लिपुलेकमुनिका गाउँका पीडा: न बाटो छ, न सञ्चार

पैदल बाटो अवरुद्ध र सञ्चार सेवा नहुँदा छांगरु र तिंकर गाउँको जनजीवन कष्टकर बनेको छ। बाटो मर्मत गरेर सञ्चालन गर्न नसकिए गाउँमा खाद्यान्न अभाव हुने अवस्था छ।

दार्चुला– कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका कारण सबैभन्दा चर्चित ठाउँ हो दार्चुलाको ब्यास गाउँपालिका। व्यास गाउँपालिका– १ मा पर्छन् छांगरु र तिंकर गाउँ।  यी गाउँ पुग्न न पैदल बाटो छ न फोन गर्न सञ्चार सुविधा नै। अहिले पनि यहाँका दुई गाउँका नागरिक भारतीय सडक हुँदै गाउँ पुग्छन्। पैदल बाटो अवरुद्ध भएको र सञ्चार सेवा नहुँदा यहाँको जनजीवन कष्टकर बनेको छ।

छांगरुबाट तिंकर गाउँ पुग्न १० किलोमिटर दूरी छ। छांगरुबाट तिंकर गाउँ पुग्नै अहिले पैदल बाटो अवरुद्ध भएको छ। गत साउन २८ गतेको बाढीले ठाउँठाउँमा बाटो बगाएको छ। मंसिरमा तिंकरवासीको बसाइँसराइ खलंगा झर्ने बेला कसरी फर्किने भन्ने चिन्ता भएको छ। 

बाटो बाढीले बगाएकै कारण गाउँमा खाद्यान्नसमेत ढुवानी गर्न असहज भएको वडा नम्बर १ का वडासचिव विनोदसिंह बुढाथोकी बताउँछन्। अहिले स्थानीयले पुरानै मौज्दात खाद्यान्न खाइरहेका छन्। यस्तै बाटोको अवस्था रहने हो भने गाउँमा खाद्यान्न अभाव हुने अवस्था छ।

“बाटोका लागि कुनै क्षेत्रबाट तत्कालै बजेट आउने सक्ने अवस्था छैन, बाटो निर्माण नहुने हो भने सुरक्षाकर्मीलाई समेत आवतजावतमा कठिनाइ हुन्छ, बिरामी भयो भने ल्याउन सक्ने अवस्था छैन,” सचिव बुढाथोकीले भने।

स्थानीय आस्तिक तिंकरीका अनुसार तिंकर गाउँमा सञ्चार नभएको तीन साता बढी भयो। गाउँ नेटवर्कविहीन छ। स्थानीयले अहिले आफन्तसम्म खबर गर्न सुरक्षाकर्मीको सेट प्रयोग गर्नुपर्ने बाध्यता छ। तिंकरबाट छांगरु गाउँ आउन तीन घण्टा एकतर्फी हिँड्नुपर्छ। छांगरुमा नेपाल टेलिकमको नमस्ते फोनले काम गरे पनि तिंकरवासी भने सञ्चारबाट वञ्चित हुनुपरेको स्थानीय वीरेन्द्र तिंकरीले बताए। 

ब्यास–१ को तिंकरमा ७० परिवारको बसोबास छ। यहाँका नागरिक गत जेठमा कुञ्चा सरेका थिए। तिंकरभन्दा छियालेकमा सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरी बसेका छन्। टेलिकमको सेवा अवरुद्ध भएसँगै सुरक्षाकर्मीले समेत आफन्त परिवारसँग कुराकानी गर्न पाएका छैनन्। 

गत वर्ष संघीय सरकारको विशेष अनुदानमा ब्यास–२ दुम्लीङदेखि तम्बाकु, माल्पा, घाटीबगड, बयली, दोपखे, पोला, गिरकिस्से, बुदी अपिखोला र कुन्तीसाउसम्म २० किलोमिटर बाटो निर्माण तथा मर्मत गरेको छ। त्योभन्दा अहिले पनि नागरिकको लागि हिँडडुल गर्न पैदल बाटो राम्रो छैन। 

गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरका अनुसार तिंकर सडकमा तुरुन्त आवश्यक बजेट, स्थानीय र सुरक्षाकर्मीलाई नेपालकै खाद्यान्न, आफ्नो भूमि भएर जाने बाटो बनाउनुपर्छ। “नभए यहाँका नागरिकको लागि हेलिकोप्टरको व्यवस्था गर्नुपर्छ,” उनले भने, “नागरिकका लागि चाहिने आधारभूत आवश्यकता पूरा गर्न नसक्ने तर जहिल्यै सीमाको विषय बल्झाइ रहँदा नागरिकले सास्ती खेप्नुपरेको छ।” 

पर्यटन अभियानकर्मी हिमालय भट्ट नेपालले ओमपर्वतदेखि लिम्पियाधुरासम्मको भूभाग हाम्रो नै हो भन्ने दाबीलाई व्यवहारिक बनाउन छांगरु तिंकरसम्म तीव्र गतिमा विकास निर्माण अघि बढाउनु अत्यावश्यक रहेको बताउँछन्। उनका अनुसार विकास निर्माणको कामले गति लिएमात्रै ती भूभाग हाम्रो उपस्थिति प्रमाणित हुनेछ।

अहिले गाउँपालिकाको छांगरुदेखि तिंकर गाउँ जाने तीन काठे पुल सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयले श्रमदानमा निर्माण गरेको वडाध्यक्ष अशोकसिंह बोहराले बताए।  बोहराका अनुसार नाम्पा खोला, तिंकर खोलामा बगाएको काठे पुल लगाएर आवतजावत सुचारु गरिएको छ। केही ठाउँमा हिँड्डुल गर्न सक्ने गरी बाटो पनि खोलेको तर पशुचौपायासहित हिँड्डुल गर्न भने अझै बाटो नबनेको उनले बताउ। 

“बाटो निर्माणका लागि ठूलो रकमको आवश्यकता छ, दुई वर्षअघि गाउँपालिकाले ठेक्का आह्वान गरेर पैदलबाटो निर्माण गरेको थियो, तर त्यो पूरै बाढीले कटान गरेपछि तिंकरवासीलाई समस्या भएको छ,” उनले भने।