अमेरिकासँगको सम्बन्ध ‘सकारात्मक’ रहेको मोदीको भनाइ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्ली र वासिंटनबीच अझै पनि ’निकै सकारात्मक’ सम्बन्ध रहेको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँगको विशेष सम्बन्ध र आफ्नो व्यक्तिगत मित्रतालाई पुनः जोड दिएपछि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार जवाफ फर्काउँदै नयाँदिल्ली र वासिङ्टनबीचको सम्बन्ध ‘निकै सकारात्मक’ रहेको बताएका छन्।

विगतमा विभिन्न अन्तर्राष्ट्रिय मुद्दाहरू, विशेषगरी रुससँगको भारतको व्यापार सम्बन्धलाई लिएर दुई देशबीच केही तनाव देखिएको थियो। तर, पछिल्लो समय दुवै नेताले सम्बन्ध सुधारमा जोड दिइरहेका बेला यो सकारात्मक भनाइ सार्वजनिक भएको हो।

राष्ट्रपति ट्रम्पको पछिल्लो अभिव्यक्तिको प्रशंसा गर्दै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स (एक्स)मा लेखेका छन्, “राष्ट्रपति ट्रम्पको भावना र हाम्रो सम्बन्धको सकारात्मक मूल्याङ्कनको म गहिरो प्रशंसा गर्दछु। भारत र संयुक्त राज्य अमेरिकाबीच ‘धेरै सकारात्मक, व्यापक र विश्वव्यापी रणनीतिक साझेदारी’ रहेको छ।”

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै आफू सधैँ प्रधानमन्त्री मोदीको मित्र रहने बताएका थिए। उनले भनेका थिए, “भारत र संयुक्त राज्य अमेरिकाबीच विशेष सम्बन्ध छ। चिन्ता गर्नुपर्ने कुनै कारण छैन।”

चीनसँगको प्रतिस्पर्धाको विषयमा आफ्ना विगतका कडा टिप्पणीभन्दा फरक, यस पटक राष्ट्रपति ट्रम्पले भारतसँगको विशेष सम्बन्धमा जोड दिएका हुन्।

नयाँदिल्लीले रुसी तेल किनेर युक्रेनमाथि मस्कोले गरेको घातक आक्रमणलाई बढवा दिएको आरोप लगाउँदै वासिङ्टनले भारतीय आयातमा ५० प्रतिशतसम्म कर लगाएपछि तनाव उत्पन्न भएको थियो।

गत साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सांघाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भाग लिन चीनको भ्रमण गरेका थिए। गलवान झडपपछि चिसिएको सम्बन्धबीच, करिब सात वर्षपछि भएको यो उनको पहिलो चीन भ्रमण हो।

गत मे महिनामा आणविक शक्ति सम्पन्न छिमेकी राष्ट्रहरू भारत र पाकिस्तानबीच दशकौँ यताकै सबैभन्दा खराब द्वन्द्वपछि शान्ति स्थापनाका लागि नोबेल पुरस्कारका लागि योग्य कूटनीतिको श्रेय लिने क्रममा ट्रम्प नयाँ दिल्लीप्रति चिढिएका थिए।

काश्मिरमा तेस्रो पक्षको मध्यस्थतालाई ठाडै अस्वीकार गरेको भारतले त्यसयता ट्रम्पसँगको सम्बन्धमा सानिध्यता देखाएको देखिएको थिएन।