काठमाडौँबाट बागमती प्रदेशको राजधानी हेटौँडा जाने सडकको विकल्प धेरै छन्, तर अधिकांशमा वर्षायाममा पहिरोकै डर छ। यी सडक स्तरोन्नति र मर्मतको काम सुस्त छ।
काठमाडौँ– संघीय राजधानी काठमाडौँलाई बागमती प्रदेशको राजधानी हेटौँडासँग जोड्ने सात वटा मूल सडक छन्, तर ओहोरदोहोर गर्ने यात्रुलाई कुन बाटो जाने अन्योल भइरहन्छ। यी सडकमध्ये अधिकांश सद्दे छैनन्, पहिरोको जोखिम छ।
थोरै पानी पर्नासाथै बाटोमा रोकिनु पर्ने, घण्टौँ जाममा बस्नुपर्ने अवस्था भएको हटौँडाका कवि निमेश निखिलको अनुभव छ। सडक खराब हुँदा सिमरा गएर प्लेन चढेर पनि आउजाउ गर्नुपरेको उनी बताउँछन्। “काठमाडौँ जाने बाटाहरू त थुप्रै छन्, तर भरपर्दो कुनै भएन। सधैँ चल्ने कम्तीमा एउटा बाटो भइदिए आउजाउ सजिलो हुन्थ्यो,” उनी भन्छन्।
काठमाडौँ र हेटौँडा जोड्ने पुरानोमध्येको सडक कान्ति लोकपथ हो। ललितपुरको सातदोबाटो, टीकाभैरव हुँदै हेटौँडा पुग्ने दूरी करिब ७९ किलोमिटर हो। यो सडक गत वर्षको असोजमा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो। बाढीले करिब ५ किमि पूर्ण र थप ५ किमिमा आंशिक क्षति थियो।
बगुवामा पुलै बगाएको थियो। त्यहाँ बेलीब्रिज निर्माण गरेर सवारी आवतजावत गर्न शुरू गरे पनि क्षति भएको ठाउँमा पुनर्निर्माण भइसकेको छैन। ठाउँ–ठाउँमा अस्थायी संरचना बनाएर चलाइएको छ।
कान्ति लोकपथ छोटो दूरीको वैकल्पिक मार्ग भए पनि साँघुरा मोड, खोला नजिकको भूभाग तथा पहिरोका कारण वर्षायाममा यात्रा गर्न जोखिमयुक्त छ। संघीय सरकारले हेर्ने यो सडक मर्मत तीव्र रूपमा भएको छैन।
कान्ति लोकपथ योजना प्रमुख रत्नलक्ष्मी वज्राचार्य सडक निर्माणको काम धमाधम भइरहेको दाबी गर्छिन्। “बगुवामा जेठ अन्तिमबाटै बेलीब्रिज बनाएर सञ्चालन गरेका छौँ। अन्य ठाउँमा क्षति भएको सडकका लागि विपत् पुनर्निर्माण अन्तर्गतको बजेट आएको छ। ठेक्का व्यवस्थापनका लागि काम भइरहेको छ,” उनले भनिन्।
धेरै क्षति पुगेका ठाउँमा पानी पर्नासाथ बाटो अवरोध हुनेगर्छ। मुख्यगरी ललितपुरको छतेली र चखुसी तथा मकवानपुरतिर लेनडाँडासहित एकदुई ठाउँमा पहिरोको जोखिम छ। “ती ठाउँका लागि हामीले मोसिन स्ट्यान्डबाइ राखेका हुन्छौँ, बाटो बन्द भए खुलाइहाल्छौँ। धेरै बेर बन्द हुन नदिने कोशिश गरेका छौँ,” वज्राचार्यले भनिन्।
यो पनि- ६३ वर्ष र चार व्यवस्था : कहिले सकिएला कान्ति लोकपथको निर्माण?
कतिपय ठाउँको पुल डिजाइन विपत्पछि परिवर्तन गरिएको उनले जानकारी दिइन्। केही ठाउँका पुल निर्माणाधीन छन्। उक्त सडक निर्माणको सम्पूर्ण काम अब दुई वर्षभित्र सकिने उनको भनाइ छ।
कान्तिबाहेक काठमाडौँबाट हेटौँडा जाने छोटो दूरीका चार वटा सडक छन्। ती बागमती प्रदेश सरकारअन्तर्गत पर्छन्। जसमध्ये दक्षिणकाली–सिस्नेरी हुँदै हेटौँडा जाने सडक पनि ठाउँ–ठाउँमा भत्किएको छ।
बाढीले क्षति पुर्याएको सिस्नेरी खण्ड अझै बन्न सकेको छैन। गत असोजको बाढीले धेरै ठाउँमा सडक बगाएको छ। ती ठाउँमा अस्थायी संरचनाबाट सवारी चलाइएको छ।
दक्षिणकाली–सिस्नेरीबाट कुलेखानी–भीमफेदी हुँदै हेटौँडा पुग्ने सडक प्रदेश राजधानी विकास विशेष योजनाअन्तर्गत पर्छ। तर यो सडक पनि पुनर्निर्माणकै चरणमा छ।
यस सडकका इन्जिनियर समुद्र रोक्काका अनुसार मकवानपुरको ज्यामिरेदेखि रामचन्द्र भञ्ज्याङसम्मको काम सकिएको छ। यो खण्डमा करिब १२ किमि सडक छ। “यहाँ पिच र ढलान दुवै गरिएको छ। रामचन्द्र भञ्ज्याङबाट दक्षिणकालीतर्फ भने काम सकिएको छैन। यहाँ पिच भइरहेको छ,” उनले भने।
उक्त सडक एमएस रौतहा–रामसागर जेभीले बनाइरहेको छ। ठेकेदार कम्पनीसँगको सम्झौताअनुसार, आगामी पुस मसान्तसम्म काम सक्नुपर्छ। अहिले सडकको ‘साइड प्लम’ लगाउनेलगायत काम भइरहेको आयोजनाले जनाएको छ।
गत वर्ष असोजको बाढीले सिस्नेरी बजारमा ५०० मिटर र ज्यामिरेको लामाबगरमा ७०० मिटर सडकखण्ड बगाएको थियो। त्यहाँ भत्केकै ठाउँमा मर्मत गरेर कच्ची डाइभर्सन बनाइएको छ।
रामचन्द्र भञ्ज्याङलगायत अन्य दुईतीन ठाउँमा पहिरोको समस्या छ। भदौमै सिस्नेरीमा ठूलो सुक्खा पहिरो गएको थियो। जसले केही समय सडकसमेत अवरुद्ध भएको थियो। पहिरो गइरहने ठाउँमा सडक तत्काल खुलाउन कामदार र मेसिन तैनाथ राखिएको इन्जिनियर रोक्काले जानकारी दिए।
काठमाडौँको बल्खुबाट फर्पिङ–हुमाने हुँदै फाखेल–कुलेखानी–भीमफेदीबाट हेटौँडा, कीर्तिपुर–मातातीर्थबाट फाखेल–भीमफेदी हुँदै हेटौँडा र चन्द्रागिरि–चित्लाङ हुँदै मार्खु–कुलेखानी–भीमफेदीबाट हेटौँडा जाने सडक पनि छन्। यीमध्ये अहिले सबैभन्दा बढी फर्पिङ–हुमाने हुँदै जाने सडक प्रयोग हुन्छ।
अन्यको तुलनामा सहज आवतजावत गर्न मिल्ने सडक यो नै भएको काठमाडौँ हेटौँडा सवारी चलाउने मन्दीप बान्तवा बताउँछन्। उनी भन्छन्, “सातवटा बाटामध्ये सबैभन्दा सहज यही छ। यो सडक पहिरोले अवरुद्ध भएका बेला कान्ति लोकपथ प्रयोग गर्छौं। तर त्यो पनि निर्माणकै क्रममा छ।”
यो सडक २४ घण्टा सञ्चालनमा रहेको पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख दीपेन्द्रकुमार रोहिताले जानकारी दिए। अन्य दुई सडकमा भने समस्या भएको उनको भनाइ छ। “फर्पिङ हुँदै जानेबाहेक बाँकी दुईवटा सडक कमै चल्छन्, अलिअलि समस्या छ। हाम्रो खण्डबाट खासै काम भएको पनि छैन,” उनी भन्छन्।
यी दुई सडकको मकवानपुर खण्ड पूर्वाधार विकास कार्यालयको मकवानपुरले र काठमाडौँ खण्ड ललितपुर कार्यालयले हेर्छ। ललितपुरका प्रमुख राजु श्रेष्ठका अनुसार, फर्पिङ हुँदै जाने र मातातीर्थ हुँदै जाने सडकमा भने अहिले स्तरोन्नतिको काम भइरहेको छ।
मातातीर्थ–फाखेल–हेटौँडा सडकको सशस्त्र क्याम्पदेखि मकैबारीसम्म ८.१ किमि खण्ड स्तरोन्नतिका लागि काम भइरहेको श्रेष्ठले बताए। “यो सडकको हालसम्मको भौतिक प्रगति ६५ प्रतिशत छ। यसै आर्थिक वर्षको वैशाख मसान्तसम्म कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ,” उनले भने।
यस्तै, फर्पिङ–हुमाने–फाखेलबाट भीमफेदी हुँदै हेटौँडा जाने सडकमा ९५ प्रतिशत काम भइसकेको उनले जानकारी दिए। “यो जम्मा १० किमि सडकमा ६.६ किलोमिटर काम सम्पन्न भइसकेको छ। हाल दुई किमि लम्बाइमा फर्पिङमा काम भैरहेको छ। ठेक्काको दुई महिनाभित्र बाँकी काम सक्छौँ,” उनी भन्छन्।
चन्द्रागिरि–चित्लाङ–मार्खु हुँदै हेटौँडा जाने सडकमा भने काम भएको छैन। यो सडक पनि पानी परेका बेला हिँड्न नसकिने हुन्छ।
उता, थानकोट हुँदै नौबिसे–मुग्लिन–नारायणगढ भएर हेटौँडा पुग्ने र नौबिसे–दामन हुँदै हेटौँडा पुग्ने त्रिभुवन राजपथ पनि छन्। यी सडक तुलनात्मक रूपमा लामो हुने भएकाले काठमाडौँबाट हेटौँडासम्म मात्र जान यात्रुले कम प्रयोग गर्छन्। लामो दूरीका ठूला सवारी साधन भने यही सडक प्रयोग गर्छन्।
त्रिभुवन राजपथ अन्य सडकभन्दा राम्रो भए पनि धेरै घुमाउरो हुँदा यसबाट कम यात्रा गर्ने शिक्षकसमेत रहेका हेटौँडा निवासी कवि पुरुषोत्तम आचार्य बताउँछन्। उनी भन्छन्, “अन्य सडकको तुलनामा यो ठिकै छ। पानी पर्दा पहिरोको जोखिम यसमा पनि हुन्छ। तर यसबाट काठमाडौँ जाँदा धेरै समय लाग्छ। त्यसैले कमै प्रयोग गरिन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
