एभरेष्ट महिला भलिबल लिगमा कर्णाली र ललितपुरको विजयी शुरूआत

पोखरामा आजदेखि दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग शुरू भएको छ।

कास्की– पोखरामा आजदेखि दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग शुरू भएको छ। इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा सञ्चालन भएको प्रतियोगिताको पहिलो खेलमा साविक विजेता कर्णाली यशविस र ललितपुर क्विन्सले विजयी शुरूआत गरेका छन्। आफ्नो पहिलो खेल जितेका दुवै टोलीले तीन–तीन अंक बटुलेका हुन्।

प्रतियोगिताको उद्घाटन खेलमा कर्णालीले घरेलु टोली पोखरा निन्जाजमाथि ३–० को सोझो सेटमा जित निकालेको हो। कर्णालीले पहिलो सेट २५–२१ ले जित्यो। दोस्रो सेटमा २५–२० को जित निकालेको कर्णाली तेस्रो सेटमा झनै लयमा देखियो। उसले तेस्रो सेट २५–१४ अंकले जितेर उत्कृष्ट शुरूआत गरेको हो।

त्यसैगरी, दोस्रो खेलमा ललितपुरले मधेश युनाइटेडलाई ३–० को सोझो सेटमा पराजित गर्यो। पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१९ ले जित निकाल्यो। प्रतियोगिताअन्तर्गत शनिबार पहिलो खेल ललितपुर क्विन्स र काठमाडौँ स्पाइकर्सबीच तथा दोस्रो खेल कर्णाली यशविस र लुम्बिनी लाभाजबीच खेल हुने आयोजकले जनाएको छ। भोलिको अन्तिम खेल पोखरा निन्जाज र मधेश युनाइटेडबीच हुनेछ।

यही भदौ २८ गतेसम्म सञ्चालन हुने लिगमा छ फ्रेन्चाइज टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीले ‘सिंगल राउन्ड रोविन’का आधारमा एकआपसमा खेलेपछि बढी अंक जोड्ने दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पोखरालाई स्पोर्टस् हब बनाउने गरी सरकारले प्राथमिकता दिएको बताए। उनले पोखरा क्रिकेट मैदान तथा फुटबल रंगशालाको स्तरोन्नतिका लागि आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिए।