सालझण्डी-ढोरपाटन सडक तीन दिनपछि सञ्चालनमा

सडक अवरुद्ध भएपछि ढोरपाटन शिकार आरक्ष आवागमन गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको थियो।

सालझण्डी-ढोरपाटन सडक तीन दिनपछि सञ्चालनमा
फाइल तस्वीर

ढोरपाटन– पहिरोले अवरुद्ध सालझण्डी–ढोरपाटन सडक तीन दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट झरेको पहिरो दुई दिनको निरन्तर पहलमा पन्छाएपछि बिहीबार सञ्चालनमा आएको हो।

ढोरपाटन नगरपालिका–७ धाराबोटमा सोमबार साँझ झरेको पहिरोले सडक अवरुद्ध बनेको थियो। सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन आवागमन गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको थियो। 

सडक सञ्चालनमा आएपछि पर्यटक गन्तव्यतर्फ लागेका ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए। उक्त खण्डमा ठूलो पहिरो गएकाले सडक खुलाउन तीन दिन लागेको उनले बताए। 

वैकल्पिक सडक नहुँदा स्थानीयलाई आवतजावतमा समस्या हुँदै आएको उनको भनाइ छ। ढोरपाटन आउने पर्यटकलाई नगरपालिका र प्रहरीले मौसम र सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ। 

“निरन्तर पानी परिरहेको र पहिरो पनि ठूलो भएकाले पन्छाउन समय लागेको हो। अहिले सामान्य पहिरो पन्छ्याएर सवारीसाधान आवतजावत गर्नेगरी सडक सञ्चालनमा ल्याएका हौँ। सबै पहिरो हटाउनका लागि समय लाग्ने देखिन्छ,” उनले भने, “अहिले पर्यटक र स्थानीयलाई समस्या नहोस् भन्ने उद्देश्यले सवारीसाधन सञ्चालनमा ल्याएका छौँ।”