‘नेपो बेबी’ ट्रेन्डकै बीच सरकारले विभिन्न २६ सामाजिक सञ्जाल बन्द गर्ने घोषणा गरिदियो। जेनजी पुस्ताले यसलाई सरकारले आफ्नो कमजोरी लुकाउन सामाजिक सञ्जाल बन्द गरेको बुझे, त्यसपछि शुरू भयो आन्दोलनको तयारी।
काठमाडौँ– केही अघिसम्म सामाजिक सञ्जाल टिकटकका चर्चित अनुहार आफ्ना दैनिक ‘कन्टेन्ट क्रिएसन’मै व्यस्त देखिन्थे। टिकटकमा उनीहरू रुचिअनुसारकै विषयमा भिडियो अपलोड गरिरहन्थे। तर टिकटकका तिनै ‘इन्फ्लुएन्सर’को अकाउन्टबाट दुई दिनयता एकै किसिमको भिडियो ‘अनिवार्य’ जस्तोगरी अपलोड भयो। भिडियोमा सेप्टेम्बर ८ अर्थात् भदौ २३ गते काठमाडौँको बानेश्वर र माइतीघरमा हुने ‘मास प्रोटेस्ट’मा सहभागी हुन आह्वान गरिएको छ।
टिकटक इन्फ्लुएन्सरमध्ये झन्डै एक लाख ४० हजार ‘फलोअर्स’ भएका रवि चन्द ठकुरीले आफ्ना अकाउन्टमा भिडियो अपलोड गर्दै सबै युवालाई भदौ २३ गते आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन्। उनले भिडियोमा अहिले आन्दोलनमा सहभागी नभए देश कहिल्यै नबन्ने तर्क गरेका छन्।
“मलाई फलो गर्नेहरू सबै जना भोलि माइतीघर पुग्नुहोला। देशको मुहार फेर्नुपर्छ अब,” उनले भनेका छन्, “भ्रष्टाचारविरुद्ध अहिले उठ्नुभएन भने, कहिल्यै उठ्न सक्नुहुन्न। सीयू टुमरो। लेट्स फाइट टुगेदर।”
साढे तीन लाखभन्दा बढी फलोअर्स भएका रतन कार्कीले पनि आन्दोलनमा सहभागिताका लागि उसै गरी अपिल गरेका छन्। आन्दोलनलाई सभ्य र भव्य बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
“देशको सबै ठाउँबाट आन्दोलन शुरू हुनुपर्छ। तर सरकारी कार्यालय भन्दै कतै तोड्फोड् नगर्नुहोला र बाटोमा हिँडिरहेको सवारीसाधनलाई रोक्नेटोक्ने काम कदापि नगर्नुहोला,” उनले भनेका छन्, “शान्तिपूर्ण तरिकाबाट आन्दोलन गरेर नेतृत्वका लागि तयार रहेको सन्देश दिनुहोला।”
त्यस्तै, ५२ हजार फलोअर्स भएका अर्की इन्फ्लुएन्सर सुरुचि बुढाथोकीले पनि भदौ २३ गते सबै युवालाई आन्दोलनमा सहभागी हुन आह्वान गरेकी छिन्। उनले आक्रोश व्यक्त गर्दै पुराना पुस्तालाई राजनीतिबाट बिदा नगरेसम्म देश नबन्ने बताएकी छिन्।
“अब बाजेहरूलाई सरकारबाट हटाउनैपर्छ। बाजेहरू भएसम्म सधैँ यस्तै रहने हो,” उनले भनेकी छिन्, “अब हामीलाई प्रतिनिधित्व गर्ने युवा चाहिन्छ। यिनी मनलाग्दी गरिरहने अनि हामी विदेश गएर दुःख गर्नुपर्ने?”
यस्ता कैयन् टिकटक अकाउन्टबाट सोमबार हुने आन्दोलनमा सहभागिताका लागि आह्वान भए पनि आन्दोलनको उद्देश्य र अजेन्डा भने खुलाइएको छैन। तर, पोस्ट गरिएका भिडियो र ब्यानर हेर्दा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध उनीहरू आन्दोलित हुन लागेको बुझिन्छ। भदौ २३ गतेको मिति तोकेर बनाइएका भिडियो र ब्यानरमा ‘दी फाइनल रिभोलुसन’, ‘वी आर पन्चिङ अप’, ‘स्टप करप्सन’, ‘टाइम फर युथ’ तथा ‘इनफ ईज इनफ’जस्ता नारा उल्लेख छन्।
आन्दोलनमा सहभागिताका लागि इन्फ्लुएन्सर मात्रै सक्रिय छैनन्, बरू न्यून फलोअर्स भएकाहरू पनि ‘सेप्टेम्बर ८’को मिति राखेर सहभागिताका लागि अपिल गरेका छन्। ब्रिफ नेपाल, सेभ नेपाल, डिफेक्टर, फाइन्डिङ माई वर्ल्ड र ट्रुथ टकजस्ता अनेकन् टिकटक अकाउन्टबाट भदौ २३ को आन्दोलनमा सरिक हुन भनिएको पोस्टमा लाखौँ भ्यूज र हजारौँको संख्यामा ‘लाइक’ देखिन्छ।
यो आन्दोलनको आयोजना ‘जेनजी’ पुस्ताले गरेको ब्यानर र भिडियोबाट स्पष्ट भए पनि यसको नेतृत्व कसले गरिरहेको भने खुलेको छैन। यद्यपि, यसको पृष्ठभूमिमा ‘कन्टेन्ट क्रिएटर’ भनेर चिनिने निमेस श्रेष्ठ र राइड सेयरिङ तथा पार्सल डेलिभरी एप ‘पठाओ’का प्रमुख कार्यकारी निर्देशक ‘सीईओ’ अशिममान सिंह बस्न्यात देखिन्छन्।
बस्न्यातले शनिबार दिउँसो आफ्नो टिकटक अकाउन्टबाट भदौ २३ गते माइतीघर आफू पनि आउने र सबैलाई आउन पनि आग्रह गरेका थिए। उनले सामाजिक सञ्जालबाट मात्रै परिवर्तन नआउने बताएका थिए। उनको यो भिडियोमा दुई लाखभन्दा बढी भ्युज छ भने २२ हजार जति लाइक आएको छ।
“डिजिटल प्रिजेन्टेसन जति आवश्यक छ त्योभन्दा धेरै भौतिक उपस्थिति हो। तपाईंहरू भौतिक रूपमा नआएसम्म परिवर्तन आउँदैन,” उनले भनेका छन्, “सोमबार हुने आन्दोलनमा म आफैँ आउँछु। शान्तिपूर्ण आन्दोलनमार्फत देशका धमिरालाई हल्लाउन तपाईं मेरो साथ दिनूस्, म तपाईंको दिन्छु।”
शनिबार साँझ निमेशले पनि आफ्नो टिकटक अकाउन्टमा भिडियो अपलोड गर्दै २३ गते हुने आन्दोलनको आयोजना आफूहरूले नै गरेको स्वीकारेका थिए। उनले बिस्तारै आन्दोलनको उद्देश्य र अस्पष्टता दूर हुँदै जाने प्रष्ट पारेका थिए।
“भदौ २२ गते साँझसम्म कुरूम। त्यति बेलासम्म केही न केही पक्कै निर्णय गर्छौं,” उनले भनेका छन्, “थप अपडेटका लागि अशिम दाइको भिडियो पनि कुर्दै गर्नूस्।”
कसरी शुरू भयो आन्दोलनको तयारी?
केही दिनयता सामाजिक सञ्जाल विशेषगरी टिकटक र फेसबुकमा एउट ट्रेन्ड चल्यो– राजनीतिज्ञका छोराछोरीले प्रदर्शन गर्ने यशआरामको जीवनशैलीलाई सार्वजनिक रूपमा देखाउने। यसलाई ‘नेपो बेबी’को नाम दिइयो। सामाजिक सञ्जाल प्रयोगकर्तालाई ‘तिम्रै करको पैसा’मा उनीहरू यसरी मोजमस्ति गरिरहेका छन् भन्ने संकेत दिने किसिमले विभिन्न भावनात्मक गीतसंगीतको धुन प्रयोग गरी भिडियो बनाइएको छ।
केही समयअघि फिलिपिन्स र इन्डोनेसियाबाट शुरू भएको यो ट्रेन्ड नेपालमा केही सातायता मात्रै फैलिएको हो। यसमा राजनीतिज्ञका सन्तानले महँगा ब्रान्डका पोसाक, विदेश यात्रा र विलासी खानपान गरेको तर जनता भने गरिबीमा संघर्षपूर्ण जीवन बिताउन बाध्य भएको देखाइएको छ। विशेषगरी यस्ता भिडियोमा नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर, एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री विरोध खतिवडाकी छोरी शृंखला, नेकपा माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा, रेणुसहित नाति र महेश बस्नेतलगायतका नेताका सन्तानको जीवनशैलीलाई देखाइएको देखिन्छ।
यो ट्रेन्ड भाइरल भएलगत्तै पठाओका सीईओ बस्न्यातले टिकटकमा भिडियो पोस्ट गर्दै भनेका थिए, “आधारभूत सुविधासमेत अभाव भएको देशमा तिमी भ्रष्टाचारको पैसामा रमाइलो गर्ने? घडी र चश्मा सोअफ गर्ने? गुची ब्याग र लाखौँ पर्ने जुत्ता? यत्रो चुसिसक्यो त! अझै पुग्या छैन?”
यही नेपो बेबी ट्रेन्ड चलिरहेकै बेला भदौ २० गते सरकारले विभिन्न २६ सामाजिक सञ्जाल बन्द गर्ने घोषणा गरिदियो। खासमा यो ट्रेन्ड अचानक टिकटकमा आएको भने थिएन, यसबारे सामाजिक सञ्जाल ‘डिस्कर्ड’ र ‘रेडिट’मा युवा समूहहरूबीच छलफल भएको थियो। तर त्यही एप बन्द भएपछि ती युवाले सरकारले आफ्नो कमजोरी लुकाउन सामाजिक सञ्जाल बन्द गरेको बुझे।
डिस्कर्ड र रेडिटमा सक्रिय भएर नेपो बेबी ट्रेन्ड शुरू गरेको समूहमध्येका उकालोको सम्पर्कमा आएका एक युवा भन्छन्, “राजनीति हाम्रो चासोको विषय कहिलै थिएन। तर सरकारले सामाजिक सञ्जाल बन्द गरेर आफ्नो सीमा नाघ्यो। हामी विभिन्न विषयमा छलफल गर्ने थलो नै डिस्कर्ड र रेडिट थियो तर त्यो पनि देखिसहेन। फेरि नेपो बेबी ट्रेन्ड चलाइरहेकै बेला सामाजिक सञ्जाल बन्द गर्दा हामीलाई झन् शंका लागेको छ। हामी पछाडि हट्दैनौँ।”
अराजक हुनसक्छ आन्दोलन!
सोमबार हुने आन्दोलनका लागि अपिल गर्ने जति टिकटकमा असली अकाउन्ट छन्, त्यति नै संख्यामा फेक अकाउन्ट पनि बनाइएको छ। खासगरी युवतीहरू आन्दोलन शान्तिपूर्ण हुनुपर्ने पक्षमा देखिन्छन् भने केही युवकले पनि उनीहरूको तर्कलाई समर्थन गरेको देखिन्छ।
कतिपयले भने आन्दोलन हिंसात्मक हुनसक्ने भन्दै सुरक्षाका लागि सतर्क रहन आह्वान गरेका छन्। त्यस्तै, छद्म अकाउन्टबाट भने उत्तेजना फैलाउने किसिमका भिडियो पनि अपलोड भएको देखिन्छ। विशेषगरी ‘सेप्टेम्बर ८’ नाम राखेर बनाइएका अकाउन्टबाट संघीय संसद् भवन जलाउनेदेखि टियर ग्याससहित गोली बर्सिरहेको र संसद् भवन कब्जा गरिएका ‘एआई’ निर्मित भिडियो अपलोड भएका छन्।
युट्युबमा ६ लाख बढी ‘सब्सक्राइबर’ र टिकटकमा एक लाख बढी फलोअर्स रहेको इन्डेप्थ स्टोरी ‘आईडीएस’ले आफ्नो टिकटक अकाउन्टबाट सोमबारको आन्दोलनलाई लक्षित गरेर बांग्लादेशको उदाहरण दिँदै भिडियो नै अपलोड गरेको छ। भिडियोको शुरूआतमै भनिएको छ, “विद्यार्थी आन्दोलनले उग्ररूप लिएपछि बांग्लादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर बाध्य हुन्छिन्। त्यसपछि विद्यार्थीले प्रधानमन्त्री निवास नै कब्जा गर्छन्।”
सोमबारको आन्दोलनलाई जेनजी पुस्तामा चर्चित रहेका र बढी फलोअर्स भएका ‘रूटिन अफ नेपाल बन्द’, ‘एनईबी रिजल्ट एन्ड न्युज’, ‘नो नेक्स्ट क्वइसन’ले पनि साथ दिएका छन्। त्यस्तै, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह, दीपकराज गिरी, करिश्मा केसी, रञ्जु दर्शनालगायत युवा पुस्तामा लोकप्रिय कलाकार तथा राजनीतिज्ञहरूले पनि सामाजिक सञ्जालमा स्टाट्स पोस्ट गरेर वा भिडियो बनाएर समर्थन गरेका छन्।
पछिल्लो समय राजावादी आन्दोलनमा सक्रिय रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पनि भदौ २३ को आन्दोलनलाई आफ्नो समर्थन रहेको र आफू उपस्थित पनि हुने घोषणा गरेका छन्। यद्यपि, जेनजीहरूले भिडियो बनाउँदै उनलाई आन्दोलनमा नआउन आग्रह गरेका छन्।
के छ प्रहरीको सुरक्षा तयारी?
जेनजी पुस्ताले बानेश्वर–माइतीघर क्षेत्रमा आन्दोलन आह्वान गरे पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले भने माइतीघर क्षेत्रमा मात्रै प्रदर्शन गर्न अनुमति दिएको छ। यद्यपि, जिल्ला प्रशासन र काठमाडौँ प्रहरी परिसर दुवैले आन्दोलनलक्षित सुरक्षा व्यवस्थाबारे खुलाएका छैनन्।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक एसपी अपिलराज बोहोरा भने सोमबार हुने आन्दोलनलाई लिएर आफूहरू तयारी अवस्थामा रहेको बताउँछन्। उनका अनुसार सुरक्षा व्यवस्थालाई ख्याल गरी काठमाडौँ प्रहरीलाई ‘हाई अलर्ट’मा राखिएको छ।
“हामीले वाच गरेअनुसार शान्तिपूर्ण आन्दोलनका नाममा संसद् भवन र सिंहदरबार जलाउने जस्ता भिडियो प्राप्त गरेका छौँ। त्यसैले त्यो क्षेत्रलाई संवेदनशील रूपमा विशेष निगरानी गर्छौँ,” बोहोरा भन्छन्, “अन्य दिनको तुलनामा बढी प्रहरी खटाउने त स्वभाविक नै भयो, तर आन्दोलन उग्र भए नियम र कानूनविरूद्ध जानेलाई कारबाहीको दायरामा ल्याउन भने पछाडि हट्दैनौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
