न्युयोर्क शहरको मेयर बन्ने दाैडमा रहेका ममदानीले चुनाव जित्न अनेक रणनीति अपनाएका छन्। कहिले उनी कोट पाइन्ट लगाएरै समुद्रमा कुद्छन् भने कहिले विभिन्न भाषा बोलेर विभिन्न समुदायलाई रिझाउँछन्।
बिहीबार अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले न्युयोर्कमा मेयरको चुनावबारे ‘एक्स’मा लेखे– “न्युयोर्क सिटीको मेयरको चुनाव भ्रष्ट राजनीतिक प्रणालीको स्पष्ट उदाहरण हो... ‘ओलिगार्क’हरूले जोहरान ममदानीलाई हराउन सकेजति खर्च गर्छन्, डेमोक्र्याटहरूले उनलाई समर्थन गर्न अस्वीकार गर्छन्, हामी सबै मिलेर तिनीहरूलाई चुनौती दिनेछौँ र जोहरानलाई मेयर बनाएरै छाड्नेछौं।”
स्यान्डर्सकै अनुयायी हुन्, ममदानी। उनी आगामी नोभेम्बरमा हुने चुनावमा डेमोक्र्याटिक पार्टीबाट मेयरको उम्मेदवार हुन्। यो चुनावमा उनलाई स्यान्डर्सको पुरापुर समर्थन छ।
स्यान्डर्सले देखाएको चुनाैतीलाई पन्छाएर मेयर बन्न ममदानीलाई सहज भने छैन। तर, चुनाव आउन दुई महिना मात्र बाँकी हुँदा उनले नतिजा आफ्नो हातमा पार्न अनेक रणनीति अपनाइरहेका छन्। उनको समूहले यतिबेला घरदैलो अभियान चलाइरहेको छ। नेपालको चुनावी माहोलमा देखिनेजस्तै यो अभियानलाई उनले पनि प्रभावकारी हुने ठानेका छन्।
भर्खर मात्र उनीहरूले एउटा तथ्यांक सार्वजनिक गरेका छन्, जसअनुसार गत अगस्टको पछिल्लो दुई हप्तामा ममदानीको स्वयंसेवक र आयोजकको टोली ९१ हजारभन्दा भन्दा बढी घरमा पुगेको थियो। उनको समर्थन गर्न हजारौँ स्वयंसेवकहरू भेला भएका थिए। ममदानीले गत अगस्ट २६ मा एक्समा लेखे, “घरघरमा पुगेर मान्छेसँग भेटघाट शुरू गरेको एक हप्तामा हाम्रा स्वयंसेवकहरूले पाँच वटा बरो (न्युयोर्कमा पाँच वटा बरो छन्– म्यानहट्टन, ब्रोक्लिन, क्विन्स, द ब्रंस र स्टाटन आइल्यान्ड) मा ९१ हजारभन्दा बढी ढोका ढकढक्याइसकेका छन्। गत हप्तामात्र २५ हजार घरमा पुगे।”
ममदानी आफै पनि न्युयोर्क सडकमा पुगेर मानिससँग गफ गरिरहेका हुन्छन्। उनले केही समयअगाडि एक अन्तर्वार्तामा राजनीतिज्ञ र जनता बीचको दूरी हटाउनुपर्ने बताएका थिए। त्यसका निम्ति पनि आफू मेयर बन्न लागेको उनको भनाइ थियो।

टाइम म्यागेजिनले उनलाई उद्धित गर्दै भनेको थियो, “डेमोक्र्याटहरूले स्पष्ट राजनीति अभ्यास गर्न आवश्यक छ। त्यस्तो राजनीति जहाँ मानिसहरूले उनीहरूको नीति पढेर यो आफ्नो जीवनसँग मेल खाने रहेछ भनेर तुरुन्त बुझ्न सकुन्।”
चुनावी रणनीतिकै रूपमा उनले गत अगस्ट २३ मा ‘समर स्क्याभेन्जर हन्ट’ घोषणा गरे। त्यसको एक हप्तामा चार हजारभन्दा बढी मानिस यस कार्यक्रममा सहभागी भएका थिए। यो एक किसिमको खेल थियो। घोषणा भएको भोलिपल्ट यो खेल खेलियो। ममादानीको यस अभियानले स्क्याभेन्जर हन्टका निम्ति ५०० वटा कार्डहरू तयार पारेको थियो। तर, यो कार्ड सकिन १५ मिनेट पनि समय लागेन। ज–जसले कार्ड पाएका थिए, उनीहरूले मात्र यो खेलमा सहभागी हुन पाउँथे।
स्क्याभेन्जर हन्ट युनियन स्क्वायरबाट शुरू भयो। त्यहाँ स्वयंसेवकबाट कार्ड लिन समर्थकहरू लाइनमा बसेका थिए। प्रत्येक कार्डले न्युयोर्कको राजनीतिक इतिहासको बारेमा जानकारी दिन्थ्यो। यही कार्ड देखाएर मानिसहरू जोन वी. लिन्डसे इस्ट रिभर पार्कसहित सात वटा ठाउँहरूमा पुग्नुपर्थ्यो। हरेक स्थानका निम्ति खेल तोकिएको थियो। सातौँ स्थान एस्टोरियाको लिटिल फ्लावर क्याफे थियो, यो ममदानीको सबैभन्दा मनपर्ने क्याफे समेत हो। समर्थकहरूले अन्तिममा ममदानीसँग फोटो खिच्न र भेट्न पाएका थिए।
यो खेल मात्र थिएन, न्युयोर्कका नागरिकलाई आफ्नो पक्षमा पार्ने ममदानीको प्रयास पनि थियो। यसले उनलाई उत्साहित पनि बनायो। यति धेरै मानिस आउलान् भनेर आफूले नसोचेको ममदानीले बताएका छन्। कार्यक्रममा सबै उमेर समूहका मानिसको उत्तिकै भीड थियो।
मेयरको ‘प्राइमरी इलेक्सन’अगाडिसम्म ममदानी तुलनात्मक रूपमा अपरिचित थिए। फेब्रुअरी २०२५ मा इमर्सन कलेजको सर्वेक्षणमा उनी एक प्रतिशत मानिसको मात्र रोजाइमा परेका थिए। तर, छोटो अवधिमै उनको चर्चा चुलियो। अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराका अनुसार यसको मुख्य कारण ‘ग्रासरुट’ अभियान थियो।
“उनको अभियान समुदायको तल्लो स्तरसम्म पुग्यो। फरकफरक भाषाका मानिससँग पनि उनले मातृभाषामै प्रत्यक्ष कुराकानी गरे। न्युयोर्क राज्य सरकारको अनुमान छ– न्युयोर्कवासीहरूले ८०० भन्दा बढी भाषाहरू बोल्छन् र २५ लाखभन्दा बढीलाई अंग्रेजीमा कुराकानी गर्न गाह्रो हुन्छ। यद्यपि, विज्ञहरू भन्छन्– ममदानीले धेरै भाषामा मतदाताहरूलाई अपील गरे,” अल जजिराले लेखेको छ।
उनले केही समयअगाडि हिन्दी, उर्दू र स्पेनिस भाषा प्रयोग गरेर मतादाता समक्ष अपिल गरेका थिए। युगान्डामा जन्मेका दक्षिण एशियाली मुस्लिम आप्रवासी ममदानी आफैँ पनि हिन्दी र उर्दू दुवै प्रष्ट बोल्छन्। विभिन्न भाषामा बोलेका उनका भिडियो क्लिपहरू यत्रतत्र भेटिन्छन्। यसकारण पनि न्युयोर्कका धेरै मतादातासमक्ष उनको आवाज पुग्यो।
उनले आफ्नो पहुँच विगतमा उम्मेदवारको प्राथमिकतामै नपरेका मतादातासम्म विस्तार गरे। उनले केही समय अगाडि एक भिडियोमा भनेका थिए, “हामीले एउटा अभियान चलायौं। हामी प्रत्यक न्युयोर्कवासीसमक्ष पुग्न चाहान्थ्यौँ। हामीले केहिलेकाहीँ उनीहरूकै भाषामा बोल्यौँ, उनीहरूको भाषा बोल्न प्रयत्न गर्यौं।”

ममदानीले सामाजिक सञ्जालमा पोष्ट गरेका ‘केन्टन्ट’लाई पछ्याउनेहरू पनि धेरै छन्। उनका भिडियोले धेरैलाई लोभ्याएको छ। त्यस्ता भिडियो नयाँ शैलीका छन्। उनी स्पष्टसँग बोल्छन् र नयाँ–नयाँ तरिकाबाट भिडियो बनाउँछन्। उनका अधिकांश भिडियो–सामाग्री स्पष्ट, सामान्य र मुद्दा केन्द्रित छन्। यसले युवापुस्तालाई आकर्षित गरेको छ।
उनको अजेन्डाले पनि धेरैलाई प्रभावित पारेको छ। उनले न्युयोर्कलाई सबैको पहुँचयोग्य बनाउने, नाफा कमाउने नभई सेवाभावमा समर्पित किराना दोकान खोल्ने, शहरी बस नि:शुल्क गर्ने, पुस्तकालयमा लगानी गर्ने, मजदुरको हितमा काम गर्ने, महंगी नियन्त्रण गर्ने लगायतका प्रगतिशील मुद्दा बोकेका छन्। यस्ता मुद्दाले ममदानीलाई फरक कित्तामा उभ्याएको छ।
यस्तै, मुद्दाका कारण राष्ट्रपति डोनाल्ड ट्रम्प उनलाई कम्युनिष्ट भएको आरोप लगाउँछन्, तर उनी कम्युनिष्ट नभएको विभिन्न अध्ययनले देखाइसकेको छ।
उनको सहयोगीहरूको पनि प्रसंशा हुने गरेको छ। उनको चुनावी अभियानमा सहयोग गर्नेहरूमाथि केही समय अगाडि द न्युयोर्क टाइम्सले रिपोर्टिङ नै गरेको थियो। उक्त रिपोर्टअनुसार उनका सहयोगीहरू ममदानीजस्तै युवा र प्रगतिशील छन्, जुन विपक्षीहरूमा देखिँदैन। तीमध्ये धेरै जना प्रगतिशील र प्रजातान्त्रिक मूल्य मान्यतामा समर्पित छन् र वर्षौँदेखि यसका निम्ति लडिरहेका छन्।
धेरै सल्लाहकारहरूसँग किफायती आवास र आप्रवासी अधिकार जस्ता मुद्दामा काम गरेको अनुभव रहेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। उनको सचिवालयमा अधिकांश मानिस मुस्लिम र यहुदी समुदायका छन्। त्यसमध्ये एक हुन्– जारा रहिम। उनले ममदानीको मिडिया प्रोफाइलमा काम गरिरहेकी छन्। उनले बाराक ओबामा र हिलारी क्लिन्टनको राष्ट्रपति निर्वाचनको अभियानमा पनि काम गरेकी थिइन्। द न्युयोर्क टाइम्सले ममदानीले लगाएको कोट पाइन्टलाई पनि रणनीति मानेको छ।
केही समय ममदानी पानी जमेको एट्लान्टिक महासागरमा दौडिए। बढ्दो घरभाडा दर रोक्ने आफ्नो वाचालाई प्रचार गर्न उनले यस्तो भिडियो बनाएको थिए। उनले त्यतिबेला सुट र टाई लगाएका थिए। बाथसुट नलगाएर कोट पाइन्ट लगाएको भन्दै धेरैले उनको खिल्ली समेत उडाए। तर, उनले अन्जानमा यस्तो गरेका भने होइनन्, बरु यो पुरापुर रणनीतिक थियो। न्युयोर्क टाइम्सले लेखेको छ, “विरोधीहरूले ममदानीलाई ‘शतप्रतिशत कम्युनिस्ट पागल’ र ‘कट्टर वामपन्थी’ भनेका छन्। जाति र धर्मको कारणले पनि मानिसले उनलाई अलग गर्न खोजिरहेका छन्। एउटा परिपक्व र स्थापित राजनीतिज्ञले जस्तो पहिरन लगाएर ममदानी ती आक्रमण विरुद्ध प्रतिक्रिया दिइरहेका छन्।”
(एजेन्सीहरुको सहयोगमा)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

लन्डनले गरेको गल्ती न्युयोर्कले नगरोस् भन्न सकिन्छ केही गर्न सकिन्न!
Kishor
2 months, 1 week ago
लण्डन ले गरेको गल्ती न्युयोर्क ले नगरोस भन्न सकिन्छ केही गर्न सकिन्न!
Kishor
2 months, 1 week ago