मनाङमा पनि कात्तिक १७ गते उपनिवार्चन

निर्वाचन आयोगको बिहीबार बसेको बैठकले प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्य तालिकासहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको छ।

मनाङ– मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र–२ मा पनि कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगको बिहीबार बसेको बैठकले प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्य तालिकासहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो।

यसअघि आयोगले प्रतिनिधिसभा सदस्यको लागि रुपन्देही–३ को उपनिर्वाचन पनि कात्तिक १७ गते गर्ने निर्णय गरेको थियो। उम्मेदवारको मनोनयन दर्ताका निम्ति आगामी असोज २१ गते निर्धारण गरिएको कार्यालयले जनाएको छ। 

भदौ २० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना, असोज २५ मा निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारको अन्तिम नामावली र चिह्न वितरणको विवरण प्राप्ति, कात्तिक ११ गते मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीको नियुक्ति गर्ने तालिका निर्धारण गरिएको छ।

प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदै प्रदेशसभा सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थानमा निर्वाचन गर्नुपर्ने व्यवस्था छ। 

रुपन्देहीमा निर्वाचित सांसद दीपक बोहराको निधन भएकाले र मनाङमा राजीव गुरुङ (दीपक मनाङे) आपराधिक क्रियाकलापसम्बन्धी मुद्दामा जेल परेपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो।