१०२ वर्षीय अकुजावाले माउन्ट फुजी आरोहण गरेर बनाए विश्व कीर्तिमान

अकुजावा आफ्नी ७० वर्षीया छोरी मोटो, नातिनी, नातिनीका पति तथा स्थानीय पर्वतारोहण क्लबका चार सदस्यसँगै आरोहणमा सहभागी भएका थिए।

१२० वर्षीय कोकिची अकुजावा जापानको सर्वोच्च शिखर माउन्ट फुजी आरोहण गरेका छन्। यससँगै उनले सबैभन्दा वृद्ध पर्वतारोही बनेका छन्। यो उपलब्धिलाई गिनिज वर्ल्ड रेकर्डले अगस्टको शुरूआतमा प्रमाणित गरिसकेको छ। 

साथीहरूको सहयोगका कारण आरोहण सम्भव भएको अकुजावाले बताए। “म साँच्चिकै आधा बाटोमै छोड्ने मनस्थितिमा पुगेको थिएँ,” अकुजावाले भने, “शिखरसम्म पुग्न कठिन थियो, तर साथीहरूको प्रोत्साहनका कारण अन्ततः सफल भएँ।”

अकुजावा आफ्नी ७० वर्षीया छोरी मोटो, नातिनी, नातिनीका पति तथा स्थानीय पर्वतारोहण क्लबका चार सदस्यसँगै आरोहणमा सहभागी भएका थिए। 

यो अकुजावाको पहिलो रेकर्ड तोड्ने आरोहण भने थिएन। उनी ९६ वर्षको उमेरमा नै फुजी आरोहण गर्ने सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए। उनले मुटुको समस्या, असफल आरोहणका चोटपटक, दाद (चर्मरोग) र टाँका झेलेर पनि यात्रालाई निरन्तरता दिएका थिए। 

फुजी आरोहण अघि उनले तीन महिनासम्म विशेष तालिम लिएका थिए। बिहान ५ बजे उठेर घण्टौँ लामो पैदलयात्रा गर्थे। हरेक हप्ता एकपटक प्रायः गुनमा र नजिकैको नागानो प्रान्तका पहाड आरोहण गर्थे। 

अकुजावाको पर्वतप्रेम युवावस्थादेखिकै हो। टोकियोबाट करिब २४१ किलोमिटर उत्तरपश्चिममा रहेको मायबासीस्थित घरमा, आफन्त र पर्वतचित्रले घेरिएको बैठक कोठामा उनले ८८ वर्षअघि आफूलाई पर्वततर्फ आकर्षित गरेको अनुभव सम्झिए। शिखरमा पुग्ने जादु निर्विवाद भए पनि, उनलाई बारम्बार फर्काइराख्ने शक्ति भने मानिससँगको सम्पर्क नै थियो।

“म आरोहण गर्छु किनभने मलाई यो मन पर्छ,” उनले भने, “पर्वतमा साथी बनाउन सजिलो हुन्छ।” अकुजावा सक्षम विद्यार्थी थिए। उनले इन्जिन डिजाइन इन्जिनियरको रूपमा काम गरे र पछि ८५ वर्षसम्म पशुधन कृत्रिम गर्भाधानकर्ताका रूपमा कार्यरत रहे। 

“पढाइ मन परे पनि नपरे पनि, पर्वतको आनन्द लिने तरिका उस्तै हो,” उनले भने, “बुद्धिले त्यहाँ कुनै अर्थ राख्दैन। हामी सबै एउटै आधारमा हुन्छौँ र सँगै अगाडि बढ्छौँ।” (रासस/एपी)