क्यानडामा अमेरिकी ट्यारिफको प्रभाव, बेरोजगारी दरमा निरन्तर वृद्धि

क्यानडामा अगस्त महिनामा बेरोजगारी दर ७.१ प्रतिशत पुगेको छ। यो सन् २०१६ को मे महिना यताकै सबैभन्दा धेरै हो।

क्यानडामा अगस्त महिनामा बेरोजगारी दर बढेर ७.१ प्रतिशत पुगेको छ। यो सन् २०१६ को मे महिनापछिको सबैभन्दा उच्च हो।

क्यानडाको तथ्यांक विभागका अनुसार, जनवरीदेखि अहिलेसम्म बेरोजगारी दरमा ०.५ प्रतिशतले वृद्धि भएको छ।

कोरोना भाइरस महामारी शुरू हुनुअघि, सन् २०१७ देखि २०१९ सम्मको औसत बेरोजगारी दर ६ प्रतिशतको हाराहारीमा थियो।

तथ्यांक विभागले दिएको जानकारीअनुसार, अगस्तमा क्यानडामा कुल १६ लाख मानिस बेरोजगार थिए, जुन जुलाई महिनाको तुलनामा ३४ हजारले बढी हो।

अगस्त महिनामा, क्यानडाका प्रमुख २० वटा महानगरहरूमध्ये दक्षिणी ओन्टारियोमा बेरोजगारी दर सबैभन्दा धेरै देखिएको छ। त्यहाँको विन्डसरमा ११.१ प्रतिशत, ओशावामा ९ प्रतिशत र टोरन्टोमा ८.९ प्रतिशत बेरोजगारी दर रेकर्ड गरिएको छ।

विशेष गरी, यी क्षेत्रहरूमा बेरोजगारी बढ्नुको प्रमुख कारण अमेरिकी ट्यारिफलाई मानिएको छ। अमेरिकाले लगाएको शुल्क (ट्यारिफ) का कारण मोटर गाडी निर्यातमा ठूलो असर परेको छ, जसले आर्थिक अनिश्चितता सिर्जना गरेको छ।