नेपाल हवाई सेवा प्राधिकरण विधेयक रहेका छन्।

त्यसैगरी, प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष तिमिल्सिनाले मुस्ताङको कोरला नाकामा नेपालतर्फ भन्सार कार्यालय निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन गरी पूर्वाधार निर्माण कार्य अगाडि बढाउन आग्रह गरेका थिए। कोरला नाकामा चीनतर्फ पूर्वाधार निर्माण भए पनि नेपालतर्फ पूर्वाधार नबन्दा नाका सञ्चालनमा आउन सकेको छैन।