फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल: तीन महिनादेखि उडान ठप्प

इलाम नगरपालिका–९ मा रहेको विमानस्थलबाट गत जेठयता कुनै पनि उडान हुन सकेको छैन। उडान नियमित रूपमा गर्न इलामवासीले माग गरेका छन्।

फिक्कल– इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल सुनसान बनेको छ। आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भरेको यो विमानस्थल अहिले जहाज उडानको पर्खाइमा छ। इलाम नगरपालिका–९ स्थित यो विमानस्थलमा उडान नियमित रूपमा गर्न जिल्लावासीले माग गरेका छन्।

 २०७५ जेठ २१ गते तारा एयरको ट्वीनअटर जहाजले पहिलो परीक्षण उडान सफल गरेको थियो। त्यसपछि नेपाल एयरलाइन्सले पनि २०७८ माघ २६ गते परीक्षण उडान गरेको थियो। नियमित उडान नहुँदा इलामसहित पूर्वी पहाडी क्षेत्रका नागरिक अझै पनि झापा वा विराटनगर धाउन बाध्य छन्। 

यस विमानस्थलबाट गत जेठयता कुनै पनि उडान हुन सकेको छैन। शुरूआतमा तारा एयरको जहाजले बुधबार र शनिबार गरी सातामा दुईपटक उडान भरेको थियो। नगरपालिकाले इलामबाट काठमाडौँ फर्किँदा जहाजको सिट खाली भए त्यसको भाडा पुर्ताल गर्ने सम्झौता गरेको थियो। 

सम्झौता सकिएपछि पुनः नगरपालिकाले नेपाल एयरलायन्ससँग सम्झौता गरी २०७९ साल माघ १ गतेदेखि सोही तालिकामा इलाम–काठमाडौँ उडान गरेको थियो। तर त्यसपछिका वर्षमा नगरपालिकाले कुनै एयरलाइन्ससँग सम्झौता नगरेको प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्काले बताए।  

“पहिला केही वर्ष नगरपालिकाले केही रकम व्यहोर्नेगरी तारा एयर र नेपाल एयलायन्ससँग सम्झौता गरी उडान हुँदै आएको रहेछ,” प्रमुख प्रशासकीय अधिकृत खड्काले भने, “अहिले त्यस्तो कुनै सम्झौता छैन, हामीले कुनै दायित्व बेहोर्नुपर्ने छैन।” 

नगरपालिकासँगको सम्झौता सकिएपछि पनि नेपाल एयरलाइन्सले सातामा शनिबार एक दिन उडान भर्दै आएको थियो। तर एयरलायन्सले मौसमका कारण २०८२ जेठ १४ गतेदेखि उडान भर्न नसकेको विमानस्थल इलामका स्टेसन इन्चार्ज दिनेश सुन्दासले बताए। 

इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चौहानले विमानस्थल नियमित सञ्चालन गर्नुपर्नेमा आफूहरू लागिपरेको बताए। “नगर कार्यपालिकाको बैठकमा पटकपटक कुरा उठाएर विमानस्थल सञ्चालनका लागि पहल भइरहेको छ,” उनले भने, “तर कहिले विमान बिग्रिएको त कहिले मौसमको कारण देखाउँदै विमानस्थल नियमित सञ्चालनको दीर्घकालीन समाधान हुन सकिरहेको छैन।” 

विमानस्थलका लागि २०५८ सालमा प्रक्रिया शुरू भएको थियो। विमानस्थलको ६७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र भएको छ। तर स्थायी टर्मिनल भवन, पक्की पहुँचमार्ग, सुरक्षित तारबारलगायत संरचना अझै अधुरै छन्। स्थानीयबाट करिब ४ करोड रुपैयाँसहित अहिलेसम्म विमानस्थलका लागि २८ करोड रुपैयाँ भन्दाबढी खर्च भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 

विमानस्थल निर्माण हुने भएपछि स्थानीयले प्रतिव्यक्ति एकदेखि ४२ रोपनीसम्म जग्गा दिएका थिए। २०६७ चैत १३ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेको विमानस्थलको २०७८ फागुन १ गते खनालले नै उद्घाटन गरेका थिए।