भारतीय कंग्रेस अध्यक्षको निर्वाचन अक्टोबर १७ मा

पार्टीका वरिष्ठ नेता गुलाम नाबी असदले गत शुक्रबार पार्टी परित्याग गरेको घोषणा गरेको पर्सिपल्ट कांग्रेसको बैठक बसेको हो। पार्टीको निर्णयअनुसार केन्द्रीय निर्वाचन प्राधिकरणले समयमै निर्वाचन गराउन प्रक्र

काठमाडौं- भारतीय कंग्रेसको अध्यक्षको निर्वाचन आगामी अक्टोबर १७ मा हुने भएको छ। पार्टीको केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले अध्यक्ष चयनका लागि मतदान हुने मिति तय गरेको हो।



मतगणना भने मतदान भएको दुई दिनपछि अक्टोबर १९ मा गर्ने निर्णय भएको पनि नेताहरुले जानकारी दिएका छन्। बैठकमा भारतका पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता डा. मनमोहन सिंह, अन्तरिम अध्यक्ष सोनिया गान्धी, पूर्वअध्यक्ष राहुल गान्धी, महामन्त्री प्रियंका गान्धी भद्रालगायतले अनलाइनमार्फत बैठकमा सहभागिता जनाएका थिए।  



पार्टीका वरिष्ठ नेता गुलाम नाबी असदले गत शुक्रबार पार्टी परित्याग गरेको घोषणा गरेको पर्सिपल्ट कांग्रेसको बैठक बसेको हो। पार्टीको निर्णयअनुसार केन्द्रीय निर्वाचन प्राधिकरणले समयमै निर्वाचन गराउन प्रक्रिया र गृहकार्य सुरु गरिसकेको छ। 



आगामी निर्वाचनलाई लक्षित गरी पार्टीलाई नेतृत्व प्रदान गर्नुपर्ने भएकाले नयाँ अध्यक्षको जिम्मेवारी निकै चुनौतीपूर्ण रहेको मानिन्छ। यसअघि पनि आम निर्वाचनमा पार्टीले नराम्रो पराजय भोगेपछि तत्कालीन अध्यक्ष राहुल गान्धीले नैतिकताका आधारमा हारको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका थिए। 



उनको राजीनामा लामो समयसम्म अस्वीकृत गरिएको थियो। पार्टीका नेताहरुले उनलाई राजीनामा नदिन दबाब दिँदै आएका थिए। सबै दबाब र अनुरोधहरुलाई अस्वीकार गर्दै उनले पदमा नफर्किने अडान लिएपछि उनकै आमा तथा पूर्वअध्यक्ष सोनिया गान्धीलाई अन्तरिम अध्यक्षको जिम्मेवारी दिइएको थियो।

 

तर अहिले फेरि पनि राहुल गान्धीलाई नै अध्यक्ष निर्वाचित गराउनु पर्नेमा पार्टीका धेरै नेताहरुले खुलेरै जोड दिने गरेका छन्। उनले भने आफू अहिले पनि अध्यक्ष बन्न नचाहेको बताउँदै आएका छन्।



यद्यपि, भारतीय कंग्रेस पार्टीले यसअघि नै उहाँकै नेतृत्वमा ‘भारत जोडो यात्रा’ सञ्चालन गर्ने घोषणा गरिसकेको छ। आगामी सेप्टेम्बर ७ मा कन्याकुमारीदेखि सुरु हुने यात्रा १४८ दिनको हुने तय गरिएको छ। सो यात्रा काश्मीरमा पुगेर अन्त्य गरिने भएको छ।   



पैदलमार्फत हुने सो पाँच महिने यात्राका क्रममा झण्डै तीन हजार ५०० किलोमिटर पार गरिने भएको छ। दैनिक औसतमा २५ मिलोमिटर यात्रा हुने अनुमान गरिएको छ। सहभागीहरुले १२ राज्य भ्रमण गर्ने छन्।