संसदीय सुनुवाइ समिति सभापतिमा खतिवडाको चयन

संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्विरोध चयन भएका छन्।

काठमाडौँ– संघीय संसद् संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्विरोध चयन भएका छन्।

समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज बसेको समितिको बैठकमा उनलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो। नवनिर्वाचित खतिवडा नेपाली कांग्रेसका सांसद हुन्।

समितिका यसअघिका सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि रिक्त सभापति पदमा खतिवडाको मात्र उम्मेदवारी परेको थियो। बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद खतिवडालाई सभापति निर्वाचित गरियोस् भनी राखेको प्रस्तावलाई नेकपा (एमाले)का संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए।

केही समयअघिसम्म उनी राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिकै जिम्मेवारीमा थिए। उक्त समितिबाट पारित भएको विधेयकको प्रतिवेदनमा त्रुटि भएको देखिएपछि राजीनामा दिएका थिए।

संवैधानिक व्यवस्थाअनुसार सभापतिको पदवहाली गर्नुअघि उनले आगामी सोमबार सभामुखसँग पद तथा गोपनियताको शपथ लिनेछन्।