इन्द्रजात्राका झ्यालिन्चा रमिरः लाखेलाई हैरान बनाउने बालसुलभ हर्कत

इन्द्रजात्रामा लाखेलाई जिस्काउने बालपात्र हो, झ्यालिन्चा। जसले मजिपाजस्तो शक्तिशाली लाखेलाई आफ्नो हर्कतबाट हैरान बनाउँछ। अनि दर्शक त्यही हेर्न लालायित हुन्छन्।

काठमाडाैँ– बसन्तपुरको मजिपातस्थित एउटा सानो लाखेननि गल्लीमा छ, राजीव रञ्जितकारको घर। यद्यपि, यो घर उनको नामभन्दा पनि ‘श्री मजिपा लाखे आजुको घर’ नामले चिनिन्छ।

दाची अप्पा अनि मडमोटरले रंगिएको यस घरको माथिल्लो तलामा लाखे आजु छेः(घर) छ। जहाँ, लाखेको आकृतिसहितको टु–डी पोस्टर, लाखेको पहिरन र मुकुट राखिएको छ।

हरेक वर्ष इन्द्रजात्राको समयमा लाखेको पहिरन ख्वपाः(मुकुट)लाई बाहिर निकालेर पूजा गरिन्छ। पूजा गरेपछि मात्र उक्त पहिरन लगाएर लाखे नाच देखाइन्छ। उनी जीवित देवी मानिने कुमारीको रथ अघिअघि नाच देखाउँछन्। राजीव मजिपा लाखेका नाइके हुन्।

इन्द्रजात्रा नजिकिएसँगै लाखे आजुको घरमा चहलपहल शुरू भइसकेको छ। जात्राअघिको भाद्र कृष्ण एकादशीका दिन लाखे र झ्यालिन्चाको मुकुट पिला (गोप्य माटोको सन्दुक)बाट निकालेर पूजामा राखिन्छ। त्यसपछि मुकुटको रङरोगनका लागि बसन्तपुरकै यट्का बहाःका चित्रकारकहाँ पठाइन्छ। १५ दिनपछि भाद्र शुल्क द्वादशीका दिन ख्वपाः(मुकुट) ल्याएर त्यसमा कपाल राखिन्छ। यति गरेपछि जात्राको लागि लाखे निस्कन तयार भएको बुझिन्छ।

यद्यपि, लाखे एक्लै भने निस्किदैन। उनीसँगै एउटा अर्को आजु पनि निस्कन्छ, जसलाई ‘झ्यालिन्चा’ भनिन्छ।

नीलो सेतो कपडाको लुगा, काँधमा घंघला लगाएर लाखेसँगै निस्कने बालपात्र हो, झ्यालिन्चा। त्यसो त मजिपा लाखेको उपत्यका अनि इन्द्रजात्रामा आफ्नै महत्त्व छ। झट्ट हेर्दा लाखे आफैँमा पूर्ण र स्वतन्त्र पात्र देखिन्छ। तर ऊसँगै हिड्ने झ्यालिन्चा नहुँदा इन्द्रजात्रा हेर्न पुगेका दर्शक वा पर्यटकलाई खल्लो लाग्छ।

लाखेलाई जिस्क्याउने काम हो झ्यालिन्चाको। अनि लाखेले झ्यालिन्चालाई लेखेट्ने। लखेट्ने क्रममा लाखेले झ्यालिन्चालाई भेट्टाएमा तीन पटक लात्ती हानेर छाड्ने गरिन्छ। लाखे र झ्यालिन्चाको विचित्र सम्बन्ध बुझाउने मनमोहक पाटो इन्द्रजात्रामा मात्र देख्न पाइन्छ। त्यसैले मजिपा लाखे नाचमा झ्यालिन्चा ‘सुनमा सुगन्ध’ झैँ भइदिन्छन्।

किवंदन्ती अनि कर्तव्य
त्यसो त इन्द्रजात्रा कुमारी, पुलुकिसीं, ऐरावत हात्ती, दांगी, लाखे, झ्यालिन्चा लगायतका विभिन्न पात्रको संगम हो। कथा र किवंदन्तीलाई निष्ठासहित कर्तव्यको रूपमा निर्वाह गर्ने यी पात्रको भूमिकाले इन्द्रजात्राका दिन बसन्तपुरलाई गुल्जार बनाउँछ।

लाखेको अस्तित्वसँगै आउने झ्यालिन्चाको कथा रोचक छ। किवंदन्ती अनुसार, कान्तिपुरका राजा गुणकामदेवको आराधनामा भारतको आसामबाट तलेजु भवानी नेपाल आइन्। भवानीको रक्षक लाखे पनि उनीसँगै आएको थियो।  तर, उनलाई बसन्तपुरको सिमानामा राखियो।

आसाम फर्कने क्रममा भवानीले आफ्नो शक्तिको प्रतीक खड्ग राजालाई दिइन्। खड्गको सुरक्षार्थ लाखेलाई काठमाडौँमा बस्न आज्ञा भयो। बस्तीबाहिर बस्ने लाखेलाई मानवबस्ती भित्रका रमाइला गतिविधि र जीवनशैलीप्रति चाहाना भयो। सोही कारण आफूलाई पनि बस्तीभित्र राख्नको लागि आग्रह गरे। तर लाखेले मानिस खाने डरका कारण शुरूमा कसैले पनि मानेनन्। अन्तमा आफूले पाकेको मासु र अण्डाबाहेक केही नखाने, बस्तीका मानिसलाई दु:ख नदिने बिन्तीभाउपछि मात्रै पूरै बस्तीको सुरक्षार्थ लाखे खटिनु पर्ने वाचासहित बस्तीभित्र आउन दिए।

यद्यपि, बस्तीका मानिसलाई लाखेले गरेको वाचामा पूर्ण विश्वास थिएन। त्यसैले उसको परीक्षा लिन स्थानीयले एक बालकलाई लाखेलाई जिस्काउन पठाए। शुरूमा लाखेले खासै वास्ता गरेन। तर, पटक पटक जिस्काएपछि भने त्यो बालकलाई च्याप्प समाएर तीन पटक लात्ती हानेर छाडिदियो। यसरी लाखेले बालक नखाएपछि बस्तीका मान्छे निश्चिन्त भए।

हरेक वर्ष भाद्र शुल्क चतुर्दशीका दिन तलेजु भवानीको प्रतीक मानिने कुमारीलाई बाहिर ल्याउँदा उनको रक्षकको रूपमा लाखे कुमारीकै रथ अघिपछि नाच्ने गर्छ। त्यही कथाको बालक पात्रका रूपमा झ्यालिन्चालाई पनि लाखेलाई जिस्काउन लगाइन्छ। मुख्य झ्यालिन्चा बालक नै राख्ने गरिन्छ र त्यो भूमिका निर्वाह गर्दै आएका छन्, राजीवका ८ वर्षका छोरा रमिर रञ्जित। ४ वर्षको उमेरदेखि नै उनी झ्यालिन्चा बन्न थालेका हुन्।

null

हाल कीर्तिपुरस्थित सशस्त्र प्रहरीको विद्यालयमा उनी कक्षा ५ मा अध्ययनरत छन्। बिदामा घर आएका रमिरलाई गत शुक्रबार भेट्दा उनी आमा मिता कायस्थको डेन्टल क्लिनिकमा बसेर गृहकार्य गर्दै थिए। शुरूमा कुराकानी गर्न लजाए पनि इन्द्रजात्राको सन्दर्भ निस्किएसँगै उत्सुक देखिए। खासमा, इन्द्रजात्राका बेला उनी ८ दिनको छुट्टी बस्ने रहेछन्।

“बाबुको स्कुल ८ दिन छुट्टी, उसको बाबाको पसल अनि मेरो डेन्टल सबै ८ दिनको लागि बन्द हुन्छ,” आमा मिताले भनिन्।

आफूले झ्यालिन्चाको रूपमा नाच्न अझै ३ वर्ष पाउने रमिरले उकालोसँगको कुराकानीमा बताए। उनले भने, “व्रतबन्ध अथवा युवा अवस्था पुगेपछि झ्यालिन्चा पात्र नसुहाउँदो हुने भएकाले पनि अबको ३ वर्ष मात्र हो मैले झ्यालिन्चा हुन पाउने।”

आकाश भैरवको प्रतीक झ्यालिन्चा
झ्यालिन्चा आकाश भैरवको प्रतीक हुन्। यसकारण उनको पहिरन पनि आकाशे नीलो र सेतो रंग हुन्छ। त्यस्तै, उनले लगाने ख्वपाः पनि आकाशतर्फ फर्काइएको हुन्छ।

लाखे बन्ने परिवारबाटै मुख्य झ्यालिन्चा बन्छन्। यसबाहेक जात्रामा सहभागी हुन आउने वयस्क नै पनि झ्यालिन्चा बन्न सक्छन्। यसमा कुनै पाबन्दी छैन।  तर, मुख्य पूजा र समयमा भने प्रमुख झ्यालिन्चाको रूपमा रमिर नै नाच्छन्। लाखेको हकमा पनि यही हुन्छ।

रमिर दुई वर्षको उमेरदेखि नै झ्यालिन्चा बन्न थालेको उनकी आमा मिता कायस्थ बताउँछिन्। “तर त्यो बेला बाबुले त्यति रहर गरेन। तीन वर्ष लाग्दा पनि खासै चासो देखाएन। नाच्न दौडन पर्ने भएर होला,” उनले भनिन्, “चार वर्षदेखि भने पूरै नाच्न थाल्यो। अब त जति नाचे पनि नाच्नै पुगेको छैन भन्छ।”

झ्यालिन्चाको रूपमा उनको मुख्य जिम्मेवारी भनेकै लाखेलाई जिस्काउने, अनि मनोरञ्जन गराउने हो। दिनभर खाली खुट्टा नाच्दा, दौडदा पनि गाह्रो नभएको बताउँदा उनी आफै छक्क पर्छिन्। यद्यपि, रातको समयमा भने खुट्टा मालिस गर्दिने गरेको उनले बताइन्।

झ्यालिन्चा बन्दा लाखेलाई जिस्काउनुबाहेक घंघला बजाउन पनि मन पर्छ रमिरलाई। छालामा ध्वनि पैदा हुने बाजाका डल्लायुक्त घंघला बजाउँदै उनी मानिसहरूलाई बाटो छाड्न संकेत गर्छन्।

“जात्रामा भीड हुन्छ। मान्छेहरूले बाटो नछाड्दा घंघला बजाउँछु अनि छाड्नुहुन्छ,” रमिर भन्छन्, “भीडभाड हुने भएकाले कहिलेकाहीँ मानिसहरूले खुट्टामा टेक्ने, धकेल्ने गर्छन्। त्यस्तो बेलामा पनि घंघला बजाउँछु।”

यसबाहेक सयपत्रीको माला पनि उनलाई मन पर्छ। यद्यपि, सबैभन्दा रमाइलो भने उनलाई सम्य लायगुः भनिन्छ। जसमा समयबजिलाई त्रिकोढा आकारमा बनाएर राखिन्छ। लाखेसँगै उनी पनि समयबजि हातले हुर्याउँछन्। जुन, पछि प्रसादको रूपमा अरूले लिने गर्छन्।

हुनत समयबजिमा चढाएका सामाग्री लाखे वा झ्यालिन्चाले लिन हुँदैन भनिन्छ। तर, झ्यालिन्चासँगै उनी बालक पनि हुन्। उनको बालसुलभ स्वभावले जितिहाल्छ। केही न केही लिन्छन्।

“म केही पनि नलिउँ भन्छु तर मान्दैन। कतिले भिडियो लिएरहेको हुन्छ। हेर्नेले अनर्थ लगाउलान् जस्तो लाग्छ, जे भए पनि ऊ बच्चै त हो,”  मिताले चिन्ता व्यक्त गर्दै भनिन्।

बुबा र देबा ‘गाइड’
जात्राको क्रममा घुम्नु पर्ने रुटका विषयमा भने उनी आफ्ना बुबा रमिर रञ्जित र देबा(ठूलो बुबा)ले भनेको मान्छन्। जहाँसम्म सकिन्छ त्यहाँ मुख्य मुख्य स्थानमा उनी आफै देखा पर्छन्। रमिर लाखे बाजा पनि बजाउँन जान्दछन्। उनलाई कहिल्यै पनि लाखे नाच, झ्यालिन्चा नाच वा बाजा बजाउन सिकाउन परेन। देख्दै सिक्दै आएको उनका बुबा बताउँछन्।

रमिरका बुबा तथा लाखे नाइके राजीव नाच तथा बाजा सानैदेखि हेर्दै सिक्दै जाने परिपाटी रहेको बताउँछन्। “यहाँ परिवेश नै त्यस्तो हुन्छ, जात्रामा नाच हेर्दै, बाजाको धुन सुन्दै बिस्तारै सिक्दै जान्छन्,” उनले भने, “हामी कसैले पनि कहिले औपचारिक रूपमा सिकेका होइनौँ।”

रमिरलाई भविष्यमा उनको बुबा, देबाजस्तै लाखे बन्न मन छ। त्यसका लागि उनी अहिलेबाट बुबा र देबालाई पछ्याउँछन्। झ्यालिन्चाको कपडा लगाउन बुबा र राम देबाले नै सहयोग गर्छन्।

“बसेर आउआउ भन्ने, लाखेले जस्तै जस्तो गर्यो जिस्काउने पनि गरिएको छ। देबाले लाखेले गरेको जस्तो गर भन्नुहुन्छ, म त्यस्तै गर्छु,” रमिरले भने, “झ्यालिन्चाको नाचको स्टेप पनि बाजाको टोन अनुसारले हुन्छ। लाखेको नाच पनि कपी गर्छु, रमाइलो लाग्छ।”

इन्द्रजात्रा भन्नेबित्तिकै दिमागमा पहिलो के कुरा याद आउँछ भन्ने प्रश्नमा रमिर मुस्काउँदै भन्छन्, “म आफू झ्यालिन्चा भएको।”