जापानका प्रधानमन्त्री शिगेरु इशिबाद्वारा राजीनामा दिने घोषणा

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले पदभार सम्हालेको एक वर्ष नपुग्दै पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

जापानका प्रधानमन्त्री शिगेरु इशिबाले पदभार सम्हालेको एक वर्ष नपुग्दै राजीनामा दिने घोषणा गरेका छन्। उनको यो निर्णयले विश्वको चौथो ठूलो अर्थतन्त्र जापानमा नयाँ अनिश्चितता थपेको छ।

यसबेला जापान बढ्दो खाद्य मूल्यसँग जुधिरहेको छ र आफ्नो महत्त्वपूर्ण अटो क्षेत्रमा अमेरिकी भन्सार शुल्कको असरसमेत बेहोरिरहेको छ।

पत्रकार सम्मेलनमा इशिबाले भने, “अब अमेरिकी करसम्बन्धी वार्ता निष्कर्षमा पुगेको छ, म विश्वास गर्छु यो उपयुक्त क्षण हो। मैले पछि हट्ने र नयाँ पुस्ताका लागि बाटो बनाउने निर्णय गरेको छु।”

गत बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी अटोहरूमा कर घटाउने आदेशमा हस्ताक्षर गरेका थिए। यद्यपि, जापानी अटोहरूले अब २७.५ प्रतिशतको सट्टा १५ प्रतिशत कर तिर्नुपर्ने भए पनि यसले उद्योगमा ठूलो दबाब सिर्जना गर्ने बताइएको छ।

मिडिया रिपोर्टअनुसार, पार्टीभित्रको बढ्दो दबाब र विभाजनलाई रोक्न इशिबाले राजीनामाको निर्णय लिएका हुन्। यसअघि नै पार्टीका वरिष्ठ नेताहरूले उनलाई पद छोड्न आग्रह गरेका थिए।

इशिबाको राजीनामासँगै अब लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को नयाँ नेताका लागि प्रतिस्पर्धा शुरू हुनेछ। प्रमुख प्रतिद्वन्द्वी साने ताकाइचीले प्रतिस्पर्धामा उत्रने घोषणा गरेका छन्।

लामो समयदेखि प्रभावशाली एलडीपीको सुरक्षित नेताका रूपमा परिचित ६८ वर्षीय इशिबा सन् २०२४ सेप्टेम्बरमा पार्टी नेतृत्व जितेर सन् २००० पछि एलडीपीको १०औँ प्रधानमन्त्री बनेका थिए।

यसैबीच, सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले ‘इशिबा डोन्ट क्विट’ (इशिबा, राजीनामा नदिनुहोस्) भन्ने ह्यासट्याग प्रयोग गर्दै उनलाई पदमा रहिरहन आग्रह गरिरहेका छन्।

जापानमा बढ्दो मूल्यवृद्धि, घट्दो जीवनस्तर र पार्टीभित्रका भ्रष्टाचार घोटालाका कारण सत्तारुढ एलडीपीप्रति मतदातामा असन्तोष बढिरहेको छ।