कर्णाली राजमार्ग अवरुद्ध: स्याउ बाटोमै कुहिने चिन्ता

कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध छ। यसले यात्री र स्याउ व्यापारीले तीनदेखि सास्ती खेपिरहेका छन्।

कर्णाली– कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बिक्री गर्न समस्या भएको छ। कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध छ। राजमार्ग अवरुद्ध हुँदा आवतजावत गर्न समस्या भएको हो।

जुम्लाबाट स्याउ बोकेर सुर्खेत, नेपालगन्ज, काठमाडौँलगायत देशका विभिन्न ठाउँका लागि गुडेका मालवाहक ट्रक राजमार्गमै थन्किएका छन्। यसले यात्री र स्याउ व्यापारीले तीनदेखि सास्ती खेपिरहेका छन्। गन्तव्यमा पुर्‍याइसक्ने बेलामा बाटोमै अलपत्र पर्दा व्यापारीलाई स्याउ कुहिने चिन्ता छ। राजमार्ग खुलाउन पहल हुन नसकेको यात्री बालाराम नेपालीले बताए। 

जुम्ला कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले पहिराका कारण स्याउ बोकेका २३ ट्रक बाटोमै रोकिएका बताए। उनका अनुसार १३ करोड रुपैयाँ बराबरको १८४ मेट्रिक टन स्याउ कुहिने डर छ। किसानले बाटो खुलाउन सरोकारवालालाई अनुरोध गर्दै आएका छन्। 

जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र चौधरीले सडकमा खसेका ढुंगा फुटाउन नसकिएको बताए। “ढुंगा फुटाउन नेपाली सेनाको टोली मान्मबाट त्यसतर्फ जाँदै छ,” उनले भने। वर्षा भइरहेका कारण सडक खुलाउन बाधा पुगेको उनले बताए।