चाडपर्वलाई लक्षित गर्दै बीपी राजमार्ग स्तरोन्नतिको तयारी

बीपी राजमार्गको क्षतिग्रस्त सडक दुई हप्ताभित्र पुनः मर्मत गरिसक्ने भक्तपुर डिभिजन सडक कार्यालयले जनाएको छ।

काभ्रेपलान्चोक– बीपी राजमार्गमा आसन्न चाडबाडमा अवरुद्ध हुन नदिन पुनः मर्मत गरिने भएको छ। 

राजमार्गको क्षतिग्रस्त सडक दुई हप्ताभित्र पुनः मर्मत गरिसक्ने भक्तपुर डिभिजन सडक कार्यालयले जनाएको छ। करिब एक वर्षअघिको बाढीपहिरोले क्षतविक्षत बनाएपछि अस्थायी निर्माण गरी राजमार्ग सञ्चालन भइरहेको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए।  

कार्यालयले बाढी पहिरोपश्चात् पहिलाभन्दा केही फिट उचाइमा अस्थायी फिलिङ गरी यातायात सञ्चालनार्थ निर्माण गरिएको सडक हालको वर्षामा क्षति हुन नदिन सतर्कता अपनाउँदै ‘इक्युपमेन्ट’ र संरचना निर्माण गरेको जनाएको छ। काभ्रेपलान्चोकतर्फ चौकीडाँडा, कटुञ्जेबेँसी, मंगलटार र माम्तीमा हुनसक्ने क्षति रोक्न ग्यावियन जालीको पर्खाल लगाइएको थियो। 

वर्षायाममा बाढीपहिरोका कारण हुनसक्ने राजमार्ग अवरुद्ध तत्काल हटाउन सडक पुनर्निर्माणका लागि ठेक्का लागेको सडकखण्डमा निर्माण व्यवसायीको १५–१५ वटा उपकरणका साथै डिभिजनले डोजर, टिपर, लोडरलगायत सात उपकरण तयारी अवस्थामा राखिएको छ। 

२०८१ असोजको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकलाई चार खण्डमा पुनर्निर्माण गर्नेगरी प्रक्रिया अघि बढाएको छ। बाढीपहिराले आठ किलोमिटर सडक पूरै बगाएको थियो। क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलान्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने भएको हो।

 उक्त सडकखण्ड क्षतिग्रस्त भएपछि गत सालको दशैँमा त्यसमार्ग भएर पूर्वतर्फ घर जान चाहनेहरूले वैकल्पिक मार्ग प्रयोग गरे। कार्यालयका अनुसार बाढीपहिरो आए निर्माण व्यवसायीले खुलाउनेछन्। यसका लागि ठेक्का लागेका व्यवसायी मेसिन लिएर बाढीपहिरो आए सडक खुलाउन तैनाथ रहेको योगशेको भनाइ छ। चाडबाडलाई मध्यनजर गर्दै खाल्डाखुल्डी पुर्दै सडक सुधार गर्ने योजना रहेको छ।

उक्त राजमार्गमा भदौ १६ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ। जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकामा भदौ मसान्तसम्म रातको समयमा १२ घण्टा रोक लगाइएको काभ्रेपलान्चोक जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

जिल्ला सुरक्षा समितिको आइतबार सम्पन्न बैठकले उक्त राजमार्गमा साँझ ५ देखि बिहान ५ बजेसम्म राजमार्गमा यात्रुवाहक तथा निजी सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। कार्यालयले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रे भञ्ज्याङबाट सिन्धुली–सीमा नेपालथोकसम्म थप १५ दिन रोक लगाइएको जनाएको छ। 

हाल दैनिक करिब तीन हजार सवारीसाधन आवतजावत गर्ने उक्त राजमार्गमा चाडबाडका बखत तेब्बर सवारीसाधन ओहोरदोहोर गर्छन्। उक्त राजमार्ग दुई वर्षमा पुनर्निर्माणका लागि हाल काभ्रेपलान्चोकतर्फ दुई र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ। 

स्थायी निर्माणको काम भने मनसुन बाहिरिएपछि मात्र शुरू हुने जनाइएको छ। क्षतिग्रस्त राजमार्गको पाँच किमी सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले काम गर्नेछ। जाइकाले पिप्लेबाट बर्खे खोलासम्म ३.२ किमी सडक निर्माण गर्नेछ। 

त्यसका लागि फाइनल सर्भेको काम सकिएको छ। ठेक्का सम्झौता नहुन्जेल यस खण्डको मर्मतसम्भारको काम कार्यालयअन्तर्गत नै हुने योगेशले बताउनुभयो। यस राजमार्ग हाल इन्टरमिडियट लेनको छ भने अब दुई लेनको निर्माण हुने भएको हो।

सरकारले क्षतिग्रस्त बीपी राजमार्गको स्थायी निर्माण र मर्मतका लागि भक्तपुर सडक डिभिजनलाई ७ अर्ब ५० करोड र सिन्धुलीको खुर्कोट सडकखण्डलाई १ अर्ब रुपैयाँ उपलब्ध गराएको छ। 

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माणकार्य गरिएको थियो। खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ साल असार १८ गते औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।